औषधि खुवाएर गर्भपतन गराउँदा महिलाको मृत्यु, अस्पतालमा आफन्तकाे प्रदर्शन
छोराको चाहना गर्दागर्दै आमाको ज्यान गयो

औषधि खुवाएर चार महिना अर्थात् १५ हप्ताको गर्भपतन गराउँदा एक महिलाको मृत्यु भएको छ । रामेछाप दोरम्बा गाउँपालिका–६ कि २७ वर्षीया अनिता घिमिरेको मृत्यु भएको हो । 

तीनवटा छोरी जन्माएकी अनिता चौथोपटक गर्भवती भइन् । कालिमाटीमा रहेको ज्योति अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा चौथो पनि छोरी नै देखियो । त्यसपछि अनिताले आफूलाई छोरा चाहिएको भनेपछि गर्भपतन गराउन अस्पताल गइन् । 

ज्योति अस्पतालमा नै यसअघि पनि नियमित चेकअप गराएकी अनिता गर्भपतन पनि त्यहीँ गराउने उद्देश्यले अस्पताल पुगिन् । अस्पतालले गत वैशाखमा नै आउन भनेर डेट दिएको थियो । तर, कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण उनी जान सकिनन् । 

निषेधाज्ञा सहज भएपछि उनी सोमबार अस्पताल गएकी थिइन् । अस्पताल जाँदासम्म उनी चार महिनाकी गर्भवती भइसकेकी थिइन् । अस्पतालले १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन मिल्दैन भनेर जानकारी नै दिएन । बरू उल्टै ११ हजार रुपैयाँ खर्च लाग्छ, त्यसको व्यवस्था गर्नुहोस् भनेर भनियो । 

जेठ ३१ गते बिहान ११ बजेतिर देवर शरण घिमिरेको साथ लिएर उनी अस्पताल पुगिन् । अनितालाई गेटमै छाडेर उनी कुरुवा बस्ने मान्छे ल्याउन डल्लुतिर लागे । उनी बाटोमै रहँदा अनिताले ‘मलाई ‘क्युरेट’ गराउने दुईवटा ट्याब्लेट दिएको छ । कपडा लिएर छिटो आउनू’ भनेर फोन गरिन् । 

१२ बजेतिर अनिताकी भाइबुहारी जानुका खत्रीलाई लिएर शरण अस्पताल पुगे । जानुका अस्पताल पुग्दा अनितालाई बेडमा सुताइएको थियो । केही समयपछि ‘क्युरेट’ भइसकेको र ट्वाइलेटमा बच्चा खसेको जानकारी अस्पतालका कर्मचारीले दिए । 



त्यसपछि भने उनलाई भित्र बार्डमा जान दिएन । जानुकालाई बाहिरै राखेर एकाएक अस्पतालका नर्स र डाक्टर छटपटाउन थाले । जानुकाले भनिन्, ‘कहिले यताको बेडमा राख्ने, कहिले उताको बेडमा सार्ने गरिरहेका थिए । तर, एकाएक सबैजनाको दौडधुप चल्यो । के भयो भन्दा कोही पनि बोल्न मानेनन् । भित्र–बाहिर गरेको गर्यै गर्न थाले । त्यसपछि मलाई त लागिसकेको थियो, अब भने केही न केही गडबड भयो भनेर ।’ के भयो भने सोध्दा नर्सहरुले क्युरेट गरेका कारण अलिअलि रक्तश्राव भएको भनेर नर्सहरुले जवाफ दिएको उनले बताइन् ।  

बिरामीको अवस्था जटिल बन्दै गएपछि त्यहाँ विशेषज्ञ डाक्टरलाई बोलाइयो । प्रसूतिरोग विशेषज्ञ डाक्टर अञ्जना कार्की आएपछि उनले रगत ल्याउन भनिन् । तर, उनको ब्लड ग्रुपसमेत थाहा थिएन । त्यसपछि डा. अञ्जनाले ब्लड ग्रुप पत्ता लगाउने र रगत ल्याएर चढाउन भन्दै उनी बाहिरिइन् । त्यतिबेलासम्म ४ बजिसकेको थियो । 



त्यसपछि उनीहरूले रगत समूह पहिचान गरेर रगत लिन पठाए । अनिताका भाइ अविनाशले साँझ सात बजेतिर रगत लिएर अस्पताल पुग्नै लाग्दा उनलाई बिएण्डबी अस्पताल लैजान भनियो ।  
अनितालाई अस्पतालले नै एक निजी कारमा राखेर बिएण्डबी अस्पताल लग्यो । कारमा अनिता, कार चालक, अविनाश र एकजना अस्पतालका कर्मचारी गएका थिए । कारमा राख्दा पनि कर्मचारीले कपडामा पोको पारेजसरी हालेका थिए । 

अस्पताल लैजाँदै गर्दा बाटोमा मुखभित्र औँला हाल्दा, नाक बन्द गर्दा कुनै प्रतिक्रिया नदिएको र त्यहीँबाट मृत्यु भइसकेपछि मात्रै बिएण्डबी लगिएको अविनाशको भनाइ छ । ‘दिदीको मृत्यु त यहीँ भइसकेको थियो । बिएण्डबीमा पुर्याउँदा त्यहाँका डाक्टरले बाँच्ने सम्भावना १ प्रतिशत मात्र छ भनेका थिए,’ अविनाशले भने । 

बिएण्डबी अस्पताल लैजाँदै गर्दा अस्पतालका कर्मचारीले ‘क्युरेट गराएको नभन्नू, पुलिस केस नगर्नू, यो गैरकानूनी काम हो, भोलि ठूलो समस्या पर्छ’ भनेका थिए । 

राति ९ बजेतिर उनै डाक्टर कार्कीले बिएण्डबीमा पनि अनिताको चेकअप गरिन् । अत्यधिक रक्तश्राव भएको र अप्रेसन गर्नुपर्ने भन्दै भित्र लगेका थिए । तर, केही समयपछि अनिताको मृत्यु भइसकेको जानकारी दिइयो । 

मृत्यु भएपछि डाक्टर कार्कीले भने पहिला नै क्युरेट गरिएको र आफूले अड्किएको सालनाल मात्र निकालेको बताएको शरणले बताए । 

अस्पतालको लापरबाही, कारबाहीको माग

अस्पतालकै चरम लापरबाहीका कारण आफ्नी श्रीमतीको ज्यान गएको भन्दै मृतकका श्रीमान्ले उपचारमा संलग्न डाक्टरमाथि कारबाही माग गरेका छन् । अनिताका श्रीमान् नकुल घिमिरेले अस्पताल र डाक्टरको चरम लापरबाही देखिएको भन्दै उनीहरूमाथि कडा कारबाही गरी टुहुरा बनेका छोरीहरूको लालनपालनका लागि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

मृतकका श्रीमान् नकुल घिमिरे

कारबाहीको माग गर्दै मृतकका आफन्तले मंगलबार र बुधबार ज्योति अस्पतालमा प्रदर्शन गरेका छन् । अनिताकी एक छोरी १८ महिनाकी छिन् । तीन दिनदेखि आमाको अनुहारसमेत देख्न नपाएकी कान्छी छोरी रोइरहेकी नकुलको भनाइ छ । 

आफूले छोरा वा छोरी जे भए पनि पाउनुपर्छ भने पनि श्रीमतीको ढिपीका कारण चेकअप गर्न आएको भन्दै अस्पतालले आफ्नो श्रीमती नै मारिदिएको नकुलले आरोप लगाए ।

अनिताको मृत शरीर बिएण्डबी अस्पतालको लास घरमा राखेर उनीहरूले अस्पतालमा धर्ना दिनुका साथै नाराबाजी समेत गरेका छन् । घटनापछि अस्पतालका जिम्मेवार व्यक्तिहरू सम्पर्कविहीन बनेका छन् । अस्पताल प्रशासनले छलफलमा बसेर समस्याको समाधान गर्नुको साटो भाग्ने काम गरिरहेको भन्दै न्याय नपाएसम्म आन्दोलन नरोकिने शरणले बताए । 

१२ हप्तामाथिको गर्भपतन गराउनु गैरकानुनी

नेपालको कानुनले १२ हप्ताभन्दा माथिको गर्भपतन गराउन प्रतिबन्ध लगाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ले गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ । 

गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मिन्छ भनी इजाजतप्राप्त चिकित्सकको राय भएमा त्यस्ती महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सकिनेछ । 

अन्य अवस्थामा गर्भपतन गराएको पाइएमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८८ बमोजिम सजाय हुनेछ । त्यस्तो गरेको पाइएमा तीन वर्षसम्म कैद सजाय र ३० हजार रूपैयाँसम्म जरिवाना गरिने कानुनी प्रावधान छ । 

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १७:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया