नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता झलनाथ खनालले उपचारको लागि दिल्ली जानुअघि निकालेको विज्ञप्तिमै शंका व्यक्त गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नै नहुने मत राख्नेमध्ये एकजना नेता खतिवडाले गम्भीर बिरामी परेका झलनाथको हस्ताक्षर दुरुपयोग गरेर अरु कसैले विज्ञप्ति निकालेको दाबी गरेका छन्।
उनले झलनाथ खनालले श्वास फेर्न समेत गारो भइरहेको अवस्थामा त्यस्तो विज्ञप्ति निकाल्नै नसक्ने जिकिर गरेका छन्।
'स्वदेशमा उपचार नहुने परिस्थितिमा विदेशमा उपचार गर्न जानुभएका झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तब्य जारी गर्नु निकै नै दु:खद छ', उनले भनेका छन्,'यो षडयन्त्र हो। श्वास प्रश्वासमासमेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तब्य लेख्ने कल्पना गर्न सकिँदैन।'
वक्तव्यमा उल्लेखित विचार पनि खनालसँग मिल्न नसकेको उनको तर्क छ। झलनाथले यसअघि नयाँ पार्टी गठन गर्नुपर्ने मत राखेका बेला आजको वक्तव्यमा पार्टी मिलाउनै पर्ने कुरा उल्लेख गरेपछि खतिवडाले शंका गरेका हुन्।
'वक्तव्यमा उल्लेखित विचार कमरेड झलनाथ खनालको विचारसँग मेल खाँदैन', खतिवडाको तर्क छ, 'म झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'
के छ वक्तव्यमा?
खनालले आज दिल्ली उड्नुअघि निकालेको विज्ञप्तिमा देशको वर्तमान राजनैतिक जटिलताले आफूलाई धेरै चिन्तित बनाएको बताएका थिए। उपचारका लागि बुधबार दिउँसो दिल्ली उड्नुअघि विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री खनालले दलहरुबीचको विवाद र ध्रुवीकरणले एमाले विभाजनतर्फ गएको बताएका थिए।
‘उपचारका क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याले डाक्टरहरुको सल्लाहमा म आज केही दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा आभार', उनले भनेका थिए, 'सफल उपचारपछि स्वदेश फर्केर यहाँहरुमाझ पुनः आउनेछु भन्ने विश्वास लिएको छु। देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई चिन्तित बनाएको छ । राजनैतिक दलको विवाद र ध्रुवीकरणले विभाजनतर्फ गएका छन्।'
अन्तर संघर्षका कारण विभाजनको परकम्प तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परेको बताउँदै उनले अहिले त्यही असर नेकपा (एमाले) मा परिरहेको बताएका थिए। खनालले राष्ट्रिय एकता, अखण्डता लोकतन्त्र र स्थायित्वका खम्बा दलहरुले व्यक्तिगत इगो साँध्ने काम यथाशीघ्र बन्द गर्नुपर्ने बताएका थिए।
‘राष्ट्रिय एकता, अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बा दलहरु भित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था हो', उनले भनेका थिए, 'त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताबीचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने काम यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मूलभूत समस्या हल गर्नु पर्दछ भन्ने कुरा आग्रह गर्न चाहान्छु।’
नेता खनालले जनताको चाहना र अपेक्षाविपरीत नेताहरुको गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा गम्भीर संकट आएको बताएका थिए।
‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामी सबै मिलेर ठूलाठूला सफलता प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनाशको', उनले भनेका थिए, 'त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृयाअन्तर्गत फुटबाट जोगाउँदै एकतावद्ध पार्न नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु।’
नेता खनालले पार्टीलाई फुटतर्फ नधकेल्न आग्रह गर्दै धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गरे मात्रै सफल हुने पनि स्मरण गराएका थिए। ‘टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु’, खनालले अन्त्यमा भनेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।