प्रकृतिलाई नबिथोल्न हमालले दिए सुझाव

अभिनेता राजेश हमाल अक्सर मौन रहने कलाकारमा पर्छन् । कोरोनाको चपेटामा परेको देश र समस्यामा परेका नेपालीका बारेमा उनले खासै चासो देखाएनन् । बेला बेला फेसबुकमा स्टाटस राख्नु बाहेक उनी कहिल्यै फिल्डमा देखिएनन् । पछिल्लो समय सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लामा गएको बाढी र त्यसले पारेको प्रभावपछि बल्ल हमाल बोलेका छन् ।

हमालले फेसबुकमा एक भिडियो पोस्ट गर्दै यस बारेमा बाेलेका हुन् ।

भिडियाेमा हमाल भन्छन्,‘पीडितहरूलाई हामी सबैले सहयोग गर्नुपर्छ । हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार, देश-विदेशमा भएका नेपालीहरूले हातेमालो गरेर जो व्यक्तिहरू पीडित हुनुहुन्छ, उहाँहरूको घाउमा मलहम लगाउने वा उहाँहरूको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ ।’

हमालले तत्काल राहतका साथै यस्ता खाले दैवी प्रकोपको दीर्घकालीन समाधान खोज्न समेत सुझाव दिएका छन् । सबैले आपसमा हातेमालो गर्न सके पीडामा परेका सबैको जीवन उकास्न सकिने हमालले बताएका छन् । उनले बाढी पहिरोजस्ता दैवी प्रकोप भइरहनुको पछाडि आफ्नो पनि हात छ भनेर मनन गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

उनी प्रश्न गर्दै भन्छन्, ‘प्रकृति, वातावरणको खिलाफ त गरिरहेका छैनौँ ? त्यसको मर्यादामा आँच आउने किसिमले हामी हाम्रो जीवनशैली, संरचनाहरू त बनाइरहेका छैनौँ ?’ त्यसमा ध्यान दिनु पर्ने भन्दै हमालले भनेका छन्, ‘जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैैनौँ, प्रकृतिले हामीलाई सम्मान कहिल्यै गर्दैन । यो भन्दैमा दैवीप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैवीप्रकोप आउँछ र यसले गर्ने असर यस्तो हो भनेर होसियार रहनु पर्छ ।’ 

होसियारिता सोचमा मात्रै नभएर व्यवहारमा नै देखाउनु पर्नेमा उनले जोड दिएका छन् ।
 
‘वातावरणको संरक्षण गरौँ, प्रकृतिको सम्मान गराैँ । सँगसँगै आफ्नो जीवनशैली, कार्यहरू प्रकृतिलाई नबिथोल्ने किसिमले संचालन गरौँ’, उनले सुझाव दिए ।  





  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १३:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया