न्युरोड विशालबजार नजिकै बालिकामाथि बलात्कार गर्ने एक जना घटनास्थलबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्यमान तामाङ रहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी दिल बहादुर मल्लले जानकारी दिए ।
तामाङले शनिबार दिउँसोतिर काठमाडौं महानगरपालिका-२३ जुद्धशालिकस्थित पुरानो नगरपालिकाको खाली जग्गामा पार्किङ गरेर राखेको गाडीको आडमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए ।
घरको छतबाट स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै नजिकै रहेका प्रहरी गएर बालिकाको उद्दार गर्नुका साथै तामाङलाई पक्राउ गरिएको डिएसपी मल्लले बताए ।
‘घर जान लागेकी बालिकालाई बोकेर लगेर गाडीको आडमा जबरजस्ती गर्न लाग्दा घरको छतबाट स्थानीयले देखेका रहेछन् । त्यसपछि हामीलाई खबर आयो र बालिकाको उद्दार गरेर तामाङलाई पक्राउ गरेका हौँ’, डिएसपी मल्लले भने ।
बाहिर खेलेर घर जान लागेकी बालिकालाई तामाङले बोकेर लगेका थिए । घरको छतबाट स्थानीयले देखेपछि थप ठूलो घटना हुनबाट जोगिएको डिएसपी मल्लले बताए ।
रिक्सा चालकसमेत रहेका तामाङ विरुद्ध जबरजस्ती करणी कसूरमा म्याद लिएर थप अनुसन्धान सुरु गरिएको डिएसपी मल्लले बताए । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।