राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री जगतप्रसाद गौचनले राप्रपाको गौरवमय विरासतलाई निरन्तर राख्न पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । जसको नीति उसैको नेतृत्वको नारा अघि सार्दै नेतृत्वको भार थाम्न आफू तयार रहेको गौचनले घोषणा गरेका छन् ।
राजसंस्था र हिन्दुराष्टको लक्ष्य अवसरवाद र सत्ता लोलुपताले अवरोध गरेको उनको निष्कर्ष छ । यसकारण दोस्रो पुस्ताको निष्ठावान, सक्कली पात्रलाई नेतृत्वको जिम्मेवारी दिनु अपरिहार्य भएको गौचनको दाबी छ ।
राप्रपालाई नयाँ उचाइमा पुर्याउन अग्रसर रहे पनि दोस्रो पुस्ताको अरू कोही इच्छुक भए, पूर्ण सहयोग गर्न तयार रहेको उनले सोमबार एक विज्ञप्तिमा भने ।
नेता गौचनले भने, ‘राप्रपाको गौरवमय इतिहास र विरासतलाई निरन्तर राख्न दोस्रो पुस्ताको सार्थक भूमिका जरुरी भएको छ । पार्टीको हर तह र तप्कामा यही माग र बहस जारी छ । समयको मागबाट पछि फर्कने अवस्था छैन ।’
संस्थापक अध्यक्षद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०५९ सालमा सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेको उनले दृष्टान्त प्रस्तुत गरे ।
‘पोखरामा सम्पन्न २०५९ सालको महाधिवेशनमा तत्कालीन पहिलो पुस्ता, संस्थापक अध्यक्षद्वय श्रद्धेय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले तत्कालीन दोस्रो पुस्तामा सफल र सहज रूपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक अभ्यास र राप्रपाको इतिहासमा त्यो परिपक्व नेतृत्व क्षमता, उदारता सुनौलो अक्षरले लेखिएको छ,’ उनले भने ।
‘राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य हो । तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण बिघ्न बाधा आइपरेको छ । त्यसैले निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।