निषेधाज्ञाले गर्न सकेन कोरोना संक्रमणको ‘चेन ब्रेक’: तीजपछि तेस्रो लहरको जोखिम

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा मंगलबारदेखि निषेधाज्ञा खुकुला पारिँदैछ । समय र बार मिलाएर पसल खोल्न दिइनेछ ।

कोरोना संक्रमणको दर घट्दै गएसँगै सरकारले निषेधाज्ञा पनि सहज बनाउँदै लगेको हो ।

कोरोना संक्रमणको जोखिम कम नभए पनि निषेधाज्ञा खोल्नु सकारात्मक पक्ष रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी निषेधाज्ञा धेरै लामो समय राख्दा मानव अधिकारको हनन हुने बताउँछन् । 

‘लामो समयसम्म निषेधाज्ञा लगाउनु मानव अधिकारको हनन हो । कति जनता खान नपाएर भोकै मर्न बाध्य भएका छन् । एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् । यो धेरै लम्बिनु निकै गलत हो’, मरासिनीले भने ।

निषेधाज्ञा लम्ब्याउनु भन्दा पनि महामारी नियन्त्रणका अन्य वैकल्पिक उपाय अपनाउनु राम्रो हुने उनको भनाइ छ । उनलाई सवारी साधानमा जोर-बिजोर प्रणाली लागू गरिएको पनि चित्त बुझेको छैन ।

‘कोरोना सर्ने भनेको गाडीबाट होइन । गाडी त जति धेरै त्यति राम्रो हो नि । कम गाडी भयो भने भीड बढी हुन्छ । अनि कोरोना सर्ने जोखिम बढिहाल्छ नि, यो कुरा सरकारले किन बुझ्न सकेको छैन’, डा. मरासिनीले भने । 



भाइरसले दिनप्रतिदिन आफ्नो रणनीति फेर्दै संक्रमण फैलाइरहेको उनको भनाइ छ । भाइरसले नयाँ-नयाँ रणनीति लिएर संक्रमण फैलाइरहेको भन्दै सरकारले त्यही अनुसार रणनीति बनाउन नसकेको बताए ।

‘एउटा भाइरस मरेपछि अर्को कडा खालको पैदा भइरहेको छ । यो उसले आफ्नो संक्रमणको रणनीति फेरेको हो । तर, त्यो कुरा हामीले थाहा पाएनौं’, डा. मरासिनीले भने ।



सरकारले महामारी नियन्त्रणमा पैसा मात्रै सकेको भन्दै संक्रमण रोक्ने रणनीति नै बनाउन नसकेको उनको भनाइ छ ।

जनतालाई धेरै दुःख दिने काम भइरहेको भन्दै त्यसका लागि कसरी सहज र सर्बसुलभ ढंगले सेवा दिन सकिन्छ भन्नेतिर राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

‘सरकारी कार्यालय अहिले पनि वीर शम्शेरकै पालाको जसरी चलिरहेका छन् । यस्तो सूचना प्रविधिको युगमा पनि त्यसरी नै अगाडि बढ्दा कसरी सहज सेवा दिन सकिन्छ । सेवाग्राहीलाई पाँच मिनेटभन्दा बढी पर्खनु नपर्नेगरी सेवा दिने व्यवस्था मिलाउनुपर्छ’, डा. मरासिनीले भने ।

यही अवस्थामा गएको खण्डमा तीजपछि तेस्रो लहर आउने उनको चेतावनी छ । विश्व स्वास्थ्य संगठनले अहिले पनि विश्वभर नै स्वास्थ्य आपत्काल नै जारी गरेको भन्दै नेपालले भने त्यसको बेवास्ता गर्दै आएको बताए । 

‘विश्वका धेरै देशमा तेस्रो लहर देखिसकेको छ । हाम्रो पनि तीजपछि तेस्रो लहर आउन सक्छ । त्योबाट बच्नका लागि खोप मात्रै एउटा विकल्प हो । सबैलाई खोप लगाएर थप संक्रमण हुनबाट जोगाउन सकिन्छ’, डा. मरासिनीले भने । 

थुंग्ची मेडिकल कलेज चीनका रिसर्च स्कुलर एवम् अनुसन्धानकर्ता डा. रमेश आचार्यले अहिलेको अवस्थामा दुई महिनापछि फेरि महामारीको भयावह अवस्था आउने चेतावनी दिए । 

अहिले संक्रमणको चेन ब्रेकभन्दा पनि न्युट्रलाइजेसनको अवस्थामा रहेको भन्दै यसले जोखिमको अवस्था उस्तै रहेको देखाउने बताए ।

अहिले परीक्षण दायरा नै घटाएर संक्रमितको संख्या कम देखिएको उनको भनाइ छ । अबको दुई महिनापछि आउने जोखिम कम गर्न खोप नै आवश्यक रहेको बताए । 

‘यही अवस्थामा अगाडि बढ्यौं भने दुई महिनापछि यस्तै अवस्था आउने सम्भावना छ । अब निषेधाज्ञा गरेर साध्य छैन, त्यसबाट बच्न खोप दिनुपर्छ’, डा. आचार्यले भने । 

अब उमेर समूहभन्दा पनि घर बाहिर गएर काम गर्नेलाई खोप दिनुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म हामीले जोखिम समूह भनेर घरभित्रै बसिरहेकालाई खोप दिएका थियौं । अब भने काम गर्न घर बाहिर आउनेलाई धमाधम खोप दिनुपर्छ । तर, खोप दिनुभन्दा पहिला अनिवार्य पिसिआर परीक्षण गर्नुपर्छ’, डा. आचार्यले भने । 

खोप दिएपछि निषेधाज्ञा सधैका लागि अन्त्य गर्न सकिने उनको भनाइ छ ।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १७:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया