के गण्डकीमा अब मध्यावधि होला ? दीपक मनाङे निर्णायक !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन् । उनी पदमुक्त भएसँगै अब गण्डकी प्रदेशमा नयाँ प्रक्रियामा सरकार गठन हुने प्रक्रिया सुरु भएको छ ।

संविधानको धारा १६८(५) अनुसार अब प्रदेश सभाका सदस्यले बहुमत पुर्याउने आधारमा सरकारको दाबी गर्नेछन् । 

यसअघि प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङले २९ वैशाखमा मुख्यमन्त्री पदको सपथ लिएका थिए । उनले बिहीबार सभामा विश्वासको मत मागेका थिए । उनको पक्षमा २७ मत आएको थियो । गण्डकीमा विश्वासको मत लिन ३१ मतको आवश्यकता छ ।

बिहीबार उनको विपक्षमा ३० मत खसेको थियो । बिहीबारको प्रक्रियामा प्रदेश सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित रहेका थिए ।

मनाङे प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका थिए । उनले बिहीबार राति नै पदबाट राजीनामा दिएका छन् ।

बिहीबार मुख्यमन्त्री गुरुङ र विपक्षी दल नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल दुवैले बहुमत नल्याएपछि अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।



अब प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रदेशसभाका कुनै पनि एक सदस्यलाई आह्वान गर्नेछिन् ।

यस्तो अवस्थामा अब विपक्षी गठबन्धनका लागि एक मतको आवश्यकता रहन्छ । बिहीबारको अवस्थाअनुसार विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्नेछन् । उनका लागि कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री हुनका लागि उनलाई अब एक मतको आवश्यकता रहेको छ ।



बिहीबार संसदमा अनुपस्थित दीपक मनाङले उनलाई समर्थन गरेको खण्डमा उनको बहुमत पुग्ने देखिन्छ ।

तर, फेरि पनि दीपक मनाङेले उनलाई समर्थन नगर्दा गण्डकीमा कसैले पनि सरकार बनाउन सक्ने देखिँदैन । यस्तो भएको खण्डमा गण्डकीमा संविधानको धारा १६८ (७)अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकीमा मध्यावधि निर्वाचनको घोषणा हुनेछ ।

  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ७:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया