फेरियो जनकपुरधाम विमानस्थल : के के छन् सुविधा ?

जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवन पाउन जनकपुरधामवासीलाई लामै प्रतीक्षा गर्नु पर्‍यो । नयाँ टर्मिनल भवनको निर्माण सुरु भएपछि विभिन्न आरोह-अवरोह पार गर्दै ८ वर्षपछि टर्मिनल भवनको बनेको छ । 

यसअघि भारत सरकारले २०२४ सालमा निर्माण गरेको टर्मिनल भवनबाट सेवा प्रवाह भइरहेको थियो । दैनिक १५ देखि २० जनासम्म उडान गर्ने हिसाबले सो टर्मिनल भवन निर्माण गरिएको थियो । समयक्रमसँगै विस्तारै यात्रुको चाप समेत बढ्दै गएपछि पुरानो टर्मिनल भवनबाट सेवा प्रवाह गर्न समस्या हुँदै गयो । २०६९ साल कात्तिकमा १८ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गरे । 

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ गते सम्झौता भएको थियो । 

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणको समय पटक-पटक थप्दै ८ वर्ष पुर्‍याइयो । 



जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीन निजी विमान कम्पनीले सेवा दिँदै आइरहेका छन् । बुद्ध एयरले दैनिक तीन, यति एयरले एक र श्री एयरलाइन्सले काठमाडौं-जनकपुर दैनिक एक उडान गर्दै आएका छन् । काठमाडौँबाट जनकपुरका लागि दैनिक बिहान ९ बजे, ११:३० बजे, दिउँसो १:३० बजे, ३:३० बजे र बेलुका ६ बजे उडान हुँदै आइरहेका छ ।

टर्मिनल भवनको विशेषता



जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण ४२ करोड रुपैयाँको लागतमा सम्पन्न भएको छ । नयाँ टर्मिनल भवन ४ हजार १३४ वर्गमिटरमा फैलिएको जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले बताए । नयाँ टर्मिनल भवनको अर्को महत्त्वपूर्ण विशेषता पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिनु हो । यो विलकुनै नयाँ प्रविधि हो । जुन नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन । 

टर्मिनल भवनमा धूमपानका लागि अलग्गै कक्ष, स्तनपानका लागि स्तनपान कक्ष, गाड्रेनका साथै रेस्टुरेन्टको सुविधा समेत रहेको छ । सुरक्षालाई २४ घण्टा चुस्त दुरुस्त राख्नका लागि विमानस्थलमै पुलिस क्वार्टर समेत निर्माण गरिएको छ । एक्सेस रोड, ल्यान्डस्केपिङ तथा ३५ जना सुरक्षाकर्मी आवास गृह निर्माणको काम समेत सम्पन्न गरिएको छ ।

यस टर्मिनल भवनमा ६ सय जना यात्रुहरू पिक आवरमा यात्रा गर्नसक्ने गरी अत्याधुनिक प्रविधि प्रयोग गरी ६ कठ्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र ६० फिट बराबरको ६ तल्ले कन्ट्रोल टावर निर्माण गरिएको छ । पुरानो टर्मिनल भवन भने साढे दुई तल्लाको मात्र थियो । 

नयाँ भवनमा ३५ वटा सिसिटिभी क्यामेरा, स्मोक डिटेक्सन सिस्टम, फायर अलार्म, पिए सिस्टम, नेटवर्किङ्ग सिस्टम, एक्सेस कन्ट्रोल, कम्युनिकेसन सिस्टम, सिसिआरसी रुम जस्ता सुविधा उपलब्ध रहेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए । पहिलेको तुलनमा भिआइपी कक्ष अत्याधुनिक बनाइएको छ ।

‘पुरानो टर्मिनल भवनमा सवारीसाधनका लागि पार्किङ्गको पर्याप्त सुविधा थिएन तर अहिले कुल ८० वटा कार तथा १५० वटा मोटरसाइकलसहित पार्क गर्न सकिने पार्किङ्ग एरिया समेत बनाइएको छ,’ विमानस्थल प्रमुख गौतमले भने, ‘पहिले दुई तल्लाको टर्मिनल भवन थियो भने अहिले ६ तल्लाको बनाइएको छ ।’

एक साथ ४११ जना यात्रु उक्त टर्मिनलबाट आउन जान सक्ने सुविधा हुनुका साथै १७४ जना व्यक्तिहरू एक साथ बस्न सक्ने सुविधा रहेको गौतमले बताए । विमानस्थलको सुरक्षाका लागि नेपाली सेना १८ जना र नेपाल प्रहरी समेत १८ जना गरी अहिले जम्मा ३६ जना सुरक्षाकर्मी परिचालित छन् । जनकपुर विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका १५ जना स्थायी कर्मचारी पहिलेदेखि नै कार्यरत रहे पनि विमानस्थल विस्तार भएसँगै करिब ७ जना थप जनशक्ति आवश्यक देखिएको प्रमुख गौतमले बताए । सरसफाइका लागि ५ जना जनशक्ति ज्यालादारीमा खटाइएको छ । 

रनवे सानो हुँदा समस्या 

विमानस्थल प्रमुख गौतमले जनकपुर विमानस्थलमा अहिले तत्काल १३ सय मिटरको मात्र रनवे रहेकाले ठूलो जहाज ओर्लन अहिले पनि समस्या रहेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा जुन जहाजहरू यहाँ आइरहेका छन् त्यसलाई १५ सय मिटरको रनवे आवश्यक देखिन्छ । तर, पाइलटहरूले यतिमा पनि जसोतसो एडजस्ट गरिरहेका छन् ।’ एटिआर-७२ विमानलाई चाहिने रनवे लेन्थ १५ सय मिटर आवश्यक रहेको उनले बताए ।

विमानस्थल प्रमुख गौतमले पुरानो टर्मिनल भवनलाई भत्काइसकिएको जानकारी दिए । त्यस ठाउँमा विमानहरू पार्क गर्नका लागि एप्रोन बनाइने उनले जानकारी दिए । उनले भने, ‘अहिले एटिआर-७२ विमानलाई पार्क गर्नसक्ने तीनवटा पार्किङ्ग छ । एप्रोन बनिसकेपछि एकै समयमा चारवटा जहाज आए पनि पार्किङ्गका लागि कुनै समस्या नहुने उनले बताए । रनवेलाई पनि तत्कालै फिनिसिङ्ग गर्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए । 

वर्षा मौसममा पहिले यात्रुहरुलाई भिजेर नै ओर्लनु पर्थ्यो तर अब त्यस्तो नरहने उनको भनाइ छ । 

गौमतका अनुसार यात्रुहरूको लगेज जाँच गर्नका लागि डिजिटल एक्सरे जडान गरिएको छ । आगो निभाउने फायर दमकलसहित फायर ब्रिगेड हुनुका साथै विमानमा इन्धन भर्न नेपाल आयल निगमको स्टेसन नै बनाइएको छ ।

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै भीडभाडको समस्या अन्त्य हुने विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले बताए । उनले भने, ‘पहिलाको टावरको हाइट कम भएर थुप्रै समस्याको सामना गर्नु परिरहेको थियो । तर, अब यस टावरमा आइसकेपछि रनवे पूर्ण रूपले भिजिवल छ जुन जहाज अवतरण र उडानका लागि धेरै नै सुरक्षित छ ।’ जनकपुर विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रूममा अहिले मोहन ठाकुर, विकास कुमार झा र शिवानी झा गरी ३ जना वरिष्ठ अधिकृत कार्यरत छन् ।

 

गुणस्तरीयतामाथि प्रश्न 

नयाँ टर्मिनल भवन पाएपछि जनकपुरधामवासी हर्षित त छन् तर सो भवन निर्माण भएको चरम भ्रष्टाचारले उनीहरूको मन पिरोलिएको छ ।

नागरिक उड्ययन प्राधिकरणले २०६९ सालमा पप्पु कन्स्ट्रक्सनसँग डेढ वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी सम्झौता गरेको थियो । १८ करोडको लागतमा निर्माण गर्ने सम्झौता गरिए पनि विभिन्न बहाना देखाउँदै पटक-पटक गरेर म्याद थप गरे पनि निर्माण सम्पन्न हुन सकेन । प्राधिकरणका आयोजना प्रमुख नलविक्रम थापाले पप्पु कन्सट्रक्सनसँग दक्ष जनशक्ति नरहेका कारण निर्माण कार्यमा ढिला सुस्ती भएको बताए । अन्ततः २०७४ सालमा पप्पुसँगको सम्झौता रद्द गरिएको थापाले बताए । यद्यपि आधा काम पप्पुले नै गरेका कारण २१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिएको थापाले जानकारी दिए ।

तर, पप्पूले राखेको ५ प्रतिशत धरौटी रकम भने प्राधिकरणले रोकेर नै राखेको थियो । थापाले भने, ‘नेपाल सरकारले पप्पुलाई कालोसूचीमा राखेर कारबाही गर्दा उसले तिर्नुपर्ने कर नबुझाएको अवस्थामा हामीले आन्तरिक राजस्व कार्यालयलाई धरौटीवापतको करिब १० लाख ५० हजार रुपैयाँ जति पठाएका थियौं ।’

त्यसपछि बाँकी काम र फिनिसिङ्ग गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७३० रुपैयाँको लागतमा थेगिम, गाल्वा, उमा एन्ड कम्पनी जेभीसँग सम्झौता गरिएको थियो । पप्पुको सम्झौता रद्द गरेर नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएपछि काम सुरु गर्नका लागि पप्पुले साँचो नै दिइरहेको थिएन ।

‘२ वर्षको कामलाई ४ वर्ष लगाएको पप्पुले निर्माणाधीन कोठाहरूमा लगाएको तालाको साँचो समेत नयाँ निर्माण कम्पनीका प्रतिनिधिलाई बुझाउन पटक-पटक आनाकानी गरेपछि प्रहरी प्रशासनलाई गुहार्न बाध्य भएका थियौं,’ सहायक आयोजना प्रमुख गणेश थापाले भने, ‘पछि प्रहरी लगाएर साँचो लिन सफल भएपछि मात्र नयाँ कम्पनीले काम सुरु गरेको थियो ।’

१ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा नयाँ कम्पनीले पनि काम गर्न सकेन । १७ महिनाको थप म्याद उसले पाएको थियो । थपिएको म्यादभित्र काम सम्पन्न भएको थापाले बताए । 

नयाँ टर्मिनल भवनको गुणस्तरीयताको विषयमा भने अहिले पनि सबै मौन छन् । कसैले यस विषयमा भने जवाफ दिन सकेनन् । सहायक आयोजना प्रमुख गणेश थापाका अनुसार अहिलेसम्म भवनको गुणस्तर कायम नगरिएको बताए । 

विमानस्थलको टर्मिनल भवनको सम्पूर्ण निर्माण कार्यको अभिलेख राख्ने, खर्च विवरण राख्ने काम काठमाडौँमै भएकाले निर्माण कार्यको पारदर्शितामाथि प्रश्न चिह्न उठिरहेको सरोकारबालाहरू बताउँछन् ।

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार ११:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया