कर्णाली प्रदेश : एमाले दलको बैठकमा प्रकाश ज्वाला गए, तीन मन्त्री गएनन्

कर्णाली प्रदेशमा नेकपा एमालेले आफैं सरकार निर्माण प्रयास थालेको छ। माओवादी नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि नयाँ सरकार बनाउने गरी एमालेले छलफल थालेको हो। 

नयाँ सरकार निर्माण, नीति तथा कार्यक्रम र बजेटलाई लिएर अहिले सुर्खेतमा एमाले संसदीय दलको बैठक बसिरहेको छ। दलका नेता यामलाल कँडेलको आह्वानमा डाकिएको बैठकमा यसअघि फ्लोर क्रस गरेर निष्कासित नेता प्रकाश ज्वाला सहभागी भएका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

बैठक आह्वान गरिएपछि दलका नेता कँडेलले ज्वालासहित सर्वोच्च अदालतबाट सांसद पद फिर्ता भएका चारै जनालाई सहभागी हुन आग्रह गरेका थिए। तर आज एमाले दलको बैठकमा माधव नेपाल समूहका प्रकाश ज्वाला मात्रै सहभागी भएका छन्। 

एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीन जनालाई शाहीले मन्त्री बनाएका थिए। शाही सरकारमा मन्त्री रहेका एमाले सांसदहरु अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी छैनन्। 

हिजो मात्रै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले ती तीनैजना मन्त्रीका लागि संसदमा पनि प्रतिपक्षीकै लहरमा कुर्सी व्यवस्थापन गरिदिएका थिए। सांसद पद फर्किएपछि एमालेले उनीहरुलाई पदबाट राजीनामा दिएर आउन भनेको छ। 

तर उनीहरुले नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीको मात्रै कुरा मान्ने अडान लिएका छन्। तीनै मन्त्रीले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित नगरी बैठकमा नजाने निर्णय गरेका छन् ।



नयाँ सरकार

एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया थालेको छ। प्रदेशसभामा स्पष्ट बहुमत रहेको एमालेले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई बिदा गरेर नयाँ सरकार गठनका लागि कोसिस थालेको हो। 



सर्वोच्च अदालतले माधव नेपाल समूहका चार जना सांसदलाई पुनर्बहाली गरेपछि प्रदेशसभामा एमालेको एकल बहुमत भएको छ। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरेको पत्र पढेर सुनाएका थिए ।

यससँगै एमालेका सांसद ज्वाला, थापा, शाही र बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा फर्किएका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेसँग सभामुखसहित २० जना सांसद छन्। यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। अहिले मुख्यमन्त्री शाहीलाई कांग्रेससहित १८ जना सांसदको समर्थन छ।

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १२:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया