२०७७ फागुनमा नेपाली पुरुष फुटबल टोलीले अब्दुल्लाह अल्मुल्ताइरीलाई प्रशिक्षकको रुपमा पायो। कुवेती मुलका अल्मुल्ताइरीले नेपालमा आउनेबित्तिकै नेपालको घरेलु फुटबल प्रतियोगिताका दुई वटा खेललाई नजिकबाट नियाले।
थ्री नेन्शन्स कप र नेपाल सुपर लिग (एनएसएल) त्यही दुईवटा प्रतियोगिताको खेलका आधारमा उनले नेपाली खेलाडीबारे एक खालको धारणा बनाए।
दुई वटा प्रतियोगिताका हरेक खेलमा खेलाडीका प्रस्तुतिलाई नजिकबाट नियालेर उनले नोट गरे। त्यसपछि अल्मुल्ताइरी एक खालको निष्कर्षमा पुगे। उनले नेपालको राष्ट्रिय टोलीलाई नयाँ मोड दिए।
राष्ट्रिय टोलीमा व्यापक हेरफेर भयो। खेलाडी चयनमा उनले युवा पुस्तालाई बढी मौका दिए। राष्ट्रिय टोलीमा निकै महत्वका साथ स्थान पाइरहेका खेलाडीलाई समेत पन्छाएर उनले नयाँलाई समेटे।
उनको यो निर्णयलाई कतिले सकरात्मक रुपमा लिए भने कतिले असन्तुष्टि समेत व्यक्त गरे।
उनको रोजाइ अनुरुप विश्वकप र एसियन कप छनोटका खेलका लागि खेलाडी चयन भए। टोलीमा ६ जना एकदमै फ्रेस अनुहार थिए। यही नयाँ अनि कोही पुराना खेलाडीसहितको टोली लिएर उनी विश्वकप तथा एसियन कप छनोटको खेल खेल्न प्रस्थान गरे।
नयाँ प्रशिक्षकसँगै देखिएका नयाँपन
नेपाली फुटबल टोलीका खेलाडीलाई हामीले सधैं जर्सीमा र सामान्य कपडामा विदेशी प्रतियोगिता खेल्न गएको देखेका थियौं। यस वर्ष भने नेपाली खेलाडीलाई सुटमा देखियो। नेपाली राष्ट्रिय टोलीका खेलाडीदेखि सीमित पदाधिकारीलाई सुटमा देखियो।
नेपाली फुटबल टोलीले एसियाली खेलकुद १९८२ मा बर्माविरुद्ध सेतो जर्सी लगाएर खेलेको थियो। त्यस पश्चात नेपाली टोलीले दोस्रो पटक सेतो जर्सीमा अन्तर्राष्ट्रिय खेल खेलेको छ।
प्रशिक्षक अब्दुल्लाहले खेलको अघिल्लो दिन अथवा अगाडी नै हार–जितको जिम्मेवारी आफूले लिने भन्दै खेलाडीलाई कुनै दोष नलगाउन आग्रह गरे। उनले सामाजिक सञ्जालमार्फत यस्तो भनाइ सार्वजनिक गरेपछि यसको निकै चर्चा भयो।
उनको उपस्थितिले नेपाली खेलाडी पनि निकै उत्साहित थिए। खेलका दौरान नेपाली खेलाडीले दिएका प्रतिक्रियाले पनि प्रशिक्षकको रुपमा अल्मुल्ताइरीको उपस्थितिले नेपाली खेलाडीमा उर्जा थपेको महसुस हुन्थ्यो। कप्तान तथा गोलकिपर किरण चेम्जोङ र फरवार्ड अञ्जन बिष्टले उनको निकै प्रशंशा गरेका थिए।
नयाँ प्रशिक्षकको आगमनसँगै नेपाली टोलीमा धेरै उथलपुथल आयो। उनले ल्याएको परिवर्तनले नेपाली फुटबलमा भर्खरै प्रवेश गरेका उदीयमान खेलाडीमा पनि आशा जगाएको छ। प्रस्तुती राम्रो हुनेबित्तिकै जतिसुकै नयाँ खेलाडी भएपनि राष्ट्रिय टोलीमा स्थान पाइन्छ भन्ने आशा खेलाडीमा सञ्चार हुने अवस्था अल्मुल्ताइरीले बनाएका छन्।
यही प्रशिक्षकले निरन्तरता पाएमा नेपाली फुटबलको स्तर छिटो मागि पुग्ने विश्वास फुटबल विश्लेषक तथा पत्रकार हिमेश रत्न बज्रचार्य व्यक्त गर्छन्।
अबको यात्रा प्ले-अफ
नेपालले एसियातर्फ विश्वकप छनोटको पछिल्ला तीन खेलमा त्यही नतिजा हात पारेको छ, जुन अपेक्षित थियो। आफू हाराहारीको टोली चाइनिज ताइपेइमाथि २–० को जित निकाल्यो। आफू भन्दा निकै बलिया टोली जोर्डन र अष्ट्रेलियाविरुद्ध पनि नेपालको खेल अपेक्षा गरेअनुसार नै भयो। विश्वकप खेलिसकेका टोली अस्ट्रेलिया र जोर्डनलाई ३–० मै रोक्नु पनि नेपालका लागि निकै राम्रो प्रदर्शन हो।
हार भएपनि यो नेपालले अपेक्षा गरे भन्दा राम्रो नतिजा हो। जोर्डन र अष्ट्रेलिया जस्ता बलिया राष्ट्रमाथि थोरै गोल खानु नै नेपालको लक्ष्य थियो। यस्तै नतिजा आउने विश्वास प्रशिक्षक अल्मुल्ताइरीले दिलाएका थिए।
उनकै इच्छा अनुरुप टोलीले खेल खेल्यो। नेपालले अब खेल्ने भनेको एसियन कप छनोटको प्ले-अफ हो। त्यसमा एउटा टोलीसँग दुई पटक खेल्नुपर्ने हुन्छ। नेपालसहित प्ले-अफमा खेल्ने १२ टोली हुन्छन्।
नेपालले कुन–कुन टोलीसँग खेल्छ भन्ने चाँही पक्का टुंगो लागिसकेको छैन। तर अब प्ले-अफमा खेल्ने टोली भने नेपालले खेल्न सक्ने र आँट्न सक्ने टोली हुने फुटबल विश्लेषक हिमेश रत्न बज्राचार्य बताउँछन्।
‘नेपालले अहिलेको नतिजा अपेक्षित नै थियो’ बज्राचार्य भन्छन् ‘अब नेपालले प्ले-अफ खेल्ने १२ टोली भनेका विश्वकप छनोटको दोस्रो चरणमा आफ्नो अन्तिम स्थानमा रहेका आठ टोली र चौथो स्थानमा आएका पुछारका चार टोली नै हुन्।’
नेपाल यसमा राम्रो प्रदर्शन गरेर कम्तिमा एसियाकप छनोटको तेस्रो चरणसम्म पुग्ने विश्वास उनले व्यक्त गरे। अब नेपालले प्ले-अफमा जुनसुकै टोलीसँग पनि आक्रमक रुपमा प्रस्तुत भई जित निकाल्ने लक्ष्यका साथ खेल्नुपर्ने बज्राचार्यको भनाइ छ।
नेपालका लागि फाइदाको विषय भने लिगमा हरेक टोलीसँगको एक खेल घरेलु मैदानमा खेल्नेछ। स्थिति समान्य भएमा नेपालले दशरथ रंगशालामा नेपाली समर्थकको साथमा लिग खेल्न पाउनेछ।
नेपालका लागि घरेलु मैदान र दर्शकको समर्थनले नेपाली टोलीलाई राम्रो नतिजा ल्याउन हौसला प्रधान गर्ने नेपाली टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्।
अब खेल्ने प्ले-अफमा राम्रो प्रस्तुती राम्रो दिन नसकेमा नेपाली फुटबलको स्तरोन्नतिमा धक्का लाग्ने पूर्व प्रशिक्षक तथा फुटबल विश्लेषक हरुको भनाइ छ।
अब नेपालले खेल्ने प्ले-अफले नेपाली फुटबलको भविष्य निर्धारण गर्ने पूर्व प्रशिक्षक महर्जनको पनि भनाइ छ। पछिल्लो खेलमा आएको नतिजामा महर्जन पनि सन्तुष्ट छन्। ‘बलियो राष्ट्र जोर्डन र अष्ट्रेलियालाई ३ गोलमा रोक्नु पनि नेपालको राम्रो प्रस्तुति हो’ उनी भन्छन्।
पहिले कस्तो थियो नजिता ?
यी तीनै राष्ट्रसँग नेपालले पहिलो चरणको खेल खेलिसकेको थियो। पहिलो चरणको खेलमा भन्दा अहिलेको नतिजा राम्रो देखिन्छ। छनोट चरणको पहिलो नेपालले खेलमा नेपालले कुवेतलाई ७–० को नतिजा सुम्पिएको थियो। त्यसपछि चाइनिज ताइपेइविरुद्ध २–० को जित निकालेको थियो।
तेस्रो खेलमा भने नेपाल अष्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो। पछि भुटानमा कुवेतसँग खेल्दा नेपाल १–० ले पराजित भएको थियो।
अब नेपाली फुटबलले कहाँ र कस्तो खेल्ला भने हेर्न बाँकी नै छ। नेपाली फुटबलका लागि नयाँ आशा बनेर आएका अब्दुल्लाह अल्मुल्ताइरी केही रहेमा नेपाली फुटबलले स्वरुप बदल्नेमा धेरै आशावादी छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।