डिजिटल कारोबारमा नयाँ क्रान्ति

पछिल्लो एक वर्षको आँकडा विश्लेषण गर्ने हो भने नेपालमा डिजिटल भुक्तानी प्रणालीमा क्रान्ति देखिएको छ । एक वर्ष अघिसम्म लाखौं र करोडमा हुने कारोबार पछिल्लो केही समय यता भने अर्बौंमा हुन थालेको छ ।

कोरोना भाइरस महामारीका कारण भएका लकडाउन र निषेधाज्ञाका कारण बन्द भएका बैंक तथा वित्तीय संस्थाका कारण डिजिटल कारोबारमा उछाल देखिएको हो । जसमा अघिल्लो वर्षमा नेपाल राष्ट्र बैंकले लिएको नीति डिजिटल क्रान्तिको बाटोमा सहयोगी बनेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी बजारसम्म पुगेर क्युआर कोडका लागि गरेको प्रवर्धन तथा बैंक तथा वित्तीय संस्थाले त्यसका लागि लिएको अग्रसरता नै डिजिटल क्रान्तिका लागि सहयोगी बनेको छ ।

क्युआरबाट २ अर्ब बढीको भुक्तानी

डिजिटल क्रान्तिको नेपालमा प्रयोग भइरहेको पछिल्लो प्रणालीमध्येको एक हो क्युआर कोड स्क्यान । खल्तीमा पैसा बोकिरहनु पर्ने झण्झटबाट मुक्त हुँदै मोबाइलको एपबाट सजिलै भुक्तानी गर्ने यो प्रणाली अहिले निकै लोकप्रिय हुँदै गएको छ भने दिनप्रतिदिन प्रयोगकर्ता, कारोबार संख्या र रकम बढ्दै गएको छ ।

तरकारी बजार, पान पसलदेखि कफी सप हुँदै डिपार्टमेन्टल स्टोरसम्म यतिबेला क्युआर स्क्यान कोडको प्रयोग व्यापक हुन थालेको छ । जसले गर्दा कारोबार संख्या र रकम दुवैलाई बढाएको छ ।



चालु आवको पहिलो महिना साउनमा क्युआर कोडबाट भएको भुक्तानी रकम जम्मा ५८ करोड ९० लाख रुपैयाँ थियो । जुन चैत महिनासम्म आइपुग्दा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । चैत महिनामा क्युआर कोडबाट भएको कारोबार संख्या ७ लाख ८२ हजार पुगेको छ जबकि गत साउनमा क्युआर कोडबाट भएको कारोबार संख्या १ लाख ९५ हजार थियो ।

ई-कमर्सको व्यापार १ अर्ब बढी



गत वर्षको लकडाउनमा बढेको ई-कमर्सको व्यापार भदौंपछि केही सुस्ताएको थियो । मानिसहरू भौतिक रूपमै उपस्थित भएर व्यापार गर्न थालेका थिए । तर, कोरोना महामारीको दोस्रो लहर सुरु हुने बित्तिकै ई-कमर्सको व्यापार बढ्न थालेको छ ।

निषेधाज्ञाको समयमा आवश्यक खाद्यान्नका लागि सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प अनलाइन सपिङ साइटहरू बनेका छन् । २०७७ सालको असार महिनामा ई-कमर्स व्यवसायले १ अर्ब २० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेकोमा त्यसपछि भने कारोबार रकम घट्दै गएको थियो । तर, पुनः चैत महिनामा भने फेरि १ अर्बभन्दा माथिको व्यापार भइसकेको छ । यसले ई-कमर्सको कारोबार आगामी दिनमा अझै बढ्ने देखिएको छ ।

मोबाइल बैंकिङ

बैंक तथा वित्तीय संस्थाका कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्ने, एटिएम गइरहने झण्झटबाट मुक्त हुँदै मोबाइलको एपमार्फत् कारोबार गर्ने बढेका छन् । मानिसहरू पैसा भुक्तानी गर्न, रकम पठाउन तथा विभिन्न प्रकारका बिल भुक्तानी गर्नका लागि मोबाइल बैंकिङको प्रयोग गर्न थालेका छन् ।

गत असार महिनामा १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा मोबाइल बैंकिङमार्फत् चैत महिनामा मात्रै ४८ अर्ब ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तो रकम फागुन महिनामा ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ थियो ।

कनेक्ट आइपिएस

कनेक्ट आइपिएसमार्फत् हुने कारोबार रकम पनि यस अवधिमा निकै बढेको छ । गत असार महिनामा कनेक्ट आइपिएसमार्फत् जम्मा ५१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । जबकि गत चैत महिनामा यो कारोबार रकम बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । फागुन महिनामा यस्तो कारोबार रकम १ खर्ब ४ अर्ब रुपैयाँ थियो । कारोबार संख्याका हिसाबले पनि असारमा ६ लाख ९६ हजार रहेकोमा चैत महिनामा २० लाख ३८ हजारभन्दा बढी पुगेको छ ।

वैशाखमा भने डिजिटल भुक्तानीको कारोबारमा कमी

गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणाली मार्फत् हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञा अघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा सुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा सुरु भएसँगै कारोबारको संख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत १ खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकोमा वैशाखमा उक्त कारोबार रकममा कमी आई १ खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षको निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

कुनको कति रकम घट्यो ?

राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैतको तुलनामा वैशाख महिनामा कनेक्ट आइपिएसमार्फत् हुने कारोबार रकममा ९३ करोड २० लाखले कमी आएको छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत् १ खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । जबकि गत चैतमा १ खर्ब ४१ अर्ब ८० करोड २० लाख बराबरको कारोबार भएको थियो । 

यस्तै गत चैतको तुलनामा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा १० अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा १० अर्ब २१ करोड ५ लाख बराबरको कारोबार भएको थियो ।

गत चैतमा वालेटमार्फत ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा मात्रै १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । 

त्यस्तै, क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा २ अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा २ अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ ।

यस्तै गत चैतमा अनलाइन (ई-कमर्स) का माध्यमबाट १० अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । साथै, अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैंकिङ मार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

गत चैतमा मोबाइल बैंकिङ मार्फत ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा मोबाइल बैंकिङ कारोबारमा २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ ।

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार २२:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया