बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा कोभिड–१९ विरुद्धको खोपको चरम दुरुपयोग भएको पाइएको छ । यसअघि आएको कोभिसिल्ड र चिनियाँ भ्याक्सिन भेरोसेल दुवैको व्यापक दुरुपयोग भएको पाइएको हो । यसअघि आएको ‘कोभिसिल्ड’ लक्षितवर्गमा नपुगिरहेको अवस्थामा पहुँचका आधारमा निजी मेडिकलमा पुर्याइएको थियो । ती खोप हेटौँडाका नेता र व्यवसायीलाई लगाइएको थियो ।
सरकारी अस्पतालका सञ्चालक समिति सदस्यबाटै खोप चुहावट
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका लागि आएको कोभिसिल्ड खोप मकवानपुरका एमालेका संविधानसभा सदस्य, कांग्रेसका जिल्लास्तरीय नेता, तरुण दलका नेता तथा केही व्यवसायीले लगाइएको पाइएको छ । अघिल्लोपटक कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका स्वास्थ्यकर्मी र अटोएम्बुलेन्सका चालकका लागि भनेर सरकारले खोप पठाएको थियो। तर, लक्षित वर्गले खोप नपाइरहेको अवस्थामा राजनीतिक नेता–कार्यकर्ताले भने पहुँचका आधारमा खोप लगाइरहेका छन् ।
बागमती प्रदेश सरकारले हेटौँडा अस्पताल सञ्चालक समिति सदस्यमा नियुक्त गरेका उत्सव चौलागाईंले आफ्नै निजी मेडिकलबाट नेता तथा व्यापारीलाई खोप वितरण गरेको पाइएको छ । उनले खेर जान लागेको कोभिसिल्डको पहिलो मात्रा लगाएको स्वीकार गरेका छन् । यसरी खोप लगाउनेमा सबै राजनीतिक दलका नेता र ठूला व्यापारी छन् । जो कोभिसिल्डका खोपका लागि लक्षित वर्गमा पर्दैनन् ।
सरकारले हालसम्म सरकारी अस्पताल र स्थानीय निकायको स्वास्थ्य संस्थाबाट मात्रै खोप लगाउने अनुमति दिएको छ । स्वास्थ्य कार्यालयले वैशाखको अन्तिममा हेटौँडा अस्पतालका कर्मचारी र अटो एम्बुलेन्स चालकका लागि १० भाइल खोप उपलब्ध गराएको थियो । जसबाट ९१ जनाले मात्रै अस्पतालमा खोप लगाएका छन् । बाँकी ९ वटा खोपको विवरण अस्पतालमा छैन । सोही खोप चौलागाईंले आफ्नो मेडिकलमार्फत नेता कार्यकर्तालाई उपलब्ध गराएका हुन् ।
उपमेयरको कार्यकक्षबाटै खोपको दुरुपयोग
यस्तै, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाकै कार्यकक्षमा पुगेर लक्षित वर्गभन्दा बाहिरकाले खोप लगाएको पाइएको छ । शुक्रबारबाट सुरु भएको भेरोसेल खोपको पहिलो डोज उपमेयरकै कार्यकक्षबाट दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले नै लामाको पहुँचका आधारमा उनका आफन्त र कार्यकर्तालाई खोप उपलब्ध गराएको एक कर्मचारीले जानकारी दिए । आफू चेम्बरमा नभएका बेला कस–कसले खोप लगाए भन्नेबारे थाहा नहुने उनले प्रतिक्रिया दिइन् ।
यता, उपमहानगरका मेयर हरिबहादुर महतले पनि उपमहानगरपालिकाबाट खोपको दुरुपयोग भएको स्वीकार गरेका छन् । उपमहानगरको लेटरप्याडमा सिफारिस गर्ने अधिकार आफ्नो मात्र रहेको उनको भनाइ छ ।
उपमेयर लामाले भने कार्यालयका कर्मचारीले खोप लगाएको दाबी गरेकी छिन् । तर, उपमेयरको कार्यकक्षमा भरिएको खोप कार्डमा भरिएका नाममध्ये अधिकांश लक्षित वर्गभन्दा बाहिरका छन् । १८ वर्षमाथिका उमेरका हेटौँडाका स्थानीयको नामसहितको विवरण बाहिरिएको छ ।
सिडिओ भन्छन्– तीन दिनभित्र खोप विवरण सार्वजनिक गर्छौं
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तीन दिनभित्र खोपको सबै विवरण सार्वजनिक गर्न जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरलाई निर्देशन दिएका छन् । खोपको चरम दुरुपयोग हुँदासमेत प्रशासन मौन रहेको बारे प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई जानकारी नै नदिई स्वास्थ्य कार्यालयले आफूखुसी खोप व्यवस्थापन गरेको पाएँ । स्वास्थ्य कार्यालयका कारण खोपमा दुरुपयोगको गुनासो आएको छ ।’
आफूले लक्षित वर्गबाहेककालाई लगाइएको गोप्य खोपको विवरण तीन दिनभित्र पेस गर्न निर्देशन दिएको उनले बताए । उनले भने, ‘उमेर समूहभन्दा बाहिर कसैले खोप लगाएको छ भने जसले लगाएको छ, उसैले कारबाही भोग्छ ।’ उपमेयरको कार्यकक्षमा भ्याक्सिन दुरुपयोग भएको स्वीकार गर्दै उनले उपमेयरसँग लिखित जवाफ मागेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।