सिन्धुपाल्चोकका बाढीपीडितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन राप्रपा अध्यक्ष राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढीपीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नुहुँदैन,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा बुधवार भने, ‘अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकाले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु ।’ 

बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे । प्राकृतिक प्रकोपमा मृत्यु भएका स्थानीयप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।

सिन्धुपाल्चोक जिल्लाका बाढीपीडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बुलगायत स्थानमा पुगेका थिए।

दुःखमा परेका जनतालाई सहयोग गर्ने विषयलाई लिएर अध्यक्ष राणाले सभामुख अग्निप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरे । यसैगरी, सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुखलगायतको उपस्थितिमा सर्वपक्षीय बैठक बसेर आपतकालीन निकासका लागि पहल गर्ने विषयमा छलफल भएको छ । 

सो अवसरमा, पीडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय निकायलाई अध्यक्ष राणाले निर्देशन दिए ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १८:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया