प्रदेश-२ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर प्रमोद यादवको सरुवा भएको १० महिना बित्न लाग्दा पनि उनले अहिलेसम्म त्यहाँबाट रमाना लिएका छैनन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७७ भदौ ३० गते नै उनको सरुवा सामाजिक विकास मन्त्रालयमा गरेको भएपनि अहिलेसम्म डा. यादव त्यहाँ हाजिर हुन गएका छैनन् । स्रोतका अनुसार उनलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आर्थिक लाभ भइरहेकाले उनी त्यहाँबाट सरुवा हुन मानिरहेका छैनन् ।
निर्देशक डा. यादवको सरुवा भई सो स्थानमा नयाँ निर्देशकको रूपमा डा.राजिव झालाई पठाइए पनि यादवले रमाना नबुझी अहिले पनि आपूर्ति केन्द्रमै काम गरिरहेको र अनुचित लाभ लिने मनसायले उनी त्यहाँबाट सरुवा हुन नमानेको स्रोतले जनाएको छ ।
यस सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव यमप्रसाद भुसालले सामाजिक विकास मन्त्रालयको सिफारिसको आधारमा नै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवको सरुवाका लागि पत्र पठाएको बताए ।
‘डा. यादवको सरुवा भइसकेपछि उनलाई त्यहाँबाट रमाना लिनुपर्नेमा अहिलेसम्म सामाजिक विकास मन्त्रालयले उनलाई किन त्यहाँबाट बोलाएन त्यो कुरा मलाई थाहा छैन’, उनले भने,‘ हामीलाई सामाजिक विकास मन्त्रालयले नै उनको सरुवा गर्न सिफारिस गरेको थियो । तर उनी कुन स्वार्थले त्यहाँबाट रमाना लिएनन्, त्यो कुरा वहाँलाई नै सोध्नुहोस् ।’
स्रोतले दिएको जानकारी अनुसार आपूर्ति केन्द्रका निर्देशक डा. यादवलाई सरुवा गर्न सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई सिफारिस गरेपछि डा. यादवले सामाजिक विकासमन्त्री नवलकिशोर साहसँग ठूलै रकमको लेनदेन गरेपछि उनले मुख्यमन्त्री कार्यालयको आदेश समेत मानेनन् । त्यसैले अहिलेसम्म पनि उनी त्यहाँबाट रमाना लिएका छैनन् । डा. यादव करिब दुई वर्षदेखि आपूर्ति केन्द्रको निर्देशक भई कार्यरत रहेका छन् ।
यता निर्देशक डा. यादवले आफ्नो सरुवा भईसकेको स्वीकार गरे पनि सामाजिक विकास मन्त्रालयमा निर्देशकको पद नै नरहेकाले आफूले यहाँबाट रमाना नलिएको जानकारी दिए । उनले मुख्यमन्त्रीको कार्यालयले सरुवाका लागि लेखेको पत्र नै गलत रहेको जिकिरसमेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।