गण्डकीका मुख्यमन्त्री : बुवा गोवर्द्धनको प्रेरणाले राजनीति गरे, पटक पटक जेल परे
विद्यार्थीबाटै राजनीति थाले, वकिलदेखि शिक्षकसम्मको अनुभव

कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्द्धन शर्मा राणा शासन विरोधी आन्दोलनका एक अभियन्ता थिए। गोवर्द्धन नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएर तत्कालीन अवस्थामा केन्द्रीय सदस्यसम्म भएका थिए। 

राजनीतिमा होमिएर बाबुकै पदचाप पछ्याएका कृष्णचन्द्रको जन्म वि.सं. २००६ मंसिर १३ गते तनहुँमा भएको थियो। उनी १२ वर्षकै उमेरमा कांग्रेसको राजनीतिमा होमिएका थिए। उनले तनहुँमा हुँदै विद्यार्थी राजनीतिबाट आफूलाई अघि बढाएका थिए। 

तनहुँमा जन्मिए पनि उनको कर्म र राजनीतिक थलो नवलपरासी थियो। नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता ७१ वर्षीय पोखरेल २०७४ सालको निर्वाचनमा नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। 

पोखरेलले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । बहुदल आएपछि उनी २०४८ सालयता लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए। कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका थिए। 

निरन्तर राजनीतिमा सक्रिय उनी २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। तर उनी २०७४ सालमा प्रदेशतर्फ झरेर गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन्।



२०७४ को निर्वाचनमा नवलपरासी पूर्व १ (क) मा एमाले-माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी गण्डकी प्रदेश सभा सदस्य बनेका थिए। 

प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद थिए। एमाले-माओवादी गठबन्धनको बहुमत आएपछि कांग्रेस प्रमुख प्रतिपक्षी दल भएको थियो। प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिएका पोखरेल एमाले-माओवादी फुटले मुख्यमन्त्री बन्न सफल भए।



प्रतिपक्षमा रहे पनि उनले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई निरन्तर खबरदारी गरेका थिए। एमाले-माओवादी नेतृत्वको सरकारका कामदेखि बजेट बाँडफाँटमा पनि उनले खबरदारी गरिरहे। 

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदबारे उनले संसदमा आवाज उठाए। कोभिडको महामारी नियन्त्रणमा सरकारको लापरबाहीबारे पनि उनले प्रश्न उठाइरहे । 

कोरोना आएपछि गण्डकीमा सशक्त प्रतिपक्ष बनेर उनले हरेक घरमा पिसिआर परीक्षणदेखि गण्डकीका सबै जिल्लामा पिसिआर मेसिन राख्न पनि दबाब दिए। आफूहरुको माग सरकारले नसुनेपछि प्रदेशसभामा संकल्प प्रस्ताव नै दर्ता भयो। उक्त प्रस्ताव फेल भए पनि कांग्रेसबाट उनले आवाज उठाइरहे। 

परिवारको प्रभाव

बुवाको राणाविरोधी छविको प्रभाव उनकी आमामा पनि परेको थियो। बाबु गोवर्द्धनको राजनीतिक पृष्ठभूमिले आमा द्रौपदा शर्मामा पनि राजनीतिक चेत थियो। उनले आमाबाट मातृवात्सल्यसँगै राजनीतिक संस्कार पनि पाए। 

परिवारमा माहिला छोरा उनका दाजु रामचन्द्र पोखरेल पनि संविधानसभा सदस्य भएका थिए। जिल्ला विकास समिति तनहुँका पूर्व सभापति भइसकेका रामचन्द्र कांग्रेस केन्द्रीय कार्यालयमा सचिवको भूमिकामा पनि थिए। अर्कातिर साहिँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष भइसकेका छन्। उनका कान्छा भाइ डा. सुवासचन्द्र पोखरेल अमेरिकामा बस्दै आएका छन्। 

राणाविरोधी आन्दोलनमा लागेपछि बुवा गोवर्द्धन भारतमा निर्वासित भएका थिए। बुवासँगै उनले वि.सं. २०२२ देखि २०२८ सम्म भारतमा निर्वासित जीवन बिताए। 

कृष्णचन्द्र राजनीतिसँगै शिक्षण पेसामा पनि थिए। उनले काभ्रे र तनहुँका स्कुलमा अध्यापन गरे। २०३६ को जनमत संग्रहमा उनी बहुदलको प्रचारमा जुटे। जनमत संग्रहमा कांग्रेसको पक्षमा लागेको आरोपमा उनलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदिएको थियो । पञ्चायत सरकारले कारवाहीस्वरुप जुम्ला पठाएपछि उनले शिक्षण छाडेर आफूलाई पूरै राजनीतिमा लगाए।

पटक पटक जेल

१२ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका उनी २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य भए। प्रजातान्त्रिक आन्दोलनका लागि सक्रिय हुँदा उनी ६ पटक जेल बसे। 

२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक ५ महिनासम्म बसे। २०३६ को जनमतसंग्रहका बेला उनी ८ महिना कास्की कारागारमै थुनिए। २०३८ मा निर्वाचनकै बेला प्रहरी हिरासतमा यातना पाएका उनी त्यसबेला २ महिना थुनिए। ऴ

२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गरेको थियो। नवलपुरबाट सत्याग्रहमा होमिएमा उनी परासी र कपिलवस्तुमा १ वर्ष जेलमा बसे। २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर उनी नजरबन्द पनि परे। उनलाई त्यसबेला ९ महिना पाला जेलमा थुनियो। 

उनले आधारभूत शिक्षा तनहुँको धरमपानीस्थित विद्यालयबाट पूरा गरे। त्यसपछि माध्यमिक शिक्षाका लागि निर्वासित जीवन बिताइरहेका बुवासँगै भारत पुगे। माध्यमिक शिक्षा बिहारको नरकटियागन्जबाट सकेका उनी दरभंगाबाट मानविकीमा स्नातकपछि फर्किए । कानुनमा पनि पोख्त हुन उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि गरे।

कानुन पढेपछि उनी वकिलका रुपमा पनि देखिए। जनपक्षीय कानुनी सेवकका रुपमा उनी क्रियाशील रहे। उनले आन्दोलनका क्रममा थुनिएका राजबन्दीको रिहाइका लागि वकालत पनि गरे। 

२०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी-४ बाट प्रतिनिधिसभामा उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमाण्ड लिए। त्यसबेला पनि उनलाई शाही सरकारले जेल हाल्यो।

कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए । उनी त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए ।

  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २०:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया