प्रदेश सरकारले हटायो अधिकांश सामाजिक कार्यक्रम
सांसद फकाउन अर्बौं रकम विनियाेजन

बागमती प्रदेश सरकारले यो वर्षभन्दा आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बढाएर ल्याए तापनि सामाजिक क्षेत्रतर्फका गत वर्षका अधिकांश कार्यक्रम कटौती भएका छन् । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत बजेट खर्च गर्ने गरी चालू आर्थिक वर्ष २०७७–०७८ मा ल्याएको युवा, महिला तथा लक्षित वर्गको बजेटमा व्यापक कटौती गरेको हो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८मा राखेको  सामुदायिक विद्यालय सुरक्षित विद्यालय, प्रदेश सरकार शिक्षालय सहकार्य कार्यक्रम, बागमती प्रदेशको सरोकार, महिलालाई अवसर र अधिकार, लैंगिक तथा यौनिक अल्पसंख्यकको संरक्षण, मानव अधिकारको प्रवद्र्धन र लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता नीति, समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन कोष, नवप्रवर्तन कोष, पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम समावेश भएको देखिँदैन ।

यस्तै, स्वास्थ्यका लागि खेलकुद,  कृषि अनुसन्धानको मूल आधार अनुसन्धान शिक्षा र प्रसार, उद्यमीको हात प्रदेश सरकारको साथ, आफ्नै स्रोत आफ्नै उद्यम, समुदायको सहभागितामा वन, द्वन्द्वपीडितको साथमा प्रदेश सरकारलगायत कार्यक्रम समावेश नभएको हो ।

सांसदलाई दुई अर्ब

संघीय सरकारले खारेज गरेको सांसद विकास कोष विभिन्न नामले प्रदेशमा पनि दिँदै आएको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ‘प्रदेश पूर्वाधार कोष’का नामबाट सांसदले खर्च गर्ने गरी बजेट रहेको थियो । तर, प्रदेश सरकारले उक्त शब्द हटाएर आगामी आर्थिक वर्ष २०७८–०७९ मा पनि प्रदेश सांसदमार्फत खर्च गर्ने गरी अबन्डामा ठूलो बजेट छुट्याएको छ । 

असार १ गते  प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले  प्रदेश सभामा ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम’को नाममा एकमुष्ट २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।  बजेट वक्तव्यमा कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवद्र्धन गर्न ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ । 



उक्त शीर्षकमा अबन्डामा बजेट छुट्याइएको हो । चालू आर्थिक वर्ष २०७७–०७८मा प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा योजना छनोट गरी कार्यान्वयन गर्नेगरी प्रतिसांसद तीन करोडका दरले बजेट छुट्याइएको थियो । ६६ प्रत्यक्ष निर्वाचित सांसदका एक अर्ब ९८ करोड छुट्याइएको हो । 

आगामी आर्थिक वर्षदेखि भने समानुपातिक सांसदलाई समेत एक करोडका दरले रकम छुट्याइएको छ । प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदका लागि तीन करोडका दरले एक अर्ब ९८ करोड र ४४ जना समानुपातिक सांसदका लागि एक करोडका दरले ४४ करोड गरी २ अर्ब ४२ करोड रुपैयाँ बजेट अबन्डामा विनियोजन गरिएको हो । 



  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १७:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया