नेपाल समूहका प्रभावशाली नेता आफ्नो समूहमा आउने ओली समूहको विश्वास

नेकपा (एमाले) मा जारी विवाद तत्काल अन्त्य हुने सम्भावना देखिँदैन । प्रदेश र विभिन्न जिल्लाहरुमा पछिल्लो समय एमाले नेताहरु एकै ठाउँमा उभिएपछि फुटको संघारमा पुगिसकेको एमाले फेरि एक हुन सक्ने अनुमान गर्न थालिएको छ ।

तर, केन्द्रमा यसअघि नै विभाजनका लागि प्रयास गरिएको तथा कदमहरु चालिएकाले अहिले नै एमालेको एकता सम्भव नदेख्नेहरु पनि नभएका होइनन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच तत्काल वार्ताको वातावरण बन्ने सम्भावना पनि कम देखिन्छ । यी दुई नेताले अहिले पनि एक अर्कालाई कुनै ‘स्थान’ दिएका छैनन् ।

तर, पछिल्लो समय देखिएका केही घटनाक्रमले एमालेमा देखिएको विवाद साम्य हुने प्रक्रियामा रहेको अनुमान पनि गरिएका छन् । गण्डकी प्रदेशमा माधवकुमार नेपाल पक्षका एक मात्र सांसदले ओली पक्षधर पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नै विश्वासको मत दिनु, कर्णाली प्रदेशमा यसअघि कारवाहीमा परेका चारै सांसद एमालेमा फर्किनु, एमाले उपाध्यक्ष वामदेव गौतम निरन्तर वार्तामा हुनु र माधव नेपाल पक्षधर केही नेताहरुले ओलीबारे पछिल्लो समय नरम अभिव्यक्ति दिनुलाई एमाले वृत्तमा सकारात्मक ढंगमा लिइएको छ ।

बागमती प्रदेशमा पनि सरकारको आगामि वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्दा पनि नेकपा एमालेका दुवै पक्ष एक ठाउँमा उभिएका थिए । बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल पक्षधर अष्टलक्ष्मी शाक्य दुवैले नीति तथा कार्यक्रम पारित गर्न ह्विप जारी गरेका थिए ।

‘विवादहरु समाधान होलान् या नहोलान् तर एमाले एक हुनसक्ने सम्भावना अहिले पनि रहेको छ,’ सोमबार ललितपुरको एक रेष्टुरेन्टमा भेटिएका ओली पक्षधर प्रभावशाली नेताले भने, ‘अध्यक्ष कमरेडले केही दिनअघि सार्वजनिक गर्नुभएको ६ बुँदे प्रस्ताव पनि यसको मिलनविन्दू हुनसक्छ ।’



ओलीका विश्वासपात्रमध्ये एक मानिने ती नेताले फरकधारलाई एमालेको एकता नभएको खण्डमा अहिले माधव पक्षमा रहेका केही नेताहरु ओली पक्षमा आउने सम्भावना निकै बढेको बताएका छन् ।

उनका अनुसार नेकपा नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य ओली समूहमा आउने लगभग पक्का भइसकेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई विस्तार गर्दा भट्टराई निकट मानिने गणेश पहाडीले पनि जिम्मेवारी लिएपछि भट्टराई ओली पक्षमा आउने लगभग निश्चित भएको बुझाइ छ ।



आफू पदका लागि मात्र ओली पक्षमा लागेको भन्ने सन्देश जाने भएकाले भट्टराईले यसपटक मन्त्रिपरिषद्मा सहभागिता नजनाएको हुनसक्ने पनि उनको अनुमान छ । ‘उहाँको धार मन्त्रिपरिषद्मा देखिएपछि उहाँ पनि यो सरकारमा हुनुहुन्छ भन्ने बुझ्नु पर्छ,’ ती नेताले भने, ‘यसले गर्दा अब एमालेमाथि जुन आक्षेप र आशंका देखिएको थियो, त्यसमा विस्तारै पूर्णविराम लाग्ने छ ।’

भट्टराईले आफूलाई ओली पक्षधरको समर्थनमा लगेपछि उनीसँग नजिक घनश्याम भुसाल पनि आफ्नो समूहमा आउने ओली पक्षधरको विश्वास रहेको छ । यसअघि नै सुरेन्द्र पाण्डे र गोकर्ण विस्टले पनि ओलीका कदमप्रति सकारात्मक टिप्पणी गरिसकेका छन् । त्यसैले यी दुई नेता पनि अन्ततः आफ्नो पक्षमा आउने ओली समूहले विश्वास लिएको छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २१:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया