झलनाथको वक्तव्यले नयाँ पार्टी खोल्न तयार माधव समूह तरंगित
भीम आचार्य भन्छन् : दुवैतिर विभाजनको रहर बोकेका खिसीट्युरी गर्दैछन्

थापाथलीस्थित नर्भिक अस्पतालमा चार दिनसम्म उपचार गर्दा पनि स्वास्थ्य समस्या कम नभएपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल बुधबार दिउँसो थप उपचारका छिमेकी भारतको नयाँ दिल्ली गएका छन्। 

कोभिड-१९ निको भइसके पनि मिर्गौलासहितका भित्री अंगमा गम्भीर समस्या आएपछि खनाल अहिले दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन्। जहाँ आजैदेखि उनको उपचार थालिएको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिएका छन् । 

अस्पताल स्रोतका अनुसार खनालको मृगौलामा गम्भीर समस्या छ। दिल्ली जानुअघि झलनाथको स्वास्थ्यावस्थाबारे बुझ्न बुधबार बिहान एमाले महासचिव ईश्वर पोखरेल थापाथली पुगे। 

पोखरेलसँगको भेटपछि बाहिरिएको तस्बिर हेर्दा उनको स्वास्थ्यावस्था गम्भीर भएको अनुमान लगाउन सकिन्छ । उनका हात गोडा सुन्निएका छन् भने शरीर एकदमै कमजोर भएको सामान्य अनुमान तस्विरले गराउँछ । 

उक्त भेटघाटपछि फरकधारसँग सम्पर्कमा आएका एक सहयोगीले मृगौलामा समस्या आएकाले यसअघि नै एपोलो अस्पतालमा चेक गराइएको थियो। अहिले खनालको अवस्था कमजोर भएपछि पुनः त्यही अस्पतालमा थप उपचारका लागि लगिएको हो। 



त्यसो त उनी बिरामी भएर दिल्ली जाने पक्का भएपछि नेपाली राजनीति एकाएक चलायमान भएको छ। केही दिन सुनसान देखिएको राजनीतिक माहोल एकाएक तातिएको छ। झलनाथ दिल्ली गएपछि जनशक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एमालेका अर्का नेता माधवकुमार नेपाललाई भेट्न आजै कोटेश्वर पुगे। 

किन सक्रिय भयो एमाले वृत्त?



झलनाथ विमानस्थलबाट दिल्लीतर्फ प्रस्थान गर्नासाथ उनको नाममा एउटा विज्ञप्ति जारी भयो। त्यसअघि नै ओलीनिकट ईश्वर पोखरेलसँगको भेटवार्तामा भएका कुराहरुलाई स्रोतको हवला दिँदै विभिन्न समाचारहरु प्रकाशित भइरहेका थिए। खनालले पोखरेललाई पनि एमाले महासचिवका रुपमा पार्टी मिलाउने अभियानमा लाग्न अपिल गरेका थिए।

यसअघि नेपाल समूहका सबैभन्दा कडा मिजासका ओलीविरोधी उनले नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताउँदै आएका थिए। तर बुधबार दिल्ली जानुअघि उनले वक्तव्य नै निकालेर एमाले मिलाउन अनुरोध गरेपछि माधव नेपाल समूहमा तरंग आएको छ। 

वक्तव्य निकालेर खनाल दिल्ली पुग्दा नपुग्दै यता नेपाल समूहमा भने खैलाबैला सुरु भइसकेको थियो। व्यवहारिक रुपमा झण्डै झण्डै दुई चिरा भइसकेको एमालेलाई मिल्न प्रदेशस्तरबाट निरन्तर दबाब आइरहँदा खनालले उक्त वक्तव्यले नयाँ सन्देश दिएको थियो। 

पछिल्ला केही दिनदेखि संगठन विभाग प्रमुख विष्णु पौडेल, उपाध्यक्ष वामदेव गौतम, प्रदेशस्तरका अष्टलक्ष्मी शाक्य, भीम आचार्य लगायतका नेताहरुले एकता जोगाउनुपर्नेमा जोड दिँदै आइरहेका थिए । खनालले पनि दिल्ली जानुअघि त्यही आसयको सन्देशसहित वक्तव्य जारी गरेपछि नेपाल समूहमा खैलबैला सुरु भएको छ।

वक्तव्यमाथि प्रश्न ?

केन्द्रीय सदस्य तथा नेपाल समूहका हार्डलाइनर नेता जगन्नाथ खतिवडाले सार्वजनिक रुपमै वक्तव्यमाथि प्रश्न उठाए । खनालको हस्ताक्षर दुरुपयोग गरी वक्तब्य जारी गर्नु दु:खद भएको भन्दै उनले आपत्ति प्रकट गरेका थिए। 

‘श्वास प्रश्वासमा समेत गाह्रो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन', उनले फेसबुकमा भनेका थिए, 'उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ ।’

त्यस्तै, नेपाल समूहका अर्का नेता डा. विजय पौडेलले पनि ट्वीटरमा झलनाथ खनालको नाममा अरुले वक्तव्य निकालेर फट्याइँ गरेको जिकिर छन्। ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन् । यस्तो फट्याइँ नगरेको बेस,’ उनले लेखेका छन् ।

विरोध गर्नेहरु एकता विरोधी : भीम आचार्य

पछिल्लो समय पार्टी एकताको पक्षमा मत राख्दै आएका नेपाल समूहका नेता भीम आचार्य भने खनालको सचिवालयबाट आएको वक्तव्यको विरोध गर्नेहरुलाई कडा उत्तर दिएका छन्। उनीहरुलाई आचार्यले एकता विरोधीको संज्ञा दिएका छन्। 

‘उहाँले दिनुभएको वक्तव्य उहाँको सचिवालयबाट आएको होला त्यो एकदम सकारात्मक छ', फरकधारसँगको कुराकानीका क्रममा उनले भने, 'वरिष्ठ नेता खनालले एमाले एकताको आव्हान गर्नुभएको छ, उहाँको हाइटले गरेको त्यो आह्वान ठीक छ’

फुट र विभाजनको बाटो पार्टी वा देशको लोकतान्त्रिक शक्तिबीच हुनु नराम्रो भएको आचार्यले बताए। ‘फुट र विभाजनको चाहे त्यो पार्टीमा होस वा देशको लोकतान्त्रिक आन्दोलन, शक्तिबीच होस् फुट विभाजन हुने कुरा राम्रो होइन', उनले भने, 'मलाई चाहिँ खनाल कमरेडको वक्तव्य राम्रो लाग्यो ।’

नेपाल समूहबाटै यो वक्तव्यको बारेमा प्रश्न उठेको छ नि ? भन्ने फरकधारको प्रश्नमा आचार्यले थपे,‘प्रश्न त उठाउँछन् नि ! काम नभएका साथीहरुले त्यही गर्दै बस्ने त हो नि! किन प्रश्न उठाउनुपर्यो । उहाँले आफूले अब्जर्भेसन गरेका कुरा उपचार गराउन जानुअघि भन्नुभयो । उहाँलाई पार्टीको चिन्ता लाग्यो, देशको माया लाग्यो । अब उपचार कति दिन टाढा हुने हो भनेर जानुभयो राम्रो हो नि होइन त ?’

एमालेका दुवै समूहमा केही आत्मसमर्पणवादी, केही उग्रवादी र केही फुटवादी नेताहरु रहेको उनले बताए। ‘केही चाहिँ आत्मसमर्पण पनि नगर्ने, फुट्न पनि हतार नगर्ने खालका छन्', उनले भने, 'ओली समूहमा पनि छन यही चरित्रका देखिएका छन्।’

त्यस्ता चरित्र भएकाहरुलाई उनले ‘चैते एमाले’ को संज्ञा दिए ।‘केही पार्टी फुटाएर सिद्याउने अनि त्यसमा आफ्नो हित देख्ने प्रवृत्तिका साथी छन् । हाम्रो समूहमा पनि कतिपय साथीहरु त्यस्ता छन,’ आचार्यले भने।  

सामाजिक सञ्जालमा लेख्न कुनै कुराले नबाँध्ने भएकाले त्यस्ता कुराहरुमा छलफल हुने उनले बताए । ‘मलाई लाग्छ अहिलेसम्म सिंगो एमालेको ९० प्रतिशत एकताको पक्षमा छ’, आचार्यले अगाडि भने, ‘५ प्रतिशत ओली समूहका मान्छे फुटको पक्षमा छन्। ५ प्रतिशत हाम्रो (नेपाल–खनाल) समूहका पनि फुटको पक्षमा छन् ।’

नेता खनालको वक्तव्यको विरोध गर्नु पार्टी एकता विरोधी कर्म भएको उनले बताए। ‘न आत्मसमर्पण, न विभाजन । आत्मसमर्पण पनि नगर्ने, विभाजन पनि नगर्ने ? विभाजन बाध्यता भयो भने चाहिँ आइलाग्छ,' उनले भने,'विभाजन हाम्रो रहर हुँदैन । विभाजन बाध्यता हो । त्यसकारण रहरले विभाजन गर्न चाहनेहरुले हरेक एकताको प्रयत्नलाई खिसीट्युरी गर्छन्। त्यो उता (ओली समूह) र यता (नेपाल समूह) दुवैतिर छ। तिनको खास अर्थ हुन्छ जस्तो लाग्दैन।’

खनालले आज निकालेको विरोध गर्नेहरुलाई पार्टी विभाजनमा मलजल गर्नेहरुका रुपमा संज्ञा दिएका छन्। खनालले कसैले पनि पार्टी विभाजनलाई प्रोत्साहन गर्नु ठीक नहुने टिप्पणी गरे।

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार २२:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया