‘खेत र माछा फार्म बग्यो, हजुरआमा हराउनु भो, माथिबाट हेर्दैछौँ, घर चाँही ठाडै देखिन्छ'

मेलम्ची खोलामा एक्कासी आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पर्ने नदी किनारका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।  हेलम्बु गाउँपालिका–३ मा पर्ने चनौटे बजार बाढी पहिरोबाट सुरक्षित ठाउँ मानिन्थ्यो ।

तर मंगलबार साँझ एक्कासी मेलम्ची नदी चनौटे बजारबाट बग्न थाल्यो । त्यो बाढीले बजार क्षतिग्रस्त बनाएको छ । 

चनौटे बजारमा घर भएका दीपकिरण खड्का मंगलबार साँझ आफ्नो ट्राउट माछा फार्ममा खटिरहेका थिए । वर्षाका कारण आएको भेलले उनको माछा पोखरीमा बालुवा पसेको थियो । बालुवा निकालेर माछा जोगाउनका लागि उनी निरन्तर लागिरहेका थिए  । 

मंगलबार दिउँसो माछा फार्ममा पसेको बालुवा निकाल्दै दीप किरण ।

साँझ करिब ६ः४० बजेतिर खबर आयो चनौटे बजार भन्दा केही माथि रहेको तिम्बुमा बाढी आयो । दीप माछा फार्ममै खटिरहेकाले मोबाइलतिर ध्यान लगाउन पाएनन् । ‘म माछा बचाउन लागिरहेको थिएँ । बाढी आउला भन्ने लागेकै थिएन’ दीपले भने–तिम्बुमा बाढी पस्यो भन्ने खबर भएपछि ५–७ मिनेटमै आइहाल्यो।’ चनौटे बजारबाट तिम्बु ८ किलोमिटर माथि  पर्छ।



उनको घर अलिकति माथि थियो, उनका काकाको घर अलि तल ।  दीपका काकाहरु भाग्दा-भाग्दै बाढीले भेट्यो । बल्ल–तल्ल  काकाहरू उम्किएको उनले बताए । 



दीपकी माइली हजुरआमा टिका देवी खड्का वेपत्ता छिन् । उनी भाग्दा अलि लामो बाटो प्रयोग गरेकाले जोगिन नसकेको दीपले जानकारी दिए । 

बाढीले सर्वस्व गुम्यो

दीपका बुबाले १५ वर्ष अगाडि सिन्धुपाल्चोकमै पहिलो पटक ट्राउट माछा पालन सुरु गरेका थिए। उनका बुबा रामबहादुर खड्डा बितेको आज २४ दिन मात्रै भएको छ । अहिले पनि दीपको ट्राउट माछाको ठूलो फार्म थियो । उनीहरुको माछा फार्म रहेकैले त्यो ठाउँको नाम नै माछापालन रहन पुगेको थियो । त्यसको अब नाम निशाना छैन । ट्राउट माछाका लागि चनौटे बजार प्रख्यात थियो । धेरै माछा फार्म थिए । कसैका पनि माछा छैनन् ।

दीपकिरणले दिएको जानकारी अनुसार उनको फार्ममा २० हजार ट्राउट माछाका भुरा थिए । त्यो बढेर दशैँतिहार तिर करिब ३०– ४० लाखको माछा हुनेवाला थिए । बेच्ने बेला भएका ७–८ लाखका माछा थिए। 

केही दिनअघि माछा फार्ममा काम गर्दै दीप किरण ।

दीपको परिवारको मात्रै १५ रोपनी खेत बगाएको छ । उनका काका हजुरबाहरुको पनि धेरै क्षति भएको छ । दीपका काकाको सुन लत्ताकपडा, नगद सबै बाढीले बगाएको छ । दीपको हजुरबाहरुको घर चनौटे बजार भन्दा अलिमाथि सेरामा हो । उनका बुबा भने बजारमै व्यवसाय गर्ने भएकाले पहिलेदेखि तलै घर बनाएर बसेका थिए । 

मंगलबार साँझ नै भागेर माथि कान्छा हजुरबाको घरमा पुगेका दीप र उनको परिवारले बाढीको बीचमा उभिएको आफ्नो घर हेरेर रात बितायो । बिहानभरी पनि उनका आँखा घरतिरै छन् ।  माछा फार्म, खेत सबै गायब भए । उनको घर भने ठिंग उभिएको माथिबाट हेरिरहेका छन् दीप । भूकम्पपछि माटो र ढुंगाले बनाएको उनको घरको आगनबाटै अहिले खोलो बगिरहेको छ । घरलाई बाढीले हानेकोहान्यै छ ।  तलको बाढीको प्रभावले गर्दा माथिका घरहरु समेत ४ रेक्टरको भूकम्प आएजस्तो हल्लिइरहेको दीपले सुनाए। 

बाढीको बीचमा दीप किरणको घर ।

के गर्ने कसो गर्ने केही सोच्न सक्ने अवस्था नरहेको दीप बताउँछन् । ‘अहिले ज्यान जोगाउनु नै मुख्य कुरा भएको छ । अरु कुरा सोच्ने अवस्था छैन’ उनले भने। उनको कुटानी पिसाने मिल र भैँसी भने सुरक्षित छ । 

दीपकिरणले पाएको जानकारी अनुसार उनकी हजुरआमासहित त्यस क्षेत्रका ६ जना बाढीमा वेपत्ता छन् । हराउने अन्यमा ट्राउट माछा फार्मका साहु र कामदारहरु हुन् । 

चनौटे बजारबासीहरु अहिले माथि फाँटतिर बसिरहेका छन् । बाढीले बजारका पक्की घरहरु पनि डुबेका छन् । बुधबार मध्यान्हतिर पानी पर्न रोकिएको छ । खोला भने कहिले बढ्ने कहिले घट्ने भइरहेको दीपले जानकारी दिए । वरपरका खोला आसपासका क्षेत्रमा पहिरो गइरहेको छ । बिजुली नभएकाले प्रायजसोका मोबाइल अफ छन् । 

बाढीको बीच परेको आफ्नो घर माथिबाट हेर्दै बसेका दीप किरण ।

पहिले भन्दा पारिबाट खोला केही सरेको थियो । क्रसर उद्योगले खनेका कारण खोला झन गहिरो भइरहेकाले माथिसम्म बाढी आउला भन्ने कसैले कल्पनै गरेका थिएनन् । सयौँ वर्षदेखि बस्ती रहेको त्यो ठाउँ सुरक्षित मानिन्थ्यो । आफ्नो जीवनकालमा कहिल्यै नदेखेको विनाश देख्नु परेको बूढापाका हरु बताइरहेका छन् । 

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १२:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया