सामाजिक अभियान्ता ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो ।
ज्वालासँगै हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । खुस्बुले आफूमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले छलफलका लागि ज्वालाको समूहलाई पटक-पटक बोलाएको थियो । तर, विभिन्न कारण देखाउँदै आउन मानेकी थिइनन् ।
आज छलफलको लागि गएका थिए । छलफलको क्रममा खुस्बु टोली र ज्वालाको समूहबीच झडप पनि भएको थियो । युवा संघका कार्यकर्ताहरूले ज्वाला र हिमालमाथि कुटपिट गरेका थिए । छलफल गर्ने क्रममा सामान्य झडप भएको एसपी बस्नेतले बताए ।
तीनजनालाई नियन्त्रणमा लिई मुद्दा चलाउने तयारी गरिएको एसपी बस्नेतले बताए । उनीहरुमाथि प्रहरीमाथि समेत हातपात गरेको आरोप छ । गत जेठ १६ गते गौशाला प्रहरी वृत्तको हिरासतमा नै ज्वालाको समूहले आक्रमण गरेको खुस्बुको आरोप छ । सोही आधारमा उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।