काङ्ग्रेस १४ औँ महाधिवेशन
के कांग्रेसमा तीन ‘राजकुमार’ एक हुन सम्भव छ ?

क्रियाशिल सदस्यताको विवाद नटुंगिए पनि नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनका लागि अगाडि बढिसकेको छ । १६–१९ भदौमा काठमाडौंमा गर्ने भनिएको यो महाधिवेशन यसकारण पनि विशेष छ कि यसपटक महाधिवेशनमा सभापतिका आकांक्षी पाँच जनाभन्दा बढी देखिएका छन् ।

सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन केन्द्रित छलफल द्रुत गतिमा बढाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्म आफ्नो सभापतिमा उम्मेदवारी हुने औपचारिक घोषणा त गरेका छैनन् तर उनलाई पनि सभापतिको आकांक्षीका रुपमा हेरिएको छ । केही दिनअघि वसुन्धरामा बोलाइएको एक छलफलमा पौडेलले आफूलाई १३ औं महाधिवेशनको घाइते भन्दै आफूलाई सहयोग गर्न अनुरोध गरेका थिए । तर, त्यो कार्यक्रममा पनि उनले औपचारिक रुपमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरेनन् ।

अर्कोतिर एकपटक फेरि आफैं सभापति हुने दाबीसहित सभापति शेरबहादुर देउवा कस्सिएका छन् । उनले पछिल्ला दिन दैनिकजसो अहिलेको केन्द्रीय कमिटीमा आफूनिकट रहेकाहरुलाई बोलाउँदै आफूलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् ।

देउवालाई यसपटक सबैभन्दा बढी समस्यामा पारेका छन्, विमलेन्द्र निधिले । निधिले १३ औं महाधिवेशनमा गरेको वाचाअनुसार यसपटक आफूलाई देउवाले सहयोग गर्नु पर्ने भन्दै सभापतिमा दाबी गरेका छन् । उनले सभापतिमा उम्मेदवारी दिएको खण्डमा देउवा पक्कै कमजोर हुनेछन् । यसको अर्थ के होइन भने निधिलाई चाहिँ अहिलेको परिस्थिति सहज छ । 

उनका लागि चुनौति बनेका छन्, कांग्रेसमा दोस्रो पुस्ताका अरु नेताहरु । यसपटक कांग्रेसमा प्रकाशनमान सिंह, शशांक र शेखर कोइरालाले पनि आफूलाई सभापतिमा दाबी गरेका छन् । यसले गर्दा कांग्रेसको १४ औं महाधिवेशनमा यसपटक सभापतिका आकांक्षी बढोक छन्, सभापति हुन चाहनेलाई चुनौति थपिएका छन् ।

यही चुनौतिबीच विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार बनाउन छलफल सुरु गरिसकेका छन्, आफू यसबाट पछाडि नहट्ने जानकारी दिइसकेका छन् । उनले दोस्रोपटक केही दिनअघि सभापति देउवासँगको भेटमा पनि आफू जसरी पनि सभापतिमा उठ्ने भएकाले सहयोग गर्न अनुरोध समेत गरेका थिए । 



त्यसको केही दिनमा उनले सभापतिका अरु दुई आकांक्षी प्रकाशमान सिंह र शशांक कोइरालालाई लन्च मिटिङमा बोलाए । यो बैठकमा उनीहरुले के सल्लाह गरे, त्यसको पूर्ण रुप बाहिर आएको छैन । तर, यी तिनै नेताले छलफलमा आफूहरुले अबको सभापतिको उम्मेदवारीको विषयमा कुराकानी गरेको बताएका छन् । निधिनिकट केही नेताले निधिले यो छलफलमा आफूलाई सहयोग गर्न दुई जनालाई अनुरोध गरेको बताएका छन् ।

यसको केही दिनपछि फेरि यी तीन नेता एक ठाउँमा भेट भएका थिए । यी तीन नेताको बारम्बारको भेटले कांग्रेसीजनमा नयाँ प्रश्न उब्जेको छ– के यी तीन नेता यसपटक एकै ठाउँमा भएर अघिल्लो पुस्तालाई चुनौति दिँदै छन् त ?



फरकधारले यसअघि कांग्रेसमा यो महाधिवेशनका आकांक्षीबारे एक स्टोरी गरेको थियो । कांग्रेस महाधिवेशनको चटारोबीच महाधिवेशन श्रृङ्खलामा यो दोस्रो स्टोरी यहाँ प्रस्तुत गरेका छौँ । यो स्टोरीमा यी तीन नेताको आकांक्षा र मिलन सम्भव छ वा छैन भन्ने विषयमा केन्द्रित हुनेछ ।

हामीले यही प्रश्न अहिलेको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाएका कांग्रेस नेता डा. मीनेन्द्र रिजाललाई सोधेका थियौँ । ‘म त यो सम्भावना देख्दिनँ,’ उनले भने । 

यही प्रश्न यो महाधिवेशनमा अर्का महामन्त्रीका उम्मेदवार प्रदीप पौडेललाई पनि हामीले सोधेका थियौँ । उनले पनि भने– यस्तो सम्भावना अहिले म देख्दिनँ ।

यही प्रश्नमा यही उत्तर दिएका छन्, प्रकाशमान सिंह निकट अर्का एक कांग्रेस नेताले पनि । उनले अझ विस्तृतमा भने, ‘प्रकाशमान सिंहले विमलेन्द्र निधिलाई सहयोग गर्नु पर्ने आधार के हो भन्नेबारे पहिले बुझ्न जरुरी छ । आफूलाई योग्य ठानेको पदमा उहाँले केका लागि सम्झौता गर्ने र किन आफ्नै समकालीन अर्को व्यक्तिलाई छाड्ने ?’

यी नेताले दिएको तर्कबाट प्रष्ट हुनसकिन्छ, अहिले प्रकाशमान सिंहले निधिलाई सभापतिमा सघाउने छैनन्, उनी आफैं सभापतिमा उम्मेदवारी दिनेछन् । 

अब शशांक कोइरालाको पक्षबाट कुरा गरौँ । शशांकले यो महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने भने पनि कोइराला परिवारबाट अन्य दुईले उनलाई चुनौति दिएका छन्– शेखर कोइराला र सुजता कोइराला । शेखर कोइराला पनि यही महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने हेतुले लामो समयदेखि तयारीमा छन् । उनले कोइराला परिवारको लिगेसी आफूले धान्ने भन्दै यसअघि देखि नै महाधिवेशनको तयारी सुरु गरेका हुन् ।

एकातिर कोइराला परिवारको लिगेसी र अर्कोतिर आफ्नै महत्वाकांक्षाका कारण पनि शशांक कोइरालाले पनि यसपटक सहजै निधिलाई सहयोग गर्ने देखिँदैन । अर्कोतिर यी दुई नेताको गठबन्धन वा विगतको सम्बन्ध पनि एकले अर्कोलाई सहयोग गर्ने खालको देखिएको छैन । 

‘शशांकले आफू सभापतिमा नउठ्ने हो र अरु कसैलाई सघाउन पर्ने अवस्थामा पुग्ने हो भने उनले अरु कसैलाई होइन, शेखरलाई नै सहयोग गर्नेछन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘शेखरलाई सहयोग गर्दा आफ्नो लिगेसी पनि बच्ने र यो स्वभाविक पनि देखिने उनले बुझेका छन् । त्यसैले उनी न विमलेन्द्र निधिलाई सहयोग गर्न तयार हुनेछन् न प्रकाशमान सिंहलाई नै ।’

ती नेताका अनुसार यी तीन नेताले नै आफूलाई सभापतिमा योग्य उम्मेदवार सोचिसकेका छन् र त्यही अनुसार तयारी पनि गरेका छन् । त्यसैले यी तीन नेताले एकले अर्कोलाई सभापतिमै सहयोग गर्ने सम्भावना देखिँदैन ।

अब प्रश्न उठ्छ– एकले अर्कालाई सहयोग नगर्ने भए आखिर यी तीन नेता किन एकआपसमा छलफलमा व्यस्त छन् त ?

‘किनकि उनीहरु कांग्रेसमा अब नेतृत्व आफ्नो पुस्तामा आउनु पर्छ भन्नेमा कन्भिन्स्ड छन्,’ कांग्रेसका ती केन्द्रीय सदस्यले भने, ‘छलफल गर्नु भनेको उनीहरु एक ठाउँमा आएका छन् भन्ने होइन, एक ठाउँमा आउलान् भन्ने पनि होइन ।’

बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका यी तीन पुत्र अहिले कांग्रेसलाई आफूले नेतृत्व गर्ने अवसरको खोजीमा त छन् तर एकले अर्कोलाई सहयोग गरेर होइन, एकअर्काका प्रतिस्पर्धी भएर !


  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १३:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया