माओवादीद्वारा प्रदेश-१ को प्रदेशसभा अवरुद्ध

माओवादी केन्द्रले प्रदेश-१ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध पारेको हो  ।

विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मन्त्री गुरुङले माओवादी सांसद मोहन कुमार खड्कालाई सुध्रिएर आउन भन्दै चेतावनी दिएका थिए ।

मन्त्रीको अभिव्यक्तिको विरोधमा  माफी माग्नुपर्ने र मन्त्री गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग माओवादीले गरेको छ ।

‘मन्त्रीले रोस्टमबाटै माफी मागेर उहाँको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध जारी रहनेछ’, माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले भने, ‘मन्त्रीले सदनमा जथाभावी बोल्न मिल्दैन ।’

मन्त्री गुरुङले आइतबार बोल्ने क्रममा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौज गरेका थिए । मन्त्रीको भनाइप्रति असहमति जनाउँदै जनता समाजवादी दलका नेता जयराम यादवले तत्काल आपत्ति जनाएका थिए ।



सोमबारको बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बोल्न समय दिएका थिए ।

त्यसै क्रममा दलका उपनेता राईले मन्त्रीले माफी नमागेसम्म बैठक अवरुद्ध हुने भनेपछि सभामुख प्रदीपकुमार भण्डारीले सोमबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।



  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १३:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया