कर्णाली सरकारले राउटे समुदायका लागि एकीकृत नीति बनाउने

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति बनाउने तयारी गरेको छ । वनजंगल खोलानाला किनारमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरूको सामाजिकीकरणका लागि नीति बनाउने तयारी गरिएको हो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले साउन महिनादेखि लागू हुने गरी नीति निर्माणको काम अगाडि बढाएको बताए । ‘लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो । आउँदो साउनदेखि नीति अनुसार काम हुन्छ ।’

 क्षत्रीले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको भन्दै प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रबन्ध, छाना र नानाको व्यवस्थापन लगायतका विषयहरू नीतिभित्र समेटिने जानकारी दिए । 

पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरूले गरेको दुर्व्यवहार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरूको प्रवेश निषेध आवश्यक रहेको उनले जनाए । मन्त्री क्षेत्रीले राउटे समुदायको सङ्ख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरूको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए । 

राउटेको परम्परागत संस्कृति, संस्कार र मान्यतालाई  आत्मसाथ गर्दै राउटे सम्बन्धी नीति तयार गरिरहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काफ्रीले बताए । साथै उनले राउटेका लागि बनाइने नीतिको विषयमा राउटेसँग समेत छलफल गर्ने जानकारी दिए । 
 
 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १३:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया