को हुन् वामपन्थी र दक्षिणपन्थी : कसरी सुरु भयो कित्ताकाट ?
कांग्रेस साँच्चिकै वामपन्थी हो ?

मलाई फोन गरेर उहाँ(ओली)ले भन्नुभयो– ‘वामपन्थीको सरकार सिध्याउने, कांग्रेसलाई बोकेर सरकार बनाउन हिँड्नु भो होइन ?’ 

मैले भनेँ– ‘कांग्रेस त तपाईंभन्दा धेरै वामपन्थी, ऊ त संविधानको रक्षा गर्ने भनेर अडिएको छ। तपाईं संविधान सिध्याउन खोजिरहनु भएको छ। कांग्रेस लोकतन्त्रको रक्षा भन्छ, तपाईं लोकतन्त्र सिध्याउन लागिरहनु भएको छ। कांग्रेसले तपाईंलाई विदेशीको टाङमुनि छिर्यो भनेको छ, तपार्इं  छिर्नुभएकै छ। अनि कांग्रेसचाहिँ दक्षिणपन्थी, तपाईंचाहिँ वामपन्थी ?’ 

यी कटाक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचका हुन्। बिहीबार विपक्षी गठबन्धनका नेता र सम्पादकहरूबीचको छलफलका क्रममा प्रचण्डले यो कुरा सार्वजनिक गरेका हुन्। 

कांग्रेसलाई वामपन्थी भनेकोमा प्रचण्डको आलोचना गर्दै टिप्पणी÷प्रतिटिप्पणी आइरहेका छन्। तर उनले कांग्रेसलाई ‘वामपन्थी’ भन्नुको पछाडि एमालेभन्दा असल भन्ने आशय लुकेको बुझिन्छ। नेपालमा वामपन्थी भन्नेबित्तिकै कम्युनिस्ट नाम गरेका, कम्युनिस्ट विचार बोकेका तथा मार्क्स,लेनिन माओ, जस्ता व्यक्तिका अनुयायी पार्टी र तिनमा आस्था राख्नेहरू हुन् भन्ने बुझाइ स्थापित छ। कम्युनिस्टबाहेक अरुले आफूलाई वामपन्थी भन्ने गरेको पनि देखिँदैन।  

प्रचण्डले वामपन्थी ठहर्याएको नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरू आफूलाई  वामपन्थी भन्न रुचाउँदैनन। वामपन्थ भन्नेवित्तिकै त्यो आफूइतरको राजनीतिक लाइन हो र वामपन्थीहरू आफ्ना विरोधी हुन् भन्ने धारणा कांग्रेसभित्र स्थापित छ। 

अर्कातिर आफूलाई कम्युनिस्ट विचारधाराका अनुयायी मान्नेहरूमा कम्युनिस्ट भनेकै वामपन्थी र वामपन्थी भनेकै कम्युनिस्ट हो भन्ने बुझाइ देखिन्छ। गैरकम्युनिस्ट जति सबै दक्षिणपन्थी हुन् भनेर बुझ्ने पनि थुपै्र छन्। 



के हो वामपन्थी र दक्षिणपन्थी भनेको ?

वामपन्थी र दक्षिणपन्थी शब्द अंग्रेजीको ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ को नेपालीकरण हो। अग्रगामी र यथास्थितिवादी राजनीतिक मूल्यमान्यता अँगालेको आधारमा यसलाई अर्थ्याइन्छ।  



राजनीतिमा ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ शब्दको प्रवेश फ्रान्सको व्यवस्थापिका राष्ट्रियसभाबाट सुरु भएको हो। फ्रान्समा राज्य क्रान्तिपछि परिवर्तनका पक्षधर र पुरानै व्यवस्थाका समर्थक दुवैखाले विचारधाराका व्यक्तिहरू राष्ट्रियसभामा चयन भए। यो सन १७८९ को कुरा हो। 

राष्ट्रियसभामा नयाँ संविधानको ड्राफ्ट गर्ने काम सुरु हुन थाल्यो। त्यसपछि त्यहाँ राजतन्त्रसहितको पुरानै व्यवस्था कायम राख्नुपर्छ भन्ने पक्षमा रहेका र परिवर्तनको पक्षमा हुनेबीच विभाजन सुरु भयो। 

यसरी विभाजन हुँदा सभामा पनि उनीहरू छुट्टाछुट्टै बस्न थाले। परिवर्तनको पक्षमा हुने सदस्यहरू सभाहलको बायाँतिर बस्न थाले। पुरानै व्यवस्था कायम राख्नुपर्छ भन्ने पक्षमा रहेका सदस्यहरू दायाँतिर बस्न थाले। करिब एक वर्षसम्म यो क्रम चलिरह्यो। राष्ट्रियसभामा बसेको दिशाका आधारमा पत्र–पत्रिकाले उनीहरूलाई ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ का रुपमा स्थापित गराइसकेका थिए। 

बीचमा नेपोलियन बोनापार्टको शासनकालमा दायाँ र बायाँको विभाजन हरायो। जब सन् १८१४ मा फ्रान्समा संवैधानिक राजतन्त्रको सुरुवात भयो, तब प्रगतिशील र परम्परागत राजनीतिक व्यवस्थाका पक्षपातीहरू दायाँ र बाया आ–आफ्ना ठाउँमा बस्न थाले। १९औं शताब्दीको मध्यसम्म आइपुग्दा राजनीतिक विचारधाराकै रुपमा फ्रान्समा यो स्थापित भइसकेको थियो। 

राजनीतिक धारको चर्चा गर्दा ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ लाई पनि चरम र मध्यको रुपमा व्याख्या गर्न थालिएको थियो। जस्तो नेपालीमा मध्य वामन्थी, चरम वामपन्थी, उग्रवामपन्थी, चरम दक्षिणपन्थी, मध्यपन्थी भनेजस्तै ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ लाई फरक–फरक रुपमा विभाजन गरी चर्चा हुन थाल्यो। 

फ्रान्समा सुरु भएको केही समयपछि बेलायतको संसद्मा पनि यसको अनुसरण भयो। त्यहाँका दुई ठूला दलले फ्रान्सको सिको गरेर कन्जर्भेटिभ दायाँ र लेबर पार्टी बायाँ बस्ने गर्न थाले।  

विस्तारै विश्वभर राजनीतिक लाइनका आधारमा प्रगतिशील, क्रान्तिकारी राजनीतिक शक्तिलाई लेफ्टिस्ट र परम्परावादी, यथास्थितिवादी शक्तिलाई ‘राइटिस्ट’ भन्न थालियो। 

यहीअनुसार भारत र नेपालमा ‘राइट विङ’ लाई दक्षिण पन्थ र ‘लेफ्ट विङ’  लाई वामपन्थ शब्दावली प्रयोग गर्दै आएको पाइन्छ। 

कम्युनिस्ट मात्रै होइनन् वामपन्थी 

हाम्रोमा वामपन्थ र कम्युनिस्ट अनि दक्षिणपन्थ र गैरकम्युनिस्ट एकअर्काका परिपूरक हुन् भन्ने बुझाइ छ। यो राजनीतिक दर्शन र इतिहासबारे ज्ञान नभएर बनाइएको गलत धारणा भएको विश्लेषकहरूको भनाइ छ। 

पार्टीको नाम, त्यसका दस्तावेज भन्दा पनि त्यो कुन राजनीतिक धारमा अघि बढिरहेको छ भन्ने आधारमा वामपन्थी र दक्षिणपन्थी भनी छुट्याउनु पर्ने वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

‘यो भ्रम चिनुपर्छ। मन लाग्यो कसैलाई वामपन्थी भन्ने, मन लागेन कसैलाई दक्षिणपन्थी भन्ने हुँदैन,’ श्रेष्ठ भन्छन्, ‘पार्टी तथा राजनीतिक व्यक्ति कुन समयमा कुन पक्षमा उभिन्छ भन्ने आधारमा वामपन्थी र दक्षिणपन्थी हुने हो।’ 

श्रेष्ठका अनुसार सजिलो अर्थमा बुझ्दा आमूल परिवर्तन चाहने, प्रगतिशील कित्तामा लाग्नेलाई वामपन्थी मान्नुपर्ने हुन्छ। परम्परावादी व्यवस्थाको पक्षमा लाग्ने, रुढीवादी विचारधाराको पक्षपातीलाई दक्षिणपन्थी मानिन्छ। 

कांग्रेस कहिले वामपन्थी कहिले दक्षिणपन्थी

नेपाली कांग्रेस पार्टी वामपन्थी हो कि होइन त ? वाम विश्लेषक श्रेष्ठ यसलाई समयक्रममा उसले अंगीकार गरेको लाइनका आधारमा चर्चा गर्नुपर्ने बताउँछन्। 

सुरुवातदेखि बीपीको पालासम्मको कांग्रेस वामपन्थी नै रहेको उनको बुझाइ छ।  ‘२००७ सालमा कांग्रेस देशमा आमूल परिवर्तनका लागि लड्यो, संविधानसभामार्फत् देशको कानुन बन्नुपर्छ भन्नेमा थियो, उसको लाइन स्पष्ट वामपन्थ नै थियो,’ श्रेष्ठ भन्छन्। 

बीपी प्रधानमन्त्री बनेका बेला उनले चालेका कदम हेर्दा पनि कांग्रेस वामपन्थी पार्टी नै थियो भन्न सकिने श्रेष्ठको बुझाइ छ। ‘राजारजौटा उन्मूलन गर्न खोजेका थिए, कमैया प्रथा हटाउने, भूमिसुधार लागू गर्ने जस्ता बीपीका प्रयत्नका कारण उनी वामपन्थी नै थिए भन्ने देखिन्छ,’ श्रेष्ठ भन्छन्। 

२०४६ सालको आन्दोलनपछि कांग्रेसमा दक्षिणपन्थ हावी भएको श्रेष्ठको ठहर छ।  ‘२०६२÷२०६३ को आन्दोलनमा राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याउने पक्षमा उभिँदा कांग्रेस फेरि आमूल परिवर्तनको पक्षमा देखियो। त्यस बेलाको कांग्रेसको लाइन वामन्थ नै हो,’ उनी भन्छन्।   

कांग्रेसमा सुरुदेखि नै वामपन्थी धार र दक्षिण पन्थी दुवै धारका नेता रहेको श्रेष्ठको बुझाइ छ।  ‘मेरो हेराइमा बीपी वामपन्थी नै लाग्छन्, फेरि उनका सहयात्री किसुनजी दक्षिणपन्थी जस्ता लाग्थे, गणेशमान वामपन्थी नै हुन् जस्ता देखिन्थे,’ श्रेष्ठ टिप्पणी गर्छन्।

कांग्रेसमा अहिले पनि प्रदीप गिरी जस्ता वामपन्थी विचारधारा बोकेका मान्छेहरू भएको उनले बताए। नरहरि आचार्य, गगन थापा, कृष्ण खनालहरू कांग्रेसका लेफ्टिस्ट अर्थात् वामपन्थी विचारधारा बोक्ने व्यक्तिहरू भएको श्रेष्ठको बुझाइ छ। 

तर समग्रमा कांग्रेसले आफूलाई अहिले दक्षिणपन्थी पार्टीको रुपमा स्वीकार गरिसकेको उनको निष्कर्ष छ।

नेपालमा वामपन्थी भनेको कम्युनिस्ट मात्रै हुन् भन्ने अवधारणाको विकास कांग्रेसले नै गरेको श्रेष्ठ दावी गर्छन्। विषेशगरी २०४६ को परिवर्तनपछि सत्तामा गएपछि कांग्रेसले कम्युनिस्टहरूलाई वामपन्थी र आफूलाई दक्षिणपन्थीको रुपमा स्थापित गराउन थालेको उनले बताए। 

‘नेपाली कांग्रेस असली वामपन्थी’

नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य गुरुराज घिमिरे भने नेपालको असली वामपन्थी कांग्रेस नै भएको दाबी गर्छन्। 
‘अग्रगामी विचार लिएको, तानाशाही परिवारतन्त्रीय शासनबाट देशलाई मुक्त गर्ने क्रान्तिको नेतृत्व गर्ने पार्टी हो कांग्रेस, कसरी कांग्रेस दक्षिणपन्थी हुन्छ ?’ घिमिरे प्रश्न गर्छन्। 

लोकतन्त्रवादी, अग्रगामी परिवर्तनकारी शक्ति, समाजका अव्यवस्था, समाजका बेथिति, रुढीवादी परम्परा तोडेर आएको शक्ति भएकाले पनि सच्चा वामपन्थी लाइनको पार्टी कांग्रेस नै रहेको घिमिरेको दाबी छ। 

कम्युनिस्टहरूको लाइन वामपन्थ नै भए पनि उनीहरू उग्रवामपन्थी भएको उनको तर्क छ। ‘कम्युनिस्ट र वामपन्थ भनेको फरक कुरा हो,’ घिमिरे भन्छन्, ‘वामपन्थ क्रान्तिकारी चरित्र हो। नेपाली कांग्रेस कम्युनिस्ट होइन, तर यसको धार वामपन्थ नै हो।’ 

पटक–पटक क्रान्तिको नेतृत्व गरेको, परिवर्तनको पक्षमा कम्युनिस्ट र वामपन्थी दलसँग सहकार्य गर्दै आएको र अहिले पनि गरिरहेको नेपाली कांग्रेस कुनै कोणबाट पनि दक्षिणपन्थी नभएको घिमिरेको ठहर छ। 

दक्षिणपन्थ र कांग्रेसको मान्यता, कांग्रेस हिँडेको बाटो ठीक विपरीत रहेको दाबी उनको छ। ‘भन्नलाई जे पनि पाइन्छ, तर दक्षिणपन्थसँग नेपाली कांग्रेसको सम्बन्ध ३६ को आँकडामा छ,’ घिमिरे ठोकुवा गर्छन्, ‘कांग्रेसका नेता, कार्यकर्ताले आफूलाई वामपन्थी भन्न नरुचाउनु भनेको राजनीतिक दर्शन र कांग्रेस पार्टीको इतिहासबारे ज्ञान नहुनु हो। त्यो राजनीतिक दर्शनलाई राम्रोसँग नबुझ्नु, नजान्नु हो। नेपाली कांग्रेसको स्थापनादेखि आजसम्मको इतिहास नपढ्नु हो।’  

कुन पृष्ठभूमिबाट जन्मियो, राजनीतिक मान्यता, उद्देश्य, चरित्र, दार्शनिक, विश्वास के हो ? जस्ता प्रश्नको उत्तर खोज्दा कांग्रेसको राजनीतिक लाइन स्पष्ट हुने नेता घिमिरेको भनाइ छ। 

केपी ओली प्रतिगामी हुन्  

कम्युनिस्ट विचारधारा आफैंमा वामपन्थी विचारधारा भए पनि कम्युनिस्ट नाम झुण्ड्याउँदैमा त्यसलाई वामपन्थी भन्न नमिल्ने वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

वर्तमान प्रधानमन्त्री केपी ओली दक्षिणपन्थी भन्दा पनि प्रतिगामी भएको उनको ठहर छ। दक्षिणपन्थीले त आमूल परिवर्तन नचाहे पनि कम्तीमा जे छ त्यसलाई स्वीकार्छ, तर ओली भएका उपलब्धिलाई पनि मासेर पुरानै अवस्थामा फर्किन खोजिरहेको आरोप श्रेष्ठले लगाए। 

‘जो भइरहको अवस्थाबाट पछाडि फर्किन खोज्छ त्यो त दक्षिणपन्थी पनि होइन, प्रतिगामी  हो,’ श्रेष्ठ भन्छन्। पछिल्ला राजनीतिक घटनाक्रम हेर्दा ओली भन्दा कांग्रेस नै अग्रगामी भएको उनी बताउँछन्। 

‘कांग्रेस अहिलको संविधान खारेज होस् भन्ने चाहँदैन, त्यसलाई बचाउन सडकमै आउँछ,’ श्रेष्ठ भन्छन्, ‘तर ओली संविधान ध्वस्त बनाउन लागेका छन्, व्यवस्था नै उल्ट्याएर पुरानै अवस्थामा फर्काउन खोज्दैछन्।’

धार्मिक राज्यतिर उनको झुकाव, समावेशी, समानुपातिक प्रणालीप्रतिको अरुचि, गणतान्त्रिक व्यवस्था ध्वस्त बनाउन गरेका प्रयत्न हेर्दा ओली प्रतिगामी नै भएको आरोप श्रेष्ठले लगाए।  

  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १८:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया