नेपालको धनाढ्य समूह चौधरी ग्रुपले वीर अस्पतालमा १८ बेडको आइसियू वार्ड निर्माण गरेको छ ।
चौधरी फाउन्डेसनले आइसियूका लागि आवश्यक पर्ने बेड, मोनिटर लगायतका सबै सामग्री सहयोग गरेपछि १८ बेडको आइसियू वार्ड तयार भएको हो ।
आम नागरिकको पहुँचमा रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने जिम्मेवारी बोध गरेर वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरिएको चौधरी ग्रुपले जनाएको छ ।
फाउन्डेसनको सहयोगमा बनेको आइसियू वार्डको नाम नै सिजी आइसियू वार्ड राखिएको छ । बिहीबार एक कार्यक्रम गरी उक्त वार्ड वीर अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
चौधरी फाउन्डेसनको उक्त सहयोगका लागि धेरैले प्रशंसा गरेका छन् । तर, सहयोग गरेपछि वार्डको नाम नै सिजी आइसियू वार्ड राखिएकामा भने असन्तुष्टी समेत व्यक्त भइरहेका छन् ।
केहीले सामाजिक सञ्जालमार्फत यस्तो महामारीको समयमा निःशुल्क आफ्नो प्रचार गराउन खोजेको समेत आरोप लगाएका छन् । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइसियू निर्माण गरेपनि त्यसरी वार्डको नाम नै नराखेको भए हुने उनीहरूको तर्क छ ।
केहीले भने सरकारी अस्पतालमा कुनै निजी संस्थाले सहयोग गरेको खण्डमा त्यसकै नाममा नामकरण गर्नु गलत भएको बताएका छन् । सरकारी अस्पतालमा बन्ने संरचना सरकारकै हुने आलोचकहरूको तर्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।