भदौमै कसरी सम्भव होला नेपाली कांग्रेसको महाधिवेशन ?
रामचन्द्र भन्छन् : विवाद मिलाउन देउवाले चासो देखाएनन्

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णयानुसार महाधिवेशन मिति अब दुई  महिनामात्रै बाँकी छ। कांग्रेसको विधान र नेपालको संविधानको व्यवस्था बमोजिम भदौ ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको अन्तिम मिति तोकिएको छ। 

कांग्रेसको विधान अनुसार २०७६ सालमै १४ औ महाधिवेशन भइसक्नुपर्ने हो। तर पार्टी सभापति शेर बहादुर र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको अन्तरद्वन्द्वले समस्या बढ्दै जाँदा महाधिवेशन अनिश्चित भएको थियो।

आन्तरिक कलह समाधान नहुँदा महाधिवेशन झण्डै दुई वर्ष पछाडि धकेलिसकेको छ। तोकिएको समयमा महाधिवेशन नहुँदा कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्न थालेको छ।

संवैधानिक व्यवस्था अनुसार अन्तिम पटकका लागि थपिएको ६ महिना अर्थात् भदौभित्र पार्टीको महाधिवेशन गर्नैपर्ने बाध्यता छ। राजनीतिक दलसम्बन्धी प्रावधानको धारा २६९ उपधारा ४ (ख) मा टेकेर अन्तिम पटकको लागि ६ महिनाको म्याद बढाइएको हो।

यदि अन्तिम पटक तोकिएको समयमा महाधिवेशन नभए पार्टी नै नरहने अवस्था आउन सक्छ। तर अझै पनि कांग्रेसले महाधिवेशन गर्ने या अन्य उपायबाट संकट टार्ने निचोड निकालिसकेको छैन।

देउवामाथि शंका



पार्टी सभापति देउवाको गतिविधिले महाधिवेशन हुनेमा इत्तर शीर्ष नेताहरु नै विश्वस्त छैनन् । भदौमा महाधिवेशन हुने-नहुने कुराबारे नेतृत्व तहमै शंका उपशंका बढ्न थालेपछि त्यसको चिरफार गर्न दुई दिन अगाडि देउवा आफैँले महाधिवेशनबारे स्पष्टीकरण नै दिनु पर्‍यो ।

‘भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा प्रतिबद्ध छु। पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो', २६ जेठमा पार्टी सभापति देउवाबाट जारी विज्ञप्तिमा भनिएको छ, 'पार्टी महाधिवेशनलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु, जुन गलत छन्। महाधिवेशनबारे कसैले भ्रम नराखे हुन्छ, भदौमै महाधिवेशन गर्न हामी तयार छौँ।'



यही विज्ञप्तिमार्फत सभापति देउवाले महाधिवेशन सम्पन्‍न गराउन सबै नेता कार्यकर्तालाई दत्तचित्त भइ लाग्न आह्वान गरेका छन् । भदौमै महाधिवेशन हुने कुरामा सभापति देउवासहित उनीनिकट नेताहरु विश्वस्त छन् । तर इतर अर्थात् वरिष्ठ नेता पौडेलसहितको समूहले देउवामाथि शंकाको नजरले हेरिरहेको छ।

संस्थापनको तर्क : भदौमै हुन्छ

महाधिवेशन समयमै गर्ने उपायबारे संस्थापन पक्षसँग सोध्दा एउटै उत्तर आउँछ, 'भदौमै हुन्छ, यसमा दायाँबायाँ हुँदैन।' यहीबारे देउवानिकट कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले संवैधानिक बाध्यताका कारण जसरी पनि भदौमा महाधिवेशन गर्नैपर्ने अवस्था रहेको बताउँछन्। 

महाधिवेशनका लागि सभापति देउवा छलफल तथा विमर्शमा पनि जुटिरहेको उनले बताए। 'अहिले खासमा वडा अधिवेशनमा अवरोध देखिएको छ, प्रारम्भिक कार्यतालिका बमोजिम वडाको अधिवेशन असारमा भइसक्नुपर्ने हो', उनले भने, 'तर लकडाउनका कारण यो प्रभावित भएको छ, यसबारे निकास निकालेर जसरी पनि भदौमै महाधिवेशन गर्ने गृहकार्य भइरहेको छ।’ 

नेता महतका अनुसार सभापति देउवा भदौमै महाधिवेशनको पक्षमा छन्। 'सभापतिज्यू २० भदौमै महाधिवेशन गराउने तयारी हुनुहुन्छ', उनी भन्छन्, 'त्यसका लागि आजै पदाधिकारी बैठक डाकिएको छ।'

संस्थापन पक्षकै नेता एवम् क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक पनि भदौमै महाधिवेशन हुने बताउँछन् । यसका लागि ‘जुम’ र ‘अनलाइन’ मार्फत सबै कार्य भइरहेको उनले बताए। असार र साउनसम्ममा क्रियाशील सदस्यता विवाद तथा तल्लो तहका सबै अधिवेशन सक्ने गरी द्रुतगतिमा काम भइरहेको उनले दाबी गरे। 

कसरी सम्भव छ?

कांग्रेस नेताहरुका अनुसार महाधिवेशनका लागि अझै २ महिना समय बाँकी छ। उनीहरुका अनुसार शीर्ष नेताहरुबीच तालमेल भएमा यो समय पनि पर्याप्त हो। 'अहिलेसम्म ८ लाख भन्दा बढी सदस्यता फारम ‘इन्ट्री’ भइसकेको छ', नेता लेखक भन्छन्,‘अब ४ वटा जिल्लामा मात्रै विवाद छ, त्यो पनि समाधान हुने क्रममा छ। यसका अलावा अरु काम पनि तीव्र गतिमा भइरहेको छ।’

छानविन समिति संयोजक लेखकका अनुसार महाधिवेशनकै लागि अहिले दुई समिति गठन भइसकेका छन्। उनका अनुसार निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समिति गठन भएर युद्धस्तरमा काम भइरहेको छ।

उनको धारणामा नेता महत पनि समर्थन जनाउँछन्। ‘अहिलेको मुख्य विवाद क्रियाशील सदस्यता र वडा अधिवेशनमा देखिएको छ, त्यसैले यो समाधान गर्न आजै पदाधिकारी बैठक डाकिएको छ', महतले भने, 'सम्भवत: त्यहीँबाट धेरै समस्याको हल निस्किने छ।’

विकल्प  छैन

कांग्रेस नेता डा. नारायण खड्काले संवैधानिक बाध्यताका कारण अधिकतम् प्रयास गरेर भदौमै महाधिवेशन गनुपर्ने बताउँछन्। उनले त्यसका लागि छलफल र अन्य कार्य भइरहेको बताएका छन्। 

'मुख्य विवाद क्रियाशील सदस्यतामा हो, त्यो मिल्यो भने केही तनाव नै हुँदैन', खड्काले भने, 'समयमै हुन्छ, क्रियाशील सदस्यताको काम पनि अन्तिम चरणमा छ। त्यसको विवरणलाई चाँडै प्रकाशनमा ल्याएर अन्य प्रक्रिया अगाडि बढाइन्छ।’

ढुक्क छैनन् पौडेल 

सभापति देउवासहित उनीनिकट समूहका नेताहरु भदौमा महाधिवेशन हुनेमा ढुक्क रहे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल अझै पनि विश्वस्त हुन सकिरहेका छैनन्। 

'महाधिवेशनका लागि जुन तदारुकता हुनुपर्ने हो, त्यो हुनै सकेको छैन। क्रियाशीलको विवाद अझै सल्टेको छैन', उनले अगाडि भने, 'समायोजनका कुरामा अझै विवाद छ। समायोजनका कारण नै क्रियाशील सदस्यतामा विवाद देखिएको हो। तर यसतर्फ समाधानमा ध्यान दिइएको छैन।'

पार्टीभित्र अनेक विवाद हुँदा पनि सभापति देउवाले कुनै तदारुकता नदेखाएको उनले बताए। 'सबै विवाद यथावत हुँदा समाधानका लागि पार्टी सभापतिमा जुन तदारुकता देखिनुपर्ने हो, त्यो नै देखिएको छैन,' उनले  भने, 'हामीले महाधिवेशनका लागि पटक पटक सभापतिजीसँग संवाद गरेका छौँ, तर जुन गम्भीरता देखिनुपर्ने हो, त्यो नै छैन।'

विवादका जतिसुकै कारण भए पनि समाधान गरेर भदौमै महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिएका छन्। 'जेसुकै कारण भए पनि सबै समाधान गरेर भदौमा महाधिवेशन गर्नैपर्छ',फरकधारसँग कुरा गर्दै पौडेलले भने,‘तोकिएको समयमा भएन भने पार्टी नै धरापमा पर्ने अवस्था छ।'

उनले पार्टीको अस्तित्व बचाउन पनि भदौको महाधिवेशनबाट देउवा भाग्न नहुने बताए। 'पार्टी नै संकटमा पर्ने भएकाले महाधिवेशनका लागि हामी पनि सहयोग गर्न तयार छौँ', उनले भने, 'महाधिवेशन गर्नैपर्छ। विज्ञप्ति निकालेर मात्रै अब काम चल्दैन।'

देउवाले जिल्लामा देखिएको विवाद समाधानमा देउवाले तदारुकता नदेखाएको बताए। ‘जिल्लामा देखिएको विवाद समाधानमा पनि तदारुकता देखाउनुपर्यो', पौडेलले थपे, 'अहिलेको सबै विवाद समाधानका लागि चाँडै बैठक राख्नुपर्छ, त्यहीबाट निकास दिएर भदौको महाधिवेशन पक्का गर्नुपर्छ।'

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार ९:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया