उपत्यकामा आजबाट छैटौँ चरणको निषेधाज्ञा : के-के खुल्छन्, कस्ता सवारी चलाउन पाइन्छ ?

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएको छ। उपत्यकाका तीनै वटा जिल्ला प्रशासनले आइतबार आदेश जारी गरी गएरातिबाट १४ गतेसम्मका लागि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेका थिए। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ बाट निषेधाज्ञा सुरु भएको थियो। सुरुमा बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो।
त्यसपछि जेठ १ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपियो।

तेस्रो चरणमा १४ गतेबाट २० गतेसम्म उपत्यकामा निषेधाज्ञा थप गरिएको थियो। चौथो चरणमा २१ गतेबाट जेठ ३१ गतेसम्म थपिएको थियो। असार १ देखि ७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो। 

छैटौँ पटक आजबाट १४ गतेसम्मका लागि नयाँ मोडलको निषेधाज्ञा प्रशासनले जारी गरेको छ।  पसल डिपार्टमेन्ट स्टोर खोल्नका लागि निश्चित मापदण्ड सहित छुट दिइएको छ। चोक तथा सडक पेटीमा पसल राख्न छुट दिइएको छैन। सार्वजनिक सवारीलाई छुट दिइएको छैन। निजी सवारी साधन र ट्याक्सीहरुलाई निश्चित मापदण्डसहित चलाउन अनुमित प्रशासनले दिएको छ। 

पसल कुन कति बेला खोल्ने ?



औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ। खाद्यान्न तथा फलफूल, तरकारी पसल मासु, पूजा सामग्री पसल, 
खेलकुद सामग्री , स्टेशनरी तथा पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न अनुमति दिइएको छ। 

बार अनुसार के कहिले खोल्ने ?



सोमबार, बुधबार र शुक्रबार

विहान ११ देखि ४ बजेसम्म  डिपार्टमेन्टल स्टोर(ग्रोसरीबाहेक(, सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सञ्चालन गर्न पाउने 

आइतबार, मंगलबार र बिहीबार

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुन पसल, भाँडा पसल, भान्साजन्य, विद्युतीय घरायसी सामग्री,अटोमाबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल, मोबाइल तथा कम्प्यूटर पसल

सवारी साधन कुन–कुन कहिले चलाउन पाउने ?

सवारी साधनका हकमा पनि धेरै छुट दिइएको छ। निजी सवारी साधान हरुलाई जोर–बिजोरका आधारमा सञ्चालनको अनुमति दिइएको छ। कार, जीप, तथा निजी भ्यानमा बढीमा चार जनासम्म चढेर  हिँड्न पाइने भएको छ। 

तीन जनासम्म यात्रु बोकेर ट्याक्सी पनि गुड्न पाउने प्रशासनले जनाएको छ। जोर–बिजोर अनुसार मोटरसाइकलरस्कुटर गुड्न पाउने छन्। खाद्यान्न तथा इन्धन बोकेका, कृषि सम्बन्धी सामाग्री बोकेका, सरसफाइमा प्रयोग गरिने मास्क, साबुन, स्यानिटाइजर, जस्ता सामाग्री ढुवानी गर्ने सवारी उपत्यकामा राति ८ बजेदेखि बिहान ११ बजे सम्म गुडाउन छुट दिइएको छ। 

निर्माण सामग्री ढुवानी  गर्ने सवारी बेलुका ९ बजे देखि बिहान ५ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ। 

सवारी सम्बन्धी व्यवस्था

 १. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधनहरुमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्ने।

२. स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, एम्बुलेन्स, बिरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधन स्वास्थ्य मापदण्ड पालना गरी परिचय पत्रका आधारमा सञ्चालन गर्ने।

३. निजी सवारी साधन (कार, जीप, भ्यानमा बढीमा चारजना), ट्याक्सीमा बढीमा तीनजना र मोटरसाइकल/स्कुटी जोर बिजोर प्रणाली लागू (जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर) गरी सञ्चालन गर्ने। 

४. सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्बाध रुपले सञ्चालन गर्ने। 

५. तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला रपशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क/साबुन/स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, विउ लगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०८:०० बजे देखि बिहान ११:०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्ने। 

६.सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजे देखि बिहान ५ बजे सम्म सञ्चालन गर्ने। 

७. भन्सार विन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न पाउने। 

८. विदेश जाने यात्रुहरुले अन्तर्राष्ट्रिय उडानबाट आवत-जावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश गर्न दिइने। 

९. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावत गर्ने।

१०.सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी/कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सकिने।

गर्न नपाइने गतिविधि 

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद आयोजना गर्न पाइँदैन  भीडभाड हुने अन्य सबै
प्रकारका कार्यक्रम सञ्चालन गर्न पाइँदैन। 

खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न नपाइने प्रशासनले जनाएको छ। 

फुटपाथ तथा खुल्ला ठाउँमा सञ्चालन हुने व्यापार व्यवसायमा  रोक लगाइएको छ।  तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल तथा बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न रोक प्रतिबन्ध लगाइएको छ। 

विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइँदैन।  नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइने छैन। 

शैक्षिक संस्था सञ्चालन गर्न पाइँदैन। केही शैक्षिक गतिविधिलाई भने छुट दिइने आदेशमा उल्लेख छ।  वैदेशिक अध्ययनमा जानु पर्ने विद्यार्थीहरूका लागि हुने परीक्षा सञ्चालन गर्ने छुट दिइने भएको छ। 

त्यसैगरी इडिभी परेका व्यक्तिका लागि कुटनैतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्य पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने पाइने भएको छ। 

सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीलाई आलोपालो गरी स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमित दिइएको छ । 

आदेश अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । 

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार ८:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया