नेपाली कांग्रेसको बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्त्यका लागि नाथुराम गोड्सेको आवश्यकता परेको बताएपछि नेकपा एमालेसम्वद्ध युवाहरु आक्रोशित भएका छन्।
नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य वैद्यले ओली प्रवृत्ति अति भएको भन्दै शुक्रबार बसेको प्रदेश संसदमा नेपालमा पनि नाथुराम गोड्सेको खाँचो रहेको टिप्पणी गरेका थिए।
एमालेनिकट युवाहरुले वैद्यले गरेको उक्त टिप्पणी होसमै गरेको भन्दै शंका व्यक्त गरेका छन्। एमालेनिकट नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले नरोत्तम वैद्यको टिप्पणी आपत्तिजनक रहेको बताउँदै उनलाई सामाजिक बहिष्कार गर्नुपर्ने उल्लेख गरेका छन्।
'देशका कार्यकारी प्रमुखमाथि वैद्यको अभिव्यक्ति गैरराजनीतिक र फौजदारी अभियोग लगाउनु पर्ने देखिन्छ। यसको विरोध गरौँ', उनले भनेका छन्, 'यस्ता कुसित सोचलाई समाजबाट बहिष्कार गरौँ । वैद्यजी हेक्का होस्, स्यालले बाघको सिकार कहीँ गरेको थाहा छैन।'
उनले केपी ओलीका लागि लाखौँ नेपाली युवाहरु समाप्त हुन तयार रहेको पनि बताएका छन्। 'नाथुराम गोड्से बनेर केपी ओली सिद्याउन उद्घोष गर्ने तपाईंलाई हामी युवाले किन कारबाही नगर्ने?', उनले भनेका छन्, 'राष्ट्रवादी राजनेता केपी ओलीको रक्षार्थ हामी लाखौं युवा समाप्त हुन तयार छौँ। यसबारे कांग्रेसको धारणा के हो प्रस्ट गरोस्।'
त्यस्तै नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले नरोत्तम वैद्यको टिप्पणीलाई आपराधिक भनेका छन्। उनले वैद्यमाथि तत्काल कारबाही हुनुपर्ने पनि माग गरेका छन्।
'देशको कार्यकारी प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यूमाथि जथाभावी, गैरराजनीतिक तथा आपराधिक अभिव्यक्ति दिने नरोत्तम वैद्यजस्ता व्यक्तिलाई तत्काल कारवाही गरिनु पर्छ', उनले भनेका छन्, 'प्रदेश सभाजस्तो गरिमामय ठाउँमा वैद्यले नाथुराम गोड्सेको नाम लिनु नै उनको आपराधिक मनोवृत्ति पुष्टि हुन्छ। यस्तो सोच भएकालाई तत्काल कानुनी कारवाही गरिनु पर्छ, यस्तो कुषित सोचको विरोध गरौँ।'
भिडियो
खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने यो देश खाइदिन्छन्, कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो pic.twitter.com/6yB8t5fquR
— FarakDhar.com (@farakdhar) June 11, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।