यो संविधानको नाम किन ‘नेपालको संविधान–२०७२’ होइन ?

काठमाडाैं- आज संविधान दिवस । लामो संघर्षपछि आएको यो संविधान जनताको संविधान हो । यसअघिका संविधान पनि जनताको अविराम संघर्षको बलमै आएका थिए । तर, ती संविधानप्रति नागरिकको अपनत्व भने थिएन । 

२०६२÷६३ को जनआन्दोलन र त्यसपछिका विभिन्न सघंर्षमा टेकेर आएको यो संविधान २०७२ सालमा जारी भएको हो । २०६४ सालमा निर्वाचित पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन गरिएको थियो ।

दोस्रो संविधानसभाले दुई वर्षमा संविधान जारी गरेको थियो । २०७२ सालमा जारी गरिएको यो संविधान विश्वकै उदार संविधानअन्तर्गत पर्छ । संविधानको भाग ३ को धारा १६ देखि ४६ सम्म मौलिक हकको व्यवस्था गरिएको छ ।
नेपालको संविधानलाई धेरैजसोले अझै पनि ‘नेपालको संविधान २०७२’ लेख्ने गर्छन् । २०७२ सालमा संविधान जारी गरिएको कारण धेरैले नेपालको संविधान २०७२ लेख्ने र भन्ने गर्छन् । तर, यो संविधानको नाम भने नेपालको संविधान २०७२ होइन ।

संविधानको नाम ‘नेपालको संविधान’ मात्रै हो । संविधान जारी गर्ने समयमा संविधानसभाका सभामुख रहेका सुवास नेम्वाङका अनुसार नेपालको संविधान २०७२ लेख्नु गलत रहेको बताउँछन् । नेम्वाङका अनुसार नेपाली संविधानको नाम नेपालको संविधान मात्रै हो ।

२०७२ सालमा संविधान जारी गर्नुअघि विभिन्न समुदायका मानिसले संविधानमा आफ्नो मिति राख्नुपर्ने माग गरेका थिए । त्यसै पनि संविधान निर्माणको समयमा विभिन्न पेसा, जाति, धर्म र समुदायका मानिसले संविधानमा आफ्ना कुरा समेटिनुपर्ने माग राखिरहेका थिए । यो माग संवत्मा पनि थियो । संविधानमा कुन संवत् राख्ने भनेर पनि संविधानसभामा बहस भएको थियो । 

‘संविधान जारी गर्ने समयमा धेरै साथीले आ–आफ्नो संवत् लिएर आउनुभएको थियो,’ नेम्वाङले भने, ‘तर कुनै एउटा समुदाय र जातिविशेषको संवत राख्दा अर्को समुदायलाई बेवास्ता गरेको देखिने भएकै कारण हामीले संविधानमा कुनै संवत राखेनौं ।’ कुनै संवत नराखिएपछि संविधानको नाम नै नेपालको संविधान मात्रै रहन गयो ।



अहिले धेरै मानिसले नेपालको संविधान–२०७२ लेख्ने र भन्ने गरेको गलत भएको नेम्वाङ बताउँछन् ।
 




  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ११:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया