कर्णालीमा बजेटमाथि छलफल अन्योल, निरन्तर बैठक अवरुद्ध गर्दै एमाले

नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभामा बजेट माथिको छलफलमा अन्योलता देखिएको छ । असार १ गते आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेपछिका सबै बैठक एमालेले अवरुद्ध गर्दै आएको छ । 

आइतबार बसेको बैठक कार्यसूचीमा प्रवेश नै गर्न नदिई एमालेले बैठक अवरुद्ध पारेको छ । बैठकको सुरुमा नै एमाले संसदीय दलका नेता यमलाल कँडेलले ऐन, कानुन, दलीय व्यवस्था अनुसार सरकार अघि नबढेको अवस्थामा बैठकको काम कारबाही अघि बढ्न नसक्ने बताए । 

फ्लोर क्रस गरेका तीन जना मन्त्रीहरुलाई सर्वोच्चले पुनः सांसद पदमा स्थापित गरेपछि मन्त्री पदबाट राजीनामा दिएर प्रतिपक्षको रोस्टममा बस्नुपर्ने एमालेले बताउँदै आएको छ । यसअघि वैशाख ३ गते कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत माग्दा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेका थिए । 

फ्लोर क्रस गरेका मध्ये कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अम्मर बहादुर थापा भौतिक पूर्वाधार मन्त्री र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् । 

दलको कारबाहीमा परेका सांसदहरुलाई सर्वोच्चले प्रतिपक्षी दलको सांसद हैसियतले सांसद पदमा पुनःस्थापित गरेपछि प्रतिपक्षको रोस्टममा बस्नुपर्ने एमालेको अडान छ । संसदीय प्रणाली भएको देशमा दलको निर्णय महत्वपूर्ण हुने भन्दै कँडेलले ऐन, कानुन विपरीत बैठक सञ्चालन हुन नसक्ने बताए । 

सर्वोच्चले जेठ २७ गते पुनः सांसद पदमा स्थापित गरेपछि प्रकाश ज्वाला बाहेक अन्य तीन जना सांसदलाई दलको निर्देशन नमानेको भन्दै एमाले प्रदेशसभा संसदीय दलले एक महिनाको लागि पार्टीबाट निष्कासन गरेको छ । 





  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १६:५५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया