कर्णालीमा निष्कासित चार सांसद एमालेमै फर्किए, मुख्यमन्त्री शाही अल्पमतमा!
कँडेलले भने : एउटा दलको सदस्यले अर्को दलको सेवा गर्न मिल्दैन

एमालेबाट निष्कासित चारजना सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि कर्णाली प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले एमालेका ४ सांसदलाई पुनर्बहाली गरेर उनीहरु एमालेमै फर्किएको पत्र सभामुख राजबहादुर शाहीले प्रदेशसभाको आजको बैठकमा बाचन गरेर सुनाए। 

उनले प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद पुनर्बहाली गरिदिएपछि माओवादीबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन्। यद्यपि कर्णालीमा कांग्रेस र माधव नेपाल पक्षका चार सांसदले साथ दिएका छन्। 

सभामुखले शाहीले सर्वोच्चको आदेश अनुसार चार सांसद पुनर्बहाली भएर एमाले संसदीय दलका सदस्यका रुपमा फर्किएको पत्र पढेर सुनाएपछि मुख्यमन्त्री शाहीलाई अफ्ठ्यारो परेको छ। यो सँगै प्रदेशसभामा रहेका ४० सांसदमध्ये एमाले एक्लैका १९ जना कायम भएका छन्। एमालेसँग सभामुख शाही पनि रहेका छन्। 

कर्णालीमा माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्। राप्रपा यसअघि तटस्थ बसिसकेको छ। चार सांसद एमालेमा कायम भएपछि १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा परेका छन्। प्राविधिक रुपमा अल्पमतमा परेपछि उनलाई अफ्ठ्यारो परेको छ।

अब शाही सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गराउन एमालेका तिनै सांसदले फ्लोर क्रस गरिदिनुपर्ने छ। एमालेले निष्कासित गरेपछि अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा कर्णाली सरकारको मन्त्री बनेका थिए। 

सभामुखले चार सांसद एमालेमै कायम भएको पत्र पढेपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले शाही सरकारमाथि अनेक प्रश्न गरे। उनले एमालेका सांसदलाई चोर बाटोबाट टिपेर सरकार चलाउने कुरा अब नस्विकारिने बताए। उनले बाटो बाटोबाट टिपेर सरकार चलाउने आँट नगर्न पनि चेतावनी दिएका छन्। 



उनले एउटा दलको सदस्य भएर अर्को दलको सेवा गर्ने काम बन्द हुनुपर्नेमा जोड दिए। 'एउटा दलको सदस्य भएर अर्को दलको सेवक हुने कुरा मान्य हुँदैन', उनले भने, 'यसबारेमा छलफल हुनुपर्छ। चाँडै यसको समाधान खोजियोस् नत्र समस्या हुन्छ।'



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १६:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया