गुण्डा नाइके गणेश लामालाई छाड्न कांग्रेस बागमती संसदीय दलका नेताको विज्ञप्ति

गुण्डा नाइकेका रुपमा परिचित गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आपत्ती जनाएका छन् ।

नेता बानियाँले बिहीबार एक विज्ञप्ति निकाल्दै कांग्रेसका युवा नेता भन्दै लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताए ।

विज्ञप्तिमा नेता बानियाँले लामालाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दाबी गरिएपनि वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दाबी गरेका छन् । 

नेता बानियाँले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएपछि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखेर अनावश्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै लामालाई बिनाशर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।

गत आम निर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ९:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया