देशभर लागू भएको निषेधाज्ञा कार्यान्वयन गराउने सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ३५९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मध्ये ६५४ वटा गाडी र १ हजार ७०५ मोटरसाइकल रहेको प्रहरीले सोमबार जनाएको छ । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात् छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २२५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ९९९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४९२ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४९ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ३ हजार ८ सय ६१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ८८० जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।