logo-img

सुबिनकाे पाँचाै पुस्तक प्रिय सुफी

काठमाडौं– ‘टिनएज’का पाठकहरुबीच सधैं चर्चामा रहिरहने लेखक सुबिन भट्टराईको पाँचौ पुस्तक ‘प्रिय सुफी’ शनिबार विमोचन भएको छ । 

यसअघि झैं यसपटक पनि उनको पुस्तक विमोचनमा पुस्तकका कुरा थोरै भए, गायिका दिदीबहिनी शितल र शिवानी मोक्तानले स्टेज तताए । 

झन्, पछिल्लो समय ठूलो पर्दामा राम्रो अभिनय गरेर चर्चा कमाएकी आँचल शर्मा स्टेजमा उत्रिदाँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको ‘डबली’मा चर्को हुटिङ भयो । आँचलसँगै सुबिन पनि विमोचन स्टेजमा भित्रिएका थिए । त्यसपछि यी चार जनाले सुबिनको पुस्तक विमोचन गरे ।

दुई दिदीबहिनीले गीत गाएपछि विमोचन कार्यक्रम अघि बढ्यो । उनीहरुले गाएको गीत थियो– मर्नुभन्दा त बाँच्न गाह्रो भो... । 



उपन्यासले ‘प्रिय सुफी’ बारे सुबिनले सविना कार्कीसँगको कुराकानीमा चाहिँ यो गीतको ठीक उल्टो सन्देश दिन लेखिएको बताए । ‘मानव जीवनमा उतारचढाव आउँछन्, मानसिक समस्या हुन्छन्, निराशा हुन्छ,’ सुबिनले भने, ‘तर, यी सबबाट मुक्त भएर कसरी प्रेरणादायी जीवन बाँच्ने भन्ने कुराबाट प्रेरित भएर मैले यो किताब लेखेको हुँ ।’

विमोचनभन्दा केही दिनअघि फरकधारसँग लामो कुराकानीको क्रममा भट्टराई यो उपन्यास युवा पुस्ताका लागि मात्र लक्षित नभएर ‘लार्जर स्फेयर’का लागि लेखेको बताएका थिए ।

‘पहिलाका पुस्तक युवा वर्गलाई केन्द्रीत गरेर लेखेको थिएँ,’ उनले भनेका थिए, ‘यो पुस्तकको हकमा त्यो लागु हुँदैन ।’ 

पहिलाका पुस्तकमा समर लभ, साया, मनसुनहरुमा दुई प्रेमी प्रेमीकाको कथाप्रसङ्ग मात्र थियो तर प्रिय सुफीमा घर परिवारबीचको कथावस्तुलाई समेटिएको उनले बताए । 



शनिबार विमोचन कार्यक्रममा सुबिनले एकजना पाठकको प्रश्न पनि लिए । प्रश्न थियो– तपाईं आफ्ना पुस्तकमा किन गाउँले जीवनको कथा जोड्नुहुन्न ?

सुबिन मुसुक्क हाँसे । अनि भने, ‘मैले गाउँले जीवन नजिकबाट नियालेर हेर्न नपाएकाले ।’

  • प्रकाशित मिति : असोज ६, २०७५ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया