कोरोना महामारीका बेला राजा, महाराजाको झल्को दिने मन्त्री दम्पतीको भ्रमण

नेपाल अहिले कोरोना संक्रमणको उच्च जोखिममा छ। संक्रमण रोक्नका लागि भन्दै देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुन रोक लगाएको छ। अर्कोतर्फ सरकारकै मन्त्रीहरुको आतिथ्यमा सभा, सम्मेलनको आयोजना गरी कोरोना फैलाउने काम भइरहेको छ।

सरकारको निषेधाज्ञालाई भर्खरै संघीय सरकारको उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नियुक्त भएका रघुवीर महासेठले धज्जी उडाएका छन्। धनुषा जिल्लामा पनि एक महिनाभन्दा लामो समयदेखि निषेधाज्ञा कायम छ ।  तर मन्त्री दम्पतीको आतिथ्यमा धनुषामा हजारौंको सहभागितासहित शिलान्यास र चियापान कार्यक्रम सम्पन्न गरिएको छ।

नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका महासेठ उपप्रधान तथा परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि चार दिनसम्म गृह नगरको भ्रमण गरे। तामझामसहित मन्त्री दम्पतीले शिलान्यासदेखि कार्यकर्ता भेलासम्म गर्न भ्याए। मन्त्री महासेठ सपथग्रहणलगतै काठमाडौंबाट गृहनगर जनकपुरधाम आएका थिए।



उनको गृहनगर मिथिला विहारी नगरपालिकामा सरकारी स्तरबाटै खर्च गरेर निकै तामझामका साथ मन्त्री महासेठलाई स्वागत गरियो। नगरपालिकाको कार्यालय अगाडिदेखि उनको गाउँका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको थियो। नगरपालिकाले लाखौं खर्चेर बनाउन लगाएको स्वागतद्वारमा मन्त्री महासेठ तथा उनकी पत्नी पूर्वमन्त्री जुलीकुमारी महतोको तस्बिर राखिएको थियो। मिथिला विहारी नगरपालिकाका मेयर अनिल यादवले मन्त्रीलाई खुसी पार्न चाकडीको हद पार गरेको देखिन्थ्यो।



कोरोना महामारीको बेलामा मन्त्री दम्पतीको स्वागतका लागि गरिएको यो तामझाम देखेर नगरका स्थानीय नै चकित परे महामारीको समयमा मन्त्रीकै अगुवाइमा यस किसिमको काम हुनु निकै अशोभनीय भएको टिप्पणी स्थानीयले गरे।

नवधानढ्य समेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठ मन्त्री दम्पतीको आवागमन र स्वागतमा देखिएको दृश्यले राजा महाराजाहरू झझल्को दिएको चर्चा भयो।  

महासेठले गृहनगरको स्वागत ग्रहण गरेपछि धनुषा जिल्लाका विभिन्न कार्यक्रममा सरिक भए। विभिन्न ठाउँमा  मन्त्री दम्पतीले संयूक्त रुपमा शिलान्यास गरे।

उनीहरुले कोरोना महामारीको बेलामा सयौँ कार्यकर्ता जम्मा गरेर चियापान कार्यक्रम गरे। धनुषाको ललिया–उतिमपुर नदीको पुल, कासीपुर–कजरा नदीको पुल र इनरुवा–सबैला बीचमा रहेको नदीमा निर्माण हुन लागेको पुलको शिलान्यास मन्त्री दम्पतीले गरे।

मन्त्रीको आगमनमा यसरी नगरपालिकाकै नाममा स्वागतद्वार बनाउने काम गलत भएको मिथिला विहारी नगरपालिकाका कार्यपालिका सदस्य रामउदगार दास बताउँछन्। उनले स्वागतद्वारमा नगरपालिकाको नाम र स्रोत साधनको दुरुपयोग गरिएको आरोप लगाए। 

स्वागतद्वारको नाममा नगरपालिकाले एक रुपैयाँ पनि खर्च गर्ने अधिकार नभएको उनको दावी छ।  'अहिले महामारीको समयमा प्रशासनले सर्वसाधारणलाई अतिआवश्यक कामबाहेक हिँडडुल गर्न दिएको छैन। भीडभाड गर्न दिइएको छैन' दास भन्छन्, 'अति आवश्यक कामहरु समेत गर्न सकिरहेका छैनौं। तर मन्त्रीहरु आएर कसरी भीडभाड गरे। के हाम्रो लागि नै हो कानुन र शासन?' 

मन्त्री महासेठले भने आफूले कुनै गल्ती नगरेको र आलोचना गर्नेहरुले आलोचनाकै लागि यसलाई इस्यु बनाएको जिकिर गरे।  

संक्रमण रोक्न भूमिका खेल्नुपर्ने, भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, प्रशासनले लगाएको निषेधाज्ञा पालना गराउनु पर्ने मन्त्री तथा स्थानीय सरकारका प्रतिनिधि नै संक्रमण फैलाउने काममा लागेको आरोप स्थानीयको छ।

 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार ७:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया