सुनसरी र मोरङमा असार १४ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ । निषेधाज्ञाको समय थपिए पनि सुनसरीमा भने बिहान ५ बजेदेखि १२ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको छ ।
यसअघि केही खुकुलो पारिएको निषेधाज्ञा अब भने बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सबै प्रकारका पसल खोल्न पाउने निर्णय भएकोे सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
होटलहरुले सेवाग्राही राखेर सेवा प्रवाह गर्न नपाउने टेकअवे सेवा मात्र प्रवाह गर्न पाउने निर्णय भएको छ । यातायात र हाट बजारको बारेमा यसभन्दा अघि जे निर्णय भएको थियो, त्यही कायम रहेको बताइएको छ । बैकहरूले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न पाउने र सरकारी कार्यालय भने बन्द रहनेछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि असार १४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।
निषेधाज्ञा अवधिभरि असारबाट शैक्षिक सत्र सुरु हुने भएकाले भौतिक दूरी कायम गरी पुस्तक पसल बिहान १२ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन मोरङले व्यवस्था गरेको छ ।
मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्थाअनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।
अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने अधिकार प्रजिअलाई दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।