देशभर मनसुन भित्रिएसँगै अत्यधिक वर्षाका कारण हुने विपद् व्यवस्थापनमा जुट्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सम्पूर्ण तहलाई निर्देशन दिएका छन् । पहाडी इलाकामा बस्तीहरु खोलाको किनार, बगर र गहिरो ठाउँमा भएको भन्दै मुख्यमन्त्री शाहीले ती बस्तीका नागरिकलाई मनसुन नसकिने बेलासम्म सुरक्षित ठाउँमा बस्न आग्रहसमेत गरेका छन् ।
‘नेपालको पूर्वी भागमा ठूलो क्षति भइसक्यो, कर्णाली पनि उच्च जोखिममा छ,’ ‘मुख्यमन्त्री शाहीले भने, ‘सरकारले गरेको आग्रहलाई कसैले अटेर गरेमा प्रशासनलाई भनेर भए पनि सुरक्षित ठाउँमा ल्याउने तयारी सरकारले गरेको छ ।’
जोखिमबाट हुने क्षति कम गर्नका लागि वडा स्तरमा स्वयंसेवक गठन गरी उनीहरुलाई तालिम दिन नेपाल प्रहरीका सहयोग लिने प्रदेश सरकारको तयारी छ । उद्धारका लागि सबै तयारी अवस्थामा रहन मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् ।
कर्णालीका सबै जिल्लामा जोखिममा परेका नागरिकको उपचारको प्रबन्ध मिलाउने र घटनास्थलमा स्वास्थ्यकर्मी तत्काल पुग्ने गरी व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिएका छन् ।
अत्यावश्यक सामान खरिद गर्नका लागि विपद् कोषमा तत्काल १० करोड रुपैयाँ निकासा गर्ने र सडक अवरुद्ध हुने अवस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अवस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।