टिप्पणी
यसकारण नेता आफ्नो बोलीको ठेगान पाउँदैनन्

राजनीतिक मनोविज्ञान मानिसको स्थान र पदले निर्धारण गर्छ । नेता कुन स्थानमा र कुन पदमा छ भन्ने कुराले उसले बोल्ने कुरा निर्धारण हुन्छ । त्यसो त कतिपय नेताहरु कुटनीतिक रुपमा पनि आफ्ना अभिव्यक्ति दिन्छन् । 

तर, धेरैजसो नेताहरु सत्ता र शक्तिमा रहँदा नागरिकलाई चिढ्याउने अभिव्यक्ति दिन्छन् । यस्तो किन पनि हुन्छ भने राजनीतिज्ञलाई सत्तामा पुगेपछि विभिन्न प्रकारका दबाव आउन थाल्छन् । उसको आफ्नै दल, कार्यकर्ता, विपक्षी दल र सर्वसाधारणबाट दबाव आइरहेको हुन्छ । अर्कोतिर, अन्तर्राष्ट्रिय समुदायबाट पनि सत्तासिन व्यक्तिले दबाव झेलिरहेको हुन्छ ।

यसरी चौतर्फी दबाबमा पर्दा नेताहरु आफ्नो शक्तिको आडमा कडा अभिव्यक्ति दिन बाध्य हुन्छन् । अर्कोतर्फ उनीहरु दबाबको कारणले गर्दा अतालिन्छन् पनि । यसरी अताल्लिएको समयमा उनीहरु आफ्नो शक्तिलाई प्रयोग गरेर दबाव कम गर्न चाहान्छन् ।

सत्ता, शक्ति, उन्माद र त्यसमा थपिने दबाको कारणले नै नेताहरु हतोत्साही हुन्छन । जसले गर्दा उनीहरु डिफेन्सिभ या अफेन्सिभ हुन पुग्छन । आफू र आफ्नो सत्ता जोगाउन पनि नेताहरु अफेन्सिभ हुन्छन् । अफेन्सिभ नेचर मानिसमा जन्मजातै हुन्छ ।

नेपाली नेतामा व्यवस्थापकीय क्षमताको पनि अभाव छ । नेताहरु सत्तामा पुगेपछि आफ्ना आवश्यकता र जनतासँग गरेका वाचाबाट पन्छिने मुल कारण भनेकै व्यवस्थापन उचित नहुनु हो । व्यवस्थाप गर्न नसक्नु र दबाव खप्न नसक्दा नेताहरु हतास हुँदै असामान्य लाग्ने अभिव्यक्ति दिन्छन् । कतिपय अवस्थामा आफ्ना कार्यकर्ता र मान्छेलाई खुसी पार्न पनि नेताहरु कठोर अभिव्यक्ति दिन्छन् । नेताहरुको वरीपरी कस्ता मान्छे छन् भन्ने कुराले पनि उसको बोली निर्धारण गर्छ । हाम्रा धेरैजसो नेताहरुमा व्यक्तिगत प्रवृति हावी छ । जसले गर्दा उनीहरु कहाँ के बोल्ने भनेर सरसल्लाह पनि गर्दैनन् ।

राजनीतिमा भाषण नै प्रभावशाली हुन्छ । तर, कहिलेकाही त्यही भाषण नै नेतालाई कमजोर बनाउने माध्यम पनि बन्न पुग्छ । सत्तामा पुगेका जो कोहीसँग आफ्नो शक्तिको विश्वास हुन्छ । शक्तिको उन्माद हुन्छ । यही उन्मादको कारण मानिसहरु के राम्रो के नराम्रो भन्ने पनि भुल्छन् । 



अर्कोतर्फ सत्तामा रहँदा र सत्ता बाहिर रहँदा पनि नेताहरुको बोलीमा भिन्नता हुन्छ । सत्ता बाहिर रहँदा नेताहरु रक्षात्मक कुरा धेरै बोल्छन् भने सत्तामा रहँदा नेताहरु आक्रामक व्यवहार देखाउँछन् । सत्तामा रहँदा उनीहरुको नियन्त्रणमा देशको सबै प्रशासानिक अङ्ग रहने भएकाले पनि नेताहरु आक्रामक हुन्छन् । पदको रवाफ देखाउन पनि नेताहरु कडा बोल्ने गर्छन् । आफू शक्तिशाली छु भन्ने देखाउन पन िउनीहरुलाई कडा भाषण गर्नु पर्ने बाध्यता हुन्छ । 

नेपालमा धेरैजसो नेताहरु उच्च रक्तचाप, मधुमेहका रोगी छन् । यस्तो रोग लागेका नेताहरु निरन्तर औषधी पनि सेवन गरिरहेका हुन्छ । निरन्तर औषधी सेवनले मानिसको मानिसक अवस्थामा पनि प्रभाव पर्छ । अझ उच्च डोजको औषधी सेवन गर्ने मानिसमा चिडचिडाहटपन देखिनु सामान्य हो । त्यसैले नेताहरुलाई आफ्नो बोली के भइरहेको छ भन्ने ठेगान हुँदैन । अनि हौसिएर उनीहरु जे मन लाग्छ, त्यही बोल्छन् ।



(आचार्य मनोचिकित्सक हुन् ।)

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ३:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया