पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा विश्वकै धेरै फ्यान, फलोअर्स भएका एकजना सेलिब्रेटी हुन्। उनको कुनै पनि एक कदमले सजिलै उथलपुथल ल्याइदिन सक्छ। यस्तै उथलपुथल र आँधीबेहेरी रोनाल्डोले विश्वकै सबैभन्दा धेरै बिक्ने भनिएको कोकाकोला कम्पनीमा ल्याइदिएका छन्।
विश्व चर्चित पेयपदार्थ कोकाकोलाले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका कारण एकै दिन चार खर्ब ६९ अर्ब रुपैयाँ घाटा व्यहोर्नु परेको छ। कोकाकोलाले एकै दिन साढे ४ बिलियन डलरको सेयर मूल्य गुमाएको हो।
यस्तो ठूलो घाटा कोकाकोलाले रोनाल्डोले दुईवटा बोतल हटाइदिँदा ब्यहोरेको हो। पोर्चुगलका कप्तान रोनाल्डोले सोमबार युरो कपअन्तर्गत हंगेरीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनका क्रममा मञ्चमा राखिएका कोकाकोलाका दुईवटा बोतल हटाएर पानीको बोतल राखिदिएका थिए।
युरोकपका क्रममा लिइएको रोनाल्डोको यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि कोकाकोलाको सेयर मूल्यमा पहिरो नै गएको छ। रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा आफूलाई शारीरिक रुपमा तन्दुरुस्त राखिरहन कोकाकोलाको सट्टा पानी पिउन सल्लाह दिएका थिए। यहीकारण कम्पनीले अहिलेसम्मकै ठूलो क्षति व्यहोर्नु परेको हो।
Cristiano Ronaldo qui déplace les bouteilles de Coca et qui dit "eau" en montrant aux journalistes 😭😭😭 pic.twitter.com/LaDNa95EcG
— Gio CR7 (@ArobaseGiovanny) June 14, 2021
रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाइदिएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा भारी गिरावट आएको हो। यसअघि कोकाकोलाको एक कित्ता सेयर ५६.१० डलर (५ हजार ६० रुपैयाँ) मा किनबेच भइरहेको थियो। रोनाल्डोको यो कदमपछि कोक कम्पनीको सेयर १.६ अंकले घटेर ५५.२२ (४ हजार ९७९ रुपैयाँ) मा कारोबार भइरहेको छ। यस्तै कोकाकोलाको नेट वर्थ २४२ बिलियन डलरबाट झरेर २३८ बिलियन डलरमा खुम्चिएको छ।
युरो कपको मुख्य प्रायोजक कोकाकोलाले रोनाल्डोको यो कदमपछि विज्ञप्ति निकालेर हरेक व्यक्तिले आफ्नो स्वाद र आवश्यकता अनुसार पेय पदार्थ रोज्न पाउने तर्क गरेको थियो। उसले खेलाडीलाई पत्रकार सम्मेलन कक्षमा आउँदा पानीसँगै कोकाकोला र कोकाकोला जिरो सुगर दिने गरिएको जनाएको छ।
कोकाकोला युरो २०२० को आधिकारिक प्रायोजकमध्ये एक भएकाले बोतल टेबलमा मार्केटिङका लागि राखिएको हुन्छ। रोनाल्डो सामाजिक सञ्जालमा एकदमै चर्चित छन्। इन्स्टाग्राम उनका लगभग ३ करोड फलोअर्स छन्।
युरोकप प्रतियोगिताको मुख्य प्रयोजक कोकाकोला रहेको छ। रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा मंगलबार राति भएको खेलमा हंगेरीमाथि ३-० को सहज जित निकाल्दै पोर्चुगलले युरो कपमा सानदार सुरुवात गरेको छ । पोर्चुगलको जितमा रोनाल्डोले २ र राफेल गुरेरो १ गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।