को बन्ला कांग्रेसको कमाण्डर? रामचन्द्र भन्छन् : म नेतृत्व लिन्छु, यो पटक ‘ब्याक’ हुन्न
सुरु भयो देउवासँग लड्ने साझा उम्मेदवार खोजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको ‘काउन्टडाउन’ सुरु भइसकेको छ । केन्द्रीय कार्यसमितिको निर्णयले अन्तिम पटकका लागि महाधिवेशनको समय भदौ दोस्रो सातालाई तोकेको छ। पार्टीको विधानअनुसार ०७६ फागुनमा महाधिवेशन भइसक्नुपर्ने हो तर आन्तरिक कलहका कारण सुरुमा एक वर्ष म्याद बढाइएको थियो।

राजनीतिक दलसम्बन्धी व्यवस्था अनुसार अर्को ६ महिना महाधिवेशनको समय थपेर यही भदौलाई तोकिएको छ। कारण–पार्टीको १४ औं महाधिवेशन यो भदौमा नगरेमा पार्टीको दर्ता नै अवैधानिक हुने जोखिम छ। 

टकराव 

भावी नेतृत्वलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवादका कारण करिब २ वर्ष पछाडि धकेलिएको महाधिवेशनमा पनि पुन: यी दुई नेताहरुबीच टकराव हुने अवस्था छ।

एकातिर १४ औं महाधिवेशनबाट आफैँ नेतृत्वमा दोहोरिने तयारीमा देउवा कसरत गरिरहेका छन्। अर्कोतिर पौडेल समूह देउवाबाहेकलाई सभापति बनाउने रणनीति बुनिरहेको छ।

के के हुँदैछ ?



भदौमा हुने भनिएको महाधिवेशनबाट पुनः नेतृत्वमा आउने सभापति देउवाको जोडतोड तयारी छ। जसका लागि देउवा अहिले आफूनिकट नेताहरुसँग छलफल र रणनीति निर्माणको गृहकार्यमा लागिसकेका छन् ।

देउवा अहिले नेतृत्वमा दोहोरिन आफ्नो भन्दा फरक गुटका र टाढिएका नेताहरुलाई रिझाइरहेका छन्। यसका लागि उनी विभिन्न ठाउँमा नियुक्ति र अन्य ठाउँमा पनि स्थान दिएर आफू बलियो बनाउन लागेका छन् । 



सभापति देउवाको रणनीति आफूनिकटलाई मात्रै नभएर इतर पक्षलाई पनि थाहा भइसकेको छ। त्यसैले वरिष्ठ नेता पौडेल पक्ष पनि त्यसबारे चिरफारमा लागेको छ। जसका लागि इतर संस्थापनबाट नेता पौडेल आफैँ सक्रिय बनेका छन् ।

१४ औं महाधिवेशनबाट आफै नेतृत्वमा आउने वरिष्ठ नेता पौडेलको तयारी छ। जुन कारणले उनी अहिले नेतृत्व वर्गसँग सर-सल्लाहमा व्यस्त मात्रै छैनन्, कसरी महाधिवेशनमा जाने भनेर रणनीतिसमेत तयार गर्दैछन् ।

पौडेलको तयारी ?

भदौमा हुने महाधिवेशनमा नेतृत्वमा आउन नेता पौडेलले अहिले सबैसँग कुरा मात्रै गरिरहेका छन्। नेतृत्व बदल्ने योजनासहित उनी जिल्लाका नेता कार्यकर्तासँग छलफल गरिरहेका छन्।

महाधिवेशनबारे फरकधारसँग कुरा गर्दै नेता पौडेलले पनि यसबारे पुष्टि गरेका छन्। महाधिवेशनको तयारीबारे सोध्दा उनी भन्छन्,‘अहिले बन्दाबन्दी छ, धेरै गर्न पाइएको छैन। तर यसबीचमा गर्न मिल्ने कामहरुमा सक्रिय छु। सरसल्लाह र छलफल जस्ता गतिविधि भइरहेको छ। अनलाइन माध्यमबाट साथीहरुसँग कुरा भइरहेको छ। जे सल्लाह आउँछ, त्यही अनुसार अगाडि बढिन्छ।’

तर नेतृत्वबाट ‘ब्याक’नहुने तयारी उनले गरेका छन्। उनी भन्छन्, 'म पहिलादेखि नै स्वत: उम्मेदवार हो, त्यसैले अहिले पनि उम्मेदवार नुहने कुरै छैन। सबै साथीहरुको चाहना छ, तैपनि अझै सबैसँग सल्लाह गरेर उहाँहरुको इच्छाअनुसार अगाडि बढ्नेछु।’ 

आफू पक्षीय नेताहरुसँग सल्लाह भइरहेको  उनले बताए।  सबैको सल्लाह लिएर आफू साझा उम्मेदवार हुने रणनीतिमा पौडेल रहेका छन्। उनलाई नेताहरुले पनि नेतृत्व परिवर्तन गर्नैपर्ने आग्रह गरिहेको बताउँछन् । पार्टीको आन्तरिक लडाइँमा जस्तोसुकै नतिजा आए पनि महाधिवेशन भने समयमै गर्नुपर्ने उनको कुरा छ। महाधिवेशनले पार्टीमा ऊर्जा भर्ने भएकाले गर्नैपर्ने पक्षमा छन् उनी।

छलफल ?

पौडेल समूहले यो पटक महाधिवेशनमा आफ्नो पक्षबाट एकजना नेतालाई साझा उम्मेदवारका रुपमा उठाउने तयारी गरिरहेको स्रोत बताउँछ। जसमा धेरै नेताहरुको सहमति पनि आइसकेको पौडेल समूहका एक नेताले बताए।  

 एक जना मात्रै उम्मेदवारको खोजी  पनि सुरु भइसकेको छ। नेताहरु शंशाक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुन नरसिंह केसीसहितसँग पौडेल आन्तरिक छलफलमा जुटेका छन्। अधिकांश नेताहरु आफैँ उम्मेदवारका रुपमा देखिए पनि पौडेल समूहले सबैलाई फकाएर एक जनालाई अगाडि बढाउने रणनीति बनाएको छ।

सभापति देउवालाई सबै मिलेपछि मात्रै हराउन सकिन्छ', पौडेल समूहका एक नेता भन्छन्, 'यही निष्कर्ष बमोजिम अहिले पौडेल समूहले त्यस्तो साझा उम्मेदवारको खोजी थालिसकेको छ।'

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १८:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया