प्रचण्ड अभिव्यक्ति : राजाप्रतिको ‘मोह’ कि राष्ट्रपतिमाथिको ‘आक्रोश’ ?
विश्लेषक भन्छन्, तिललाई पहाड बनाउन खोजियो

नेपालमा २४० वर्षे लामो राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको १५ वर्ष पूरा भइसकेको छ । ‘जनगणतन्त्र’को परिकल्पनासहित हजारौँको ज्यान गएको १० वर्षे लामो सशस्त्र द्वन्द्व यही बीचमा भयो । सशस्त्र द्वन्द्व हुँदै नेपालको मूलधारको राजनीतिमा स्थापित भएका प्रमुख पात्र हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

राजतन्त्र फालिए पछिको यो १५ वर्षमा गणतन्त्र, संविधानसभा हुँदै संघीयता सम्मको अभ्यास भए । सशस्त्र युद्धमा साथ दिएका सहयात्रीले छाड्दै बाटो लागिरहँदा अध्यक्ष प्रचण्ड भने बेला–बेला राजतन्त्र र त्यससँग नजिक हुने गरी अभिव्यक्ति प्रस्तुत गरिरहेका हुन्छन् । 

पछिल्लो पटक विपक्षी गठबन्धनसँग मिलेर केही समय अघिसम्मका सहयात्री केपी शर्मा ओलीलाई अपदस्थ गर्नुपर्ने तर्कसहित अघि बढेका छन् । सोही क्रममा बिहीबार (हिजो) नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा केही सम्पादकहरुसँग विपक्षी गठबन्धले छलफल गरेको थियो । 

छलफलको क्रममा अध्यक्ष प्रचण्ड राष्ट्रपति पद र संस्थामाथि खरो रुपमा उत्रिए । कुनै बेला राजतन्त्र अन्त्य हुनैपर्छ भनेर सशस्त्र द्वन्द्वसम्म गरेका प्रचण्डले अहिलेका राष्ट्रपतिभन्दा राजाकै ‘शान’ बढी भएको तर्क गरे । सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले भनेका छन्, ‘अहिले राष्ट्रपति भन्ने संस्था त यति, यो भन्दा त राजाहरु हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन ।’

प्रचण्डको अभिव्यक्ति प्रतिका टिप्पणी 
प्रचण्डको उक्त अभिव्यक्तिप्रति यतिबेला सामाजिक सञ्जालमा थरिथरिका टिप्पणी भइरहेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले भनेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’

त्यस्तै, नेकपा एमालेका नेता विष्णु रिजाल व्यवस्थामाथि प्रश्न उठाउन नहुने बताउँछन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्रमा राष्ट्रपतिका कामको आलोचना गर्न पाइन्छ, अदालतमा मुद्दा पनि चलिरहेको छ । तर, त्यसरी आलोचना गर्दा ऐतिहासिक जनआन्दोलन र ‘जनयुद्ध’मा जनताले बगाएको रगतको अपमान नहोस् र जनताबाट पराजित सामन्तवादी शक्तिले मुख नमिठ्याउन् भन्ने ख्याल गर्नैपर्छ । गल्ती हाम्रो छ, प्रश्न व्यवस्थामाथि नउठाऔँ !’



प्रचण्डले संसद भवनभित्र बसेर ती अभिव्यक्ति दिइरहँदा उता सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस चलिरहेको थियो । सर्वोच्चको संवैधानिक इजलासमा बुधबारबाट निरन्तर सुनुवाइ भइरहेको यो मुद्धामा सबैभन्दा बढी राष्ट्रपतिकै भूमिकामाथि केन्द्रित भएर प्रश्नहरु बर्सिए । वहसका क्रममा अधिवक्ताहरूले निरन्तर राष्ट्रपति पद र संस्थाको भूमिकाबारे निरन्तर प्रश्न उठाइरहेका छन् ।

प्रधानमन्त्रीलाई विश्वास वा अविश्वास गर्ने जिम्मेवारी र अधिकार संसदको हुने अधिवक्ताहरूको जिकिर छ । यही विषयसँग मेल खाने गरी दोस्रोपटक संसद विघटन गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले त्यस्तै अभिव्यक्ति दिएका थिए । राष्ट्रपतिको बचाउ गर्दै बालुवाटारमा भएको एक कार्यक्रममा ओलीले भनेका थिए, ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन ।’



यसअघि ०४७ को संविधानको धारा ३१ मा थियो, ‘श्री ५ बाट गरि बक्सेको कुनै कामको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’ तर, संसद् विघटनजस्तो संवैधानिक मुद्दामा राजाले लिएका कदम पनि सर्वोच्चले उल्ट्याइदिएको नजिर छ ।
 
प्रचण्डमा ‘राजा मोह’ बढ्दै गएको हो ? 
राजतन्त्र फालेर गणतन्त्र ल्याउने मुद्धाको सबैभन्दा अगाडि उभिएका पात्र हुन् प्रचण्ड । तिनै प्रचण्डले गणतन्त्रसँगै प्राप्त भएको राष्ट्रपति संस्थामाथि उठाएको प्रश्न गम्भीर त छँदै थियो, सँगसँगै उनले अहिलेको राष्ट्रपतिभन्दा उति बेलाका राजाकै बढी ‘शान’ थियो भन्नुले झनै ठूलो तरङ्ग राजनीति वृत्तमा उत्पन्न गराएको छ । 

तर, राजनीतिक विश्लेषक लोकराज बराल भने प्रचण्डको यो भनाइको आलोचना हुनुलाई ‘तिललाई पहाड’ बनाउन खोजिएको रुपमा लिन्छन् । उनले फरकधारसँग भने, ‘अहिले त राजा भन्दापनि चर्को रुपमा अहिलेको राष्ट्रपति आइन् भनेर भन्दाखेरी मात्र भनिएको हो जस्तो लाग्छ मलाई । सिम्बोलिक तुलना मात्र गरिएको हो, त्यस्तो राजनीतिक अर्थ केही लाग्दैन ।’

‘कुरो र कुलो’ जता लगेपनि जाने भनाइ उल्लेख गर्दै बरालले भने, ‘राजा भन्दापनि आफूलाई ठूलो ठान्ने भनेर बोल्दा खेरी भनिएको हो । त्यसमा राजालाई मानेको नै हो भनेर अर्थ आउँदैन । कुरो र कुलो जता लागेपनि जान्छ, अलिकति त्यसको सन्दर्भ पनि बुझ्नुपर्छ । यहाँ त हरेक कुरालाई झिँगाको प्वाँख तान्ने जस्तो कुरा गरिरहेका हुन्छन् ।’

गणतन्त्र हामीले नै ल्याएका हौँ भनेर भनिरहेका प्रचण्डको यो भनाइमाथिको टिप्पणी तिललाई पहाड बनाउन खोजिएको बरालको भनाइ छ । ‘हामीले त निष्पक्षतामा बोल्नुपर्छ । हामीले गणतन्त्र ल्यायौँ भन्ने मान्छेले कहाँ त्यस्तो भाव प्रकट हुनेगरी बोल्छ ?’ उनले अघि भने, ‘यहाँका मान्छेहरुले जहिल्यै पनि तिललाई पहाड बनाउने काम गर्छन् । राष्ट्रपतिले जसरी पनि मनोमानी गर्न थालिन् भन्न थालिएको हो तर राजतन्त्र चाहियो भन्न खोजेको हो र ?’ 

त्यस्तै, अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने सनकका भरमा बोलेका नेताहरुको अभिव्यक्तिमाथि टिप्पणी गर्न उति चासो राखेनन् । ‘सनक सनकमा नेपाली नेताहरु बोलिरहेका हुन्छन् । प्रचण्डको बोलीको ठेगान छैन । ओलीको कामको ठेगान छैन ।’ उनले अघि भने, ‘यिनले (ओली–प्रचण्ड) बोलेको कुरामा के टिप्पणी हुन सक्छ र ? उनले बोलेको कुरामा म के भनुँ ? के सुरमा भने, के सन्दर्भमा भने म टिप्पणीमा मलाई उति चासो लागेन यो कुरा ।’

  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १८:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया