‘रक स्टार’ बन्ने रहर बोकेकी मेनुका

रङ्गमञ्च हुँदै नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन्, मेनुका प्रधान । थोरै चलचित्रमा मात्रै अभिनय गर्ने यी अभिनेत्री हरेक भूमिकालाई न्याय दिन सक्ने कलाकार हुन् । आफैंले निर्वाह गरेका केही पात्र मेनुकाको मथिङ्गलमा घुमिरहन्छन् । कुन चलचित्रमा निर्वाह गरेको कुन भूमिकालाई कसरी लिएकी छन् मेनुकाले ? उनसँगको पात्र संवाद :

नाम दिने पात्र

नेपाली चलचित्र ‘एक दिन एक रात’बाट मैले मेरो फिल्मी यात्रा सुरु गरेकी हुँ । करिअर सुरु भए पनि यो चलचित्रको चरित्रले मलाई यो उद्योगमा स्थापित गराउन त्यत्ति ठूलो भूमिका खेलेन । चलचित्र ‘भिसा गर्ल’मा निर्वाह गरेको भूमिकाले भने मलाई दर्शक र फिल्म निर्माता-निर्देशकको आँखामा पार्न सफल भयो । फिल्ममा पाटन बस्ने सोझी नेवार्नी केटीको चरित्र निर्वाह गरेकी थिएँ ।

हुन त यसमा मेरो भूमिका छोटो थियो । तर, त्यसैले फिल्म क्षेत्रमा मेनुका प्रधान नाम गरेकी कलाकार छ, जसले राम्रो अभिनय गर्न सक्छे भन्ने बनायो । यो चरित्र निर्वाह गर्न मलाई निक्कै गाह्रो पनि भएको थियो । खासमा म चञ्चले छु, तर त्यो भूमिकाका लागि मैले आफूलाई निकै कन्ट्रोल गर्नुपर्‍यो । बाहिर सोझी, घरमा आफ्नो काम सबै गर्ने टिपिकल केटीको भूमिकामा काम गर्नुपरेको थियो । त्यसबेला मलाई निर्देशकले धेरै सहयोग गर्नुभयो ।

रमाइलो पात्र

चलचित्र ‘रेशम फिलिली’मा काम गर्दा निक्कै रमाइलो भएको थियो । फिल्म सुटिङ चलिरहेको थियो । निर्देशकले मलाई आफैंले एउटा डाइलग थप्न लगाउनुभयो । मैले बोलेको सुनेर सेटमा रहनुभएका सबै हाँस्नु भयो । म नर्भस भएँ । तर, पछि त्यही डाइलग फिल्ममा राखिएछ ।



गाह्रो पात्र

‘पुरानो डुङ्गा’को पानीमा डुब्ने भूमिका गर्न साह्रै गाह्रो भयो । त्यो सिनमा पानीमा डुब्नु मात्रै थिएन, पौडिन नसकेर, सास नपुगेर डुबी मरेको अभिनय गर्नुपर्ने थियो । त्यो भूमिका गर्न म निक्कै डराएकी पनि थिएँ । खोक्नु पनि पर्ने, डुब्नु पर्ने र स्वास फेर्न नपाइने सबै कुरा एकै पटक गर्नु पर्‍यो । सुटिङको समय जाडो महिनामा थियो । मानसिक रूपमा म यो सिन गर्न सक्दिनँ भन्ने नै थियो । तर, गरेँ र मेरा दर्शक र फ्यानले लामो समयसम्म मलाई सम्झने क्यारेक्टर ‘मनमाया’ बन्यो ।



आफैंलाई मन नपरेको पात्र

हरेक फिल्मको क्यारेक्टरमा पछि हेर्दा केही कमी रहेजस्तो लाग्छ । राम्रो गरेर पनि पछि हेर्दा नराम्रो लागेको ‘रेसम फिलिली’मा सुनिताको क्यारेक्टर हो । फिल्म सुटिङको समयमा निक्कै मिहिनेत गरेको जस्तो महसुस भएको थियो । फिल्म हेर्दा त अझै धेरै राम्रो काम गर्न सक्थें भन्ने भयो । यही फिल्ममा निर्वाह गरेको भूमिकालाई लिएर धेरैले मलाई ‘ब्यालेन्स हाल्दिने दाइ’ भनेर जिस्क्याए । त्यो फिल्ममा मैले फन्की खालको केटीको भूमिका निर्वाह गरेकी छु ।

सन्देश दिने पात्र

चलचित्र साइँलीको ‘साइँली’ क्यारेक्टरले समाजको मानसिकतालाई परिवर्तन गर्न केही भूमिका खेल्यो कि भन्ने लाग्छ । मनमा लागेको कुरा निर्धक्क भन्न सक्ने साइँलीको स्वभावसँग आकर्षित भएर नै यो चलचित्रमा काम गरेको थिएँ । हाम्रो समाजमा अझै पनि छोरी चेलीहरूले आफ्नो मनको कुरा निर्धक्क भन्न कहाँ सक्छन् र ।

चलचित्र ‘गाजलु’मा समाजसेवीका रूपमा प्रस्तुत भएकी छु । त्यसले समाजमा थोरै भए पनि परिवर्तनको छाप छाड्न सक्यो होलाजस्तो लाग्छ । नत्र समाज परिवर्तनकै लागि भनिने भूमिका निर्वाह गर्न पाएको छैन । हरेक चलचित्रमा केही न केही सन्देश त हुन्छ नै ।

मन छ

उमेर अनुसार मान्छेको रहर परिवर्तन हुने रहेछ । मेरो पनि अहिले रहर परिवर्तन भएको छ । ‘रक स्टार’को भूमिका गर्न रहर छ । यस्तो खालको भूमिका पाए भने अझ राम्रो काम गर्न सक्छु जस्तो लाग्छ । तर, उसको ‘साइकोलोजिकल जर्नी’ होस् ।

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १३:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया