खोपको दुरुपयोग, लक्षित समूहले पाएनन्, पहुचँवालाको मनलाग्दी

हेटाैंडा उप-महानगरपालिकी उपमेयर मीनाकुमारी लामाको कार्यकक्षमा पार्टीका कार्यकर्ताहरूलाई सुटुक्क खोप लगाइयो । सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर पहुँचको आधारमा पार्टीका कार्यकतालाई उपमेयरको कार्यकक्षमा नै खोप दिइएको थियो ।

उप-महानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले वडा सदस्य र उपमेयरका आफन्तले खोप लगाउन दबाब दिएको भन्दै उपमेयरले हिजो शुक्रबार १३ जनालाई खोप लगाइएको बताए । 

यस विषयमा जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको छ । खोप अभाव भएको देखाउँदै काठमाडौं महानगरपालिकाले खोप कार्यक्रम नै रोकेको थियो । 

काठमाडौंमा १४ हजार भेरोसेल खोपको हिसाब किताब नै गडबड देखिएको छ ।  स्वास्थ्य सेवा विभागले काठमाडौं जिल्लाका लागि जनस्वास्थ्य कार्यालयलाई ६४ हजार भेरोसेल खोप दिएको थियो । तीमध्ये १४ हजारको तथ्यांक नै देखिएको छैन । यस विषयमा विभागले अनुसन्धान थालेको छ । जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको मिलोमतोमा खोप दुरुपयोग भएको हो । 

चीनबाट अनुदानमा आएको १० लाख डोज खोप ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइँदैछ । तर खोपको दुरुपयोग गर्दै पहुँचवालाले समेत खोप लगाउने गरेको पाइएको छ । 

खोप दुरुपयोग बढेपछि जिल्ला प्रशासन कार्यालयहरूले जनस्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै छानबिनको निर्देशन दिएका छन् । लक्षित समूहभन्दा बाहिरकालाई पहुँचको आधारमा खोप लगाउन थालिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य कार्यालयलाई अनुसन्धान गर्न भन्दै परिपत्र पठाएको छ । 



लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाएको पाइएमा ती व्यक्तिहरूको विवरण, खोप केन्द्र र खोप लगाउने कार्यमा संलग्न कर्मचारीको समेत विवरण उपलब्ध गराउन भन्दै पत्र पठाएको थियो । 

कञ्चनपुरमा मात्र नभएर देशैभरका धेरैजसो जिल्लामा खोपको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्यको ध्यानाकर्षण गराएका छन् । 



विभागले थाल्यो अनुसन्धानः

​देशभर खोप दुरुपयोग बढेको जनगुनासो आएपछि स्वास्थ्य सेवा विभागले अनुसन्धान थालेको छ । विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले खोप अनियमितताको खबर धेरै ठाउँबाट आएको भन्दै छानबिन गरिने जानकारी दिए । खोपको अनियमितता भएको पुष्टि भएमा कानुन अनुसार कारबाही गरिने उनको भनाइ छ । 

विभागले लक्षित समूहको आधारमा ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाउन निर्देशन दिएको थियो । यसअघि भेरोसेलको पहिलो डोज खोप लगाएकालाई पनि दोस्रो डोज लगाउन सकिने छ । तर लक्षित समूहभन्दा बाहिर पहुँचको आधारमा खोप लगाइएको पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाही हुने बताए ।  

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १६:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया