जनकपुरमा आजदेखि १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

प्रदेश-२ सरकारले जनकपुरधाम-१४ स्थित मुजेलियामा एक सय शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।
 
मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मतसम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो । 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा एक कार्यक्रमबीच समुद्घाटन गरेका छन् । 

अस्पतालको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टै सुरु गर्ने बताए ।

शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दशकौं बितिसक्दा समेत अस्पताल सञ्चालन गर्न नसकेकाले त्यसकाे लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल सुरु भईसकेको उनले जानकारी गराए ।

कार्यक्रममा बाेल्दै उनले भने,‘यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाँडै सुरु हुन्छ । जग्गा प्राप्तिको प्रक्रिया चाँडै सुरु गर्छौँ, राज्यको अर्बौंको सम्पत्ति कुनै संस्थाले यसरी राख्न पाउँदैन ।’

कार्यक्रममा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्योपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे । 



४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि बिपिएच, बिएन, बिएमएलटी लगायतको अध्यापन सुरु गर्ने बताइएको छ । 

प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्य-न्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरू, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सकसहितको उपस्थिति रहेको थियो ।



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया