[अन्तर्वार्ता] प्रतिनिधि सभा पुनर्स्थापना हुने कल्पना नगरौँ, एमाले अवश्य एक हुन्छः गृहमन्त्री खगराज अधिकारी

तीन वर्षअघि भएको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभा अहिले भंग छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध परेको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफलमा छ ।

संसद विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामि कार्तिक र मंसिरमा निर्वाचन गर्ने घोषणा गरेका छन् ।

संसद विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । उनलाई अहिलेको सरकारमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ । 

जसपा सरकारमा आइसकेपछि केही दिनसम्म प्रधानमन्त्री ओलीले केही मन्त्रालयहरुको जिम्मेवारी आफूसँग नै राखेका थिए । र, त्यति बेला सबैभन्दा बढी चर्चामा थियो, गृह मन्त्रालय । प्रधानमन्त्री ओलीले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिन्छन् भन्ने चासो उनकै पार्टी नेकपा एमालेमा पनि सबैभन्दा बढी थियो । 

अन्ततः प्रधानमन्त्री ओलीले गृहमन्त्रालयको जिम्मेवारी कास्कीका नेता खगराज अधिकारीलाई दिएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयको अनुभवसमेत सम्हालिसकेका अधिकारीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएपछि धेरैले प्रधानमन्त्री ओलीको बुद्धिमतापूर्ण कदम भन्दै प्रशंसासमेत गरिसकेका थिए ।

चुनाव घोषणा गरिसकेकाले अब निर्वाचनको तयारी, बाढी पहिरो तथा प्राकृतिक प्रकोपको समस्या र कोरोनाभाइरस महामारीको समस्याबीच गृहमन्त्री बनेका अधिकारीसँग फरकधारले एउटा लामो संवाद गरेको छ । संवादमा उनीसँग नेकपा एमालेमा पछिल्लो समय देखिएको राजनीति, अहिलेको सरकार र आगामिबाटोबारे कुराकानी भएको छ । 



फरकधारको यो संवादको पूर्ण अंश मंगलबार साँझ भिडियो स्वरुपमा फरकधारको फेसबुक तथा युट्युबमा उपलब्ध हुनेछ । गृहमन्त्री अधिकारीसँग आइतबार साँझ गरिएको कुराकानीका मुख्य अंश आज हामीले प्रस्तुत गरेका छौँ ।

हामीले गृहमन्त्री अधिकारीलाई सोधेका थियौँ– विपक्षी दलले तपाईंहरुको सरकारलाई काम चलाउ सरकार भनिरहेका छन्, तपाईंकै पार्टीका अर्को पक्षका नेताले पनि, यस्तो आरोपबीच सरकारमा आउनु भएको छ, जनताले के अपेक्षा गर्ने ?



‘अहिले हामीलाई उहाँहरुले कामचलाउ भनिरहनु भएको छ जो यसअघि आफूहरु महिनौँ कामचलाउ अवस्थामा हुनुहुन्थ्यो, केही उपप्रधानमन्त्री थपेर सत्तामा रहनु भएको थियो,’ प्रश्नको उत्तरमा अधिकारीले भनेका छन्, ‘यो सरकारले अहिले असंवैधानिक काम गरेको छैन, गर्नेछैन किनकि यो देश र जनताप्रति समर्पित सरकार हो, यसमा सबैजना ढुक्क हुन जरुरी छ ।’

उनले अहिलेको सरकारको प्रमुख लक्ष्य र चाहना भनेको देश र जनताको रक्षा गर्ने, प्राकृतिक विपत्तिसँग लड्दै पुनस्र्थापनामा जोड दिने, तोकिएको समयमा शान्तिपूर्ण र निस्पक्ष निर्वाचन गराउने कोभिडविरुद्धको अभियान प्रभावकारी बनाउने भएको बताएका छन् । अनि गृहमन्त्री अधिकारीले यसका लागि सरकारले बाहिर भन्ने मात्र नभएर व्यवहारमा कसरी यसलाई अगाडि बढाउने भन्नेमा चासो र जिम्मेवारी लिएको पनि दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा अहिले सर्वोच्चमा संवैधानिक इजलसमा छलफल भइरहेको छ । यसका कारण यो सरकारको आयु लामो नभएको टिप्पणी पनि बाहिर आइरहेका छन् । तर, यसले गृह मन्त्री अधिकारीलाई खासै फरक पारेको छैन । किनकि उनीसँग यसको स्पष्ट जवाफ छ– संसद पुनस्र्थापना हुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । 

तर, राजनीतिमा असम्भव केही नहुने तर्कलाई पनि अधिकारीले स्मरण गरिरहेका छन् । उनले सत्तामा बस्नु वा सत्ता लम्ब्याउनु आफूहरुको कुनै उद्देश्य नभएको भन्दै देशलाई समृद्ध बनाउनका लागि यो सरकार बनेको र त्यसमा आफूहरु अडिग भएको बताएका छन् ।

‘प्रधानमन्त्री ओलीज्यूले अहिले पनि दूरदर्शी भएर काम गरिरहनु भएको छ, उहाँलाई आफू रहने होइन, देश र लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्छ भन्ने सोच र कामना छ,’ गृहमन्त्री अधिकारीले फरकधारसँगको विशेष अन्तर्वार्तामा भनेका छन्, ‘हो, आलोचना गर्नेहरुले अनेक आलोचना गरेका छन् तर व्यवहारले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम ठिक भएको देखाइरहेका छन्, उहाँले गरेका काम सही भएको देखाइरहेका छन् ।’

पछिल्ला महिना नेकपा (एमाले) विग्रहतर्फ उन्मुख भएको छ । एमालेमा माधवकुमार नेपाल समूहले अर्को पार्टी बनाउने आफूहरु उन्मुख भइसकेको बताएका छन् । 

तर, गृहमन्त्री अधिकारी एमालेको यो विग्रह अहिले रोकिनु पर्ने धारणा राख्छन् । ‘हिजो सबैबाट कमजोरी भएका हुनसक्छन्,’ उनले भनेका छन्, ‘अहिले पार्टीमा देखिएको विवादका कारण जनताले पनि दुःख पाएका छन् । भोलि एमाले एक अवश्य हुन्छ । यसका लागि उनले नेताहरुले त्यागको भावना देखाउनु निकै आवश्यक रहेको पनि बताएका छन् ।’

भारतसँगको सम्बन्ध, नेपालको नयाँ राजनीतिक नक्सा र यसले उत्पन्न गराएका विवाद तथा वर्तमान सरकार कसरी संवैधानिक छ भन्ने विषयमा पनि गृहमन्त्री अधिकारीले फरकधारसँगको सम्वादमा खुलेर कुराकानी गरेका छन् । 

गृहमन्त्री अधिकारीसँगको संवादको पूर्ण अंश मंगलबार साँझ फरकधारमा पढ्न र हेर्न सक्नुहुनेछ । 

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार २२:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया