खेतमा गाडिएको अवस्थामा महिलाको शव भेटियाे, हत्या भएको परिवारको आरोप

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-७ भ्रमरपुरामा धान खेतमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । 

सोही ठाउँ बस्ने पतिराम ठाकुरको धान खेतमा महिलाको शव फेला परेको हो । उक्त शव गत जेठ १९ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएकी सुजिता ठाकुरको रहेको स्थानीयको आशंका छ । तर, प्रहरीले भने शव सुजिताकै भए/नभएको बारे पुष्टि हुन बाँकी रहेको बताएको छ ।

सुजिताको माइती पक्षले छोरीको हत्या भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिइएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा खेतमा आइतबार शव फेला पारेको हो । 

आफ्नो छोरीको हत्या उसको ससुराली पक्षले गरेको मृतकका पिता कामेश्वर पाण्डेको आरोप छ । उनले छोरीको ससुराली पक्षले घरायसी विवाद हुँदा पटक पटक ज्यान मार्ने प्रयास गर्दै आएको र यसअघि पनि छोरीको ज्यान मार्ने थुप्रै प्रयास भएको बताए । उनले भने,‘डेढ वर्ष अघि नै मुद्दा मामिलाको क्रममा प्रशासनको रोहबरमा दुबै पक्षबीच अबदेखि सुजितालाई कुनै प्रकारको यातना नदिने सहमति भएको थियो । तर, यसपटक भने उसको हत्या नै गरियो ।’

उनले प्रहरीले अभियुक्तलाई संरक्षण दिँदै आइरहेको आरोप समेत लगाए । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले आफूहरूले अनुसन्धान गरिरहेको बताएका छन् । 

सुजिताका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध किटानी जाहेरी दिन खोजेकोमा प्रहरीले अस्वीकार गरेको पीडित परिवारले जनाएको छ । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।



महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भम्रपुरा निवासी पत्तिराम ठाकुरका छोरा मुकेश ठाकुरसँग पिपरा गाउँपालिका वडा नम्बर-६ बस्ने कामेश्वर पाण्डेयकी छोरी सुजिता ठाकुरको ११ वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।
 



  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १८:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया