नेपाली चलचित्र: छैनन् भरपर्दा डिजिटल प्लेटफर्म, हलकै पर्खाइमा निर्माता

कोरोनाका कारण लामो समय सिनेमा घरमा चलचित्र लाग्न पाएनन् । सिनेमा घर नखुल्दा चलचित्रमा गरिएको ठूलो लगानी डुबेको छ । नेपालमा डिजिटल प्लेटफर्म लक्षित सिनेमाहरू निक्कै कम बनेका छन् । चलचित्र मेकर्सहरू अब भने डिजिटल प्लेटफर्म लक्षित चलचित्रका बारेका सोच्न थालेका छन् । 

लामो समयदेखि बन्द रहेका सिनेमा घर खुल्न अझै समय लाग्ने भएकाले पनि चलचित्र मेकर्सहरूले डिजिटल प्लेटफर्म लक्षित सिनेमा निर्माणमा ध्यान दिनुपर्ने निर्देशक ऋषि लामिछाने बताउँछन् । सिनेमा हल खुले पनि हलमा गएर फिल्म हेर्ने माहोल निर्माण हुन अझै लामो समय लाग्ने भएकाले पनि डिजिटल प्लेटफर्म लक्षित सिनेमा निर्माण थाल्न ढिलो भएको लामिछानेको भनाइ छ । 

लामो समयदेखि सिनेमा निर्माण हुन नसक्दा कामविहीन भएका चलचित्रकर्मीहरू अझै कतिन्जेल यसरी बस्नु पर्ने हो थाहा छैन । त्यसैले पनि अब डिजिटल प्लेटफर्म लक्षित चलचित्र निर्माण गर्नु पर्ने अर्का निर्देशक हेमराज बिसी बताउँछन् । उनी भन्छन्, ‘दुई वर्षदेखि बन्द सिनेमा हलमा र त्यही समयदेखि कामविहीन चलचित्रकर्मी अझै कतिञ्जेल यसरी बस्नु पर्ने हो थाहा छैन ।’

अहिलेसम्म हलमा रिलिज सिनेमाहरू मात्रै युट्युब तथा डिजिटल प्लेटफर्ममा राख्ने चलन छ । अब भने युट्युबकै लागि सिनेमा निर्माण गर्ने बेला भएको बिसी बताउँछन् । उनी भन्छन्, ‘यसअघि नै डिजिटल प्लेटफर्म लक्षित चलचित्र निर्माण गर्न सकेको भए कोरोना महामारीमा पनि चलचित्रकर्मीहरूले बेरोजगार बस्नु पर्ने थिएन ।’ सानो लगानीमा डिजिटल प्लेटफर्म लक्षित सिनेमा निर्माणको प्रयास गर्ने बिसीले बताएका छन् ।

डिजिटल प्लेटफर्मको अभ्यासका कारण कोरोना महामारीमा पनि हलिउड र बलिउडजस्ता ठूला चलचित्र उद्योग चलायमान रहेको भन्दै निर्देशक नवल नेपाल नेपाली चलचित्र उद्योगले पनि यसबारे सोच्ने बेला भएको बताउँछन् ।

बलिउडमा चर्चामा रहेको स्टार सलमान खान अभिनित चलचित्र ‘राधे : योर मोस्ट वान्टेड भाइ’ कोरोना कालमै डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आयो । अन्य धेरै सिनेमा प्रदर्शन भए । विश्व चलचित्र बजारमा नाम कमाएका ठूला ब्यानरका चलचित्र नै डिजिटल प्लेटफर्ममा रिलिज भए । कोरोनाका कारण घरभित्र थुनिएका दर्शकले घरमै बसेर सिनेमा हेरे ।



नेपालमा पनि कोरोना कालमा घरमा थुनिएका दर्शकले डिजिटल प्लेटफर्ममा राखिएका नयाँ तथा पुराना सिनेमा खोजी–खोजी हेरे । तर, नेपालका फिल्म मेकर्स भने कहिले सिनेमा हल खुल्लान् र सिनेमा लगाउन पाइएला भनेर निर्माण सम्पन्न भएका चलचित्र लिएर बसिरहेकै छन् ।

अनलाइन मार्फत् सिनेमा रिलिज गर्न नेपालमा भरपर्दो र सुरक्षित एप नभएको निर्देशक अशोक शर्मा बताउँछन् । नेटफ्लिक्स, हटस्टारजस्ता एपहरू आम दर्शकको पहुँचमा नहुँदा नेपाली चलचित्रको अनलाइन रिलिज सम्भव नभएको शर्माले बताए । 



करोडभन्दा धेरै लगानीमा बनेका सिनेमा पनि भरपर्दो डिजिटल प्लेटफर्मको अभावमा थन्किएका छन् । निर्माताको लगानी सुरक्षित गर्न हलको विकल्प नभएको निर्माता निर्देशक बताउँछन् । कोरोनाका कारण रिलिज हुन नसकेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशन सुदर्शन थापा हल बाहेकको भपर्दो विकल्प नभेटिएका कारण ठूलो लगानी गरेको चलचित्र प्रदर्शन गर्न नपाएको बताउँछन् । उनी भन्छन्, ‘विकल्प भए हुन्थ्यो भन्ने त छ तर खोइ कोही डिजिटल प्लेटफार्मले अहिलेसम्म फिल्म खरिद गर्न सक्ने हिम्मत देखाएनन् ।’ उनले प्रश्न गरेका छन्, ‘अनि कसरी जोखिम मोलेर डिजिटल रिलिज गर्ने ?’

नेपाली सिनेमा प्रदर्शनको अबको विकल्प डिजिटल प्लेटफर्म र डिसहोम नै हो भन्ने निर्देशक फूलमान बललाई लाग्छ । तर, अहिले ठूलो बजेटका चलचित्र डिजिटल बजारले थेग्न नसक्ने उनको तर्क छ । कोरोनाका कारण बलको निर्देशनमा बनेको चलचित्र ‘निरफूल’ प्रदर्शन हुन पाएको छैन । चलचित्रमा झन्डै डेढ करोड लगानी भइसकेको बलले बताएका छन् । विकल्पमा डिजिटल प्लेटफर्मको बहस सुरु भए पनि ‘निरफूल’ भने सिनेमा घर सहज भएपछि प्रदर्शन गर्ने मनस्थितिमा रहेको बलले बताए । साना लगानीका चलचित्रका लागि भने हलको विकल्प डिजिटल प्लेटफर्म राम्रो रहेको उनले बताए ।

निर्देशक मनोज पण्डित पनि अहिलेसम्म नेपालमा हलको विकल्पमा भरपर्दो डिजिटल विकल्प नभएको बताउँछन् । विकल्प नहुँदा अहिले थुप्रै नेपाली सिनेमा यसै थन्किएर बस्न बाध्य भएको पण्डितको भनाइ छ । उनी भन्छन्, ‘हामीकहाँ मुख्य फिल्ममेकरले व्यावसायिक फिल्म रिलिज गर्न सक्ने डिजिटल वा टिभी प्लेटफर्म नै छैनन्, जहाँ लगानी सुरक्षित होस् । खासमा हामीलाई अहिले इनोभेटिभ बिजनेस गर्न सक्ने सिनेमा उद्यमीको खाँचो छ । विश्वले डिजिटल फड्को मारिसकेको छ, तर हामीकहाँ भरपर्दो डिजिटल प्लेटफर्म नहुनु विडम्बना हो ।’

कोरोना महामारीपछि बलिउडमा ओटिटी प्लेटफार्ममार्फत् अमिताभ बच्चन र आयुष्मान खुरानाको ‘गुलाबो सिताबो’, अक्षय कुमारको ‘लक्ष्मी बम’ लगायत रिलिज भए । नेपाली फिल्म मेकरहरू पनि यस्तै विकल्पको खोजीमा छन् । लगानी सुरक्षित होला/नहोला यो समय सिनेमा प्रदर्शनका लागि राम्रो समय भएको फिल्मकर्मीहरू बताउँछन् । धेरै निर्माता निर्देशकहरू नेपाली फिल्महरू अब डिजिटल प्लेटफर्ममा रिलिजमा जान ढिलो गर्न नहुने बताउँछन् । त्यसैले अब भरपर्दो डिजिटल प्लेटफर्मको विकास गरेर त्यसमा चलचित्र रिलिज गर्नुपर्नेमा उनीहरूको जोड छ ।

‘फोपी’, ‘भिडियो पसल’, ‘सिनेमा घर’, ‘अमेजन प्राइम भिडियो’, ‘नेटफ्लिक्स’ लगायतका डिजिटल प्लेटफर्मले नेपाली फिल्म देखाइरहेका छन् । फोपीका कार्यकारी निर्देशक प्रशान्तराज कार्की करोडभन्दा बढी लगानीमा बनेका सिनेमाले डिजिटल प्लेटफर्मबाट लगानी उठाउन सक्छ भनेर दाबी गर्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘तर, अहिलेसम्मको अनुभवमा २०-२५ लाखचाहिँ सजिलै कमाउन सक्छन् ।’

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १६:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया