कोरोनापछिको विश्व अर्थतन्त्रमा कस्तो परिवर्तन आउन सक्छ ?

केही समयअघि चीनका राष्ट्रपति सी चिनपिङले कुनै मुलुकको नाम नलिई अमेरिकालाई टाउको दुख्ने गरी एउटा अभिव्यक्ति दिएका थिए । जसमा उनले विश्वमा कायम आर्थिक र सैन्य प्रभुत्वको भत्सर्ना गर्दै भनेका थिए, ‘अब अन्तर्राष्ट्रिय मामिला कुनै एक मुलुकले होइन, सबैले परिचालन गर्नुपर्छ ।’ 

यो भनाइ सार्वजनिक हुनासाथ एउटा बहस अन्तर्राष्ट्रिय रूपमा चलेको छ, के अब विश्वको अर्थ प्रणालीमा परिवर्तन आएको हो ? वा कोभिड १९ पछिको विश्व अर्थ प्रणाली नयाँ ढंगले चल्ने निश्चित भएको हो ?

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहेका बेला सो मुलुकले चीनविरुद्ध निकै कडा र आक्रामक आर्थिक नीति अवलम्बन गर्‍यो । चिनियाँ कम्पनी हुवाइको खेदो खन्न कुनै कसर नराखेको अमेरिकाले चीनसँगको आपूर्ति प्रणालीलाई नै तहसनहस पार्न खोजेको थियो । त्यही अवस्थालाई चित्रित गर्दै चिनियाँ राष्ट्रपति सीले भनेको हुन्, ‘अब कुनै एक वा केही मुठ्ठीभर राष्ट्रले तयार गरेको तरिकाबाट विश्व चल्दैन ।’ 

रोचक कुरा त यो छ कि, राष्ट्रपति सी को यस्तो कथन अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री योसिनिदे सुगाले साउथ चाइना सीमा चीनले गरिरहेको बल प्रयोगविरुद्ध एकजुट भएर काम गर्ने घोषणा गरेको दोस्रो दिन आएको हो ।

तर, राष्ट्रपति सीले आर्थिक विषयलाई निकै जोडतोडका साथ उठान गरेको सो मन्तव्य पछि विश्लेषकहरूले खोजी गरिरहेका छन् कि कोरोना पछिको अवस्थामा विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका राष्ट्रको सूची कस्तो होला ? यस सम्बन्धमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकलाई आधार बनाएर सिएनबिसीले एउटा प्रक्षेपण गरेको छ ।

सो प्रक्षेपणअनुसार विश्वका दश ठूला अर्थतन्त्रको सूचीमा सायद कोरोना कालपछि पनि त्यति ठूलो परिवर्तन आउने छैन । किनकि अहिले पनि अमेरिका, चीन, जापान, जर्मनीजस्ता शक्तिशाली मुलुक नै चम्किरहेका छन् । 



त्यसो त दश ठूला अर्थतन्त्रको सूचीमा पर्दै आएको ब्राजिलले कोरोनाकलामा नै आफ्नो स्थान गुमाइसकेको छ । सन् २०१९ मा ९ औं ठूलो अर्थतन्त्र भएको मुलुकको पहिचान राखेको ब्राजिल अहिले त्यो सूचीको १२ औँ नम्बरमा झरेको छ । यसरी दक्षिण अमेरिकी पावर हाउसले आफ्नो स्तर गुमाउँदा एसियाली मुलुक दक्षिण कोरियाले ठूला अर्थतन्त्र देशको सूचीमा छिर्ने मौका पाएको छ ।

यता ब्राजिलले तुरुन्तै आफूलाई उठान गरिहाल्ने अवस्था देखिँदैन । किनकि अहिले पनि ब्राजिल कोरोनाको उच्च चपेटामा परिरहेको छ । यद्यपि, आइएमएफले भने सन् २०२१ मा ब्राजिलको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । 



उता ब्राजिललाई पछि पार्दै अगाडि बढेको दक्षिण कोरियाले सन् २०२६ सम्म आफूलाई शक्तिशाली अर्थतन्त्र भएको देशको १० औं सूचीभित्र अड्याउन सक्ने आइएमएफले जनाएबाट के देखिन्छ भने अहिलेको जे जस्तो विश्व अर्थ व्यवस्था छ त्यसमा केही वर्ष खासै ठूलो परिवर्तन हुने छैन । 

विश्व बजारमा अहिले अभाव देखिएको सेमी कन्डक्टर चिप्सको व्यापारबाट दक्षिण कोरियाले राम्रै सम्पत्ति आर्जन गर्ने देखिन्छ । कोरोना महामारीले विस्तार गरेको कम्प्युटर, ट्याब्लेट, ल्यापटप लगायतका वस्तुमा प्रयोग हुने यो चिप्सको व्यापार यसबीच निकै तीव्र गतिले फस्टाएको छ ।

सन् २०१४ यता अहिले कम्प्युटर जन्य वस्तुको माग सर्वाधिक भएको समय हो । जसमा भर्चुअल मिटिङका लागि आवश्यक पर्ने वेबक्यामको समेत ठूलो हिस्सा छ । त्यसो त चीनले पनि यस्तै चिप्सको व्यापार र निर्माणबाट मनग्य आम्दानी गरिरहेको छ । चीन  सरकारले चिप्सको व्यापारमा प्रत्यक्ष निगरानी र नियमन समेत गर्दै आएको छ । 

उता, सन् २०१९ मा विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक भारत अहिले कोरोनाको अकल्पनीय चपेटामा छ । तैपनि भारतले आफ्नो स्तरलाई कायमै राखेर छैटौँ स्थानमा रहेको बेलायतलाई अघि बढ्न नदिने आइएमएफको प्रक्षेपण छ । आइएमएफका अनुसार सन् २०२३ सम्म भारतले हालको आफ्नो स्थान कायमै राख्ने छ भने आर्थिक वृद्धिदरमा पनि त्यति ठूलो क्षति व्यहोर्ने छैन । 

यसरी समग्रमा भन्दा यतिबेला विश्वमा जुन प्रकारको अर्थतन्त्र कायम छ त्यो तुरुन्तै फेरबदल हुने छैन । कोरोना पछिको विश्व अर्थ प्रणाली केही वर्षसम्म त्यस्तै नै रहनेछ । जस्तो सन् २०१९ मा थियो । 

तथापि एसियाली मुलुक चीन, भारत र अन्य उदीयमान एसियाली अर्थतन्त्रको प्रभाव भने विश्व अर्थ प्रणालीमा भिन्नै रहने निश्चित छ । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले धेरै हदसम्म आफ्नो चीन नीति ट्रम्प प्रशासनको भन्दा खासै फरक नहुने बताएबाट पनि यस्तो स्थितिको अनुमान लगाउँन सकिन्छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १६:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया