लगातारको वर्षाले कर्णाली राजमार्गमा सकस
कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट क्षेत्रमा बिग्रिएको सडक । तस्बिर सौजन्य : भूपेन्द्र भण्डारी

लगातारको वर्षाले कर्णाली राजमार्गको यात्रा सकसपूर्ण बनाएको छ । राजमार्ग ठाउँ-ठाउँमा बिग्रिँदा सवारी साधन जोखिम मोल्दै गुडिरहेका छन् । राजमार्गको कालिकोटदेखि दैलेख क्षेत्रमा रहेका विभिन्न खोला तथा सहायक सडक निर्माण गरिएका ठाउँमा बाटो अत्यधिक बिग्रिएको छ । 

राजमार्गको ठाउँ-ठाउँमा पहिरो गए पनि पहिरो पन्छाउँदै बाटो सञ्चालन भइरहेको छ । वर्षाका कारण बाटो नराम्रोसँग बिग्रिएकै कारण एक दिन लाग्ने यात्रामा तीन-चार दिन लाग्ने गरेको सवारी चालकहरू बताउँछन् । यस्तै सडक माथिबाट आउने पहिरोको जोखिमका कारण डराई-डराई यात्रा गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।

‘निरन्तरको वर्षाका कारण बाटो बिग्रिँदा कालिकोटबाट सुर्खेत आउन तीन दिन लाग्यो,’ कालिकोटबाट बिहीबार बिहान मात्रै सुर्खेतको वीरेन्द्रनगर आएका ट्रक चालक रमेश विष्टले भने, ‘कच्ची सडक हिलाम्मे हुँदा गाडी त्यसैमा फस्छ । माथिबाट पहिरो आउने डर उस्तै छ । एउटा गाडी अगाडि हिलोमा फस्दा पूर्ण रूपमा राजमार्ग नै अवरुद्ध हुन्छ ।’ राजमार्गको दैलेखको तल्लो डुङ्गेश्वरदेखि कालिकोटसम्म अत्यधिक मात्रामा बिग्रिएको उनी बताउँछन् । 

राजमार्ग छेउबाट काटिएका सहायक सडकहरू, स्थानीय तहले निर्माण गरिरहेका बाटोका कारण राजमार्ग अत्यधिक मात्रामा बिग्रिएको छ । मापदण्ड विपरीत जथाभावी डोजर चलाउँदा बाटो बिग्रिएको चालहरूको गुनासो छ ।

अत्यधिक मात्रामा बिग्रिएको राजमार्गमा आउने समस्या समाधानका लागि ठाउँ-ठाउँमा प्रहरी टोली परिचालन गरिएको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) वसन्तकुमार पन्तले बाटोमा आउने पहिरो पन्छाउन सडक डिभिजन सँगको सहकार्यमा स्काभेटर तयारी अवस्थामा राखिएको बताए ।

‘राजमार्गमा अत्यधिक मात्रामा समस्या छ,’ डिआइजी पन्तले भने, ‘बिहान मात्रै राजमार्गको कालिकोट क्षेत्रमा पहिरो गएको थियो । प्रहरी र सडक डिभिजनको टोलीले पहिरो पन्छाएर सडक सुचारु गरेको छ । अन्य क्षेत्रमा पनि पहिरो गइरहेको छ भने पन्छाउने क्रम पनि जारी छ ।



सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी अलट अवस्थामा छ ।’ कर्णाली राजमार्ग मात्रै नभएर प्रदेश भरका अन्य राजमार्ग तथा सहायक राजमार्गमा हुने विपदका घटनालाई न्यूनीकरण गर्नका लागि प्रहरी लागि परेको उनको भनाइ छ । कर्णाली राजमार्ग जेठ अन्तिम साता यता अत्यधिक मात्रामा जोखिमपूर्ण बनेको छ ।  



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १६:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया