निषेधाज्ञा खुकुलो भएसँगै मकवानपुरमा बढ्यो गाँजाको ओसारपसार

मकवानपुर जिल्ला लागुऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा ठूलो लगानी गरेर हुने गाँजाखेती गरेको छ । मकवानपुर प्रहरीले ब्याड नै नष्ट गर्दा पनि गाँजा खेती रोकिएको छैन ।

लामो समयदेखि निषेधाज्ञा भएका कारण जिल्लामा ठूला गाडी चल्न नपाउँदा यसको कारोबार ठप्पप्रायः थियो । अहिले निषेधाज्ञा केही खुकुलो भएपछि धमाधम गाँजा तस्करी हुन थालेको छ । 

दुई दिनमै अढाइ क्विन्टल गाँजा बरामद 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार १ सय ४३ किलो ३०० ग्राम लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षकसहित टोलीले विशेष सूचनाका आधारमा मनहरीबाट हेटाैँडातर्फ आइरहेको ना१ख ९९१० नम्बरको कन्टेनर गाडीबाट सो परिमाणको गाँजा बरामद गरेको हो । 

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा गाडीलाई रोकी प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा गाडीको क्याबिनभित्र चालक बस्ने सिट पछाडि फल्स बटम बनाएर लुकाई– छिपाई ल्याएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 



प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार गाडीचालक सिन्धुपाल्चोक बाह्रबिसे–५ बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सहचालक वडा नं. ८ मानेश्वरा बस्ने वर्ष २४ का सोमे तामाङ र सोही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१८ वर्षीय सविन तामाङ पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पनि हेटौंडा–१० बाट ९६ किलो गाँजाको कन्टेनरसहित पाँचजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गाडीका चालक मकवानपुर मनहरी–६ का २५ वर्षीय सन्तोष आलेमगर, सहचालक २१ वर्षीय मोसा घलान र कन्टेनरमा सवार कैलाश–८ भार्ताका २४ वर्षीय उमेश लामा छन् । 



मंगलबार पक्राउ परेका उनीहरूको सूचना आधारमा बुधबार चितवन राप्ती–२ का ३१ वर्षीय विष्णु लामा र मकवानपुरको कैलाश–८ का २९ वर्षीय रोशन मोक्तानलाई पनि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १६:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया